कपाल प्रत्यारोपण गरेपछि झर्न थालेको गुनासो धेरैले गर्नुहुन्छ। तर प्रत्यारोपण पश्चात केही महिना कपाल झर्नु सामान्य हो। कपाल प्रत्यारोपण गरेको एकसातामा राम्रो देखिन्छ। कपाल प्रत्यारोपण गरेको १० देखि १४ दिनसम्म कपाल झर्न थाल्छ। प्रत्यारोपण गरेको कपाल ३ महिनासम्म झर्छ।
प्रत्यारोपणको ४ वा ५ महिना सम्ममा कपाल ४०–५० प्रतिशत कपाल पलाउँछ। ६–७ महिनामा ६०–७० प्रतिशत पलाउँछ। १२ महिनामा प्रत्यारोपित कपालको फाइनल रिजल्ट आउछ।
टाउकोको पछाडी वा टुप्पीको भागमा भने कपाल प्रत्यारोपणको पूर्ण रिजल्ट आउन १८ महिनामा लाग्छ।
कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडीको भागबाट कपाल झिक्छाैं। एउटा ग्राफ्टमा ५ वटासम्म रौंहरु हुन्छन्। कपालको जरा र हाँगालाई टाउकोको अघिल्लो भाग वा कपाल नभएको भागमा प्रत्यारोपण गर्छौ। कपाल प्रत्यारोपण गर्दा कपाल नभएको ठाउँमा ४ देखि ५ एमएलको प्वाल बनाएर त्यहाँ प्रत्यारोपण गरिन्छ। त्यो कपाल ४८ घण्टापछि सुरक्षित हुन्छ, निस्किदैन।
प्रत्यारोपणको १० दिनपछि कपाल किन झर्न थाल्छ?
कपाल प्रत्यारोपणका लागि हामीले टाउकोको पछाडीको भागको कपाल झिक्दा सर्कुलेसन कम्परमाइज हुन्छ। अर्थात कपालले पाइरहेको पोषकतत्व बन्द हुन्छ। त्यो कपाल निकालेर अगाडीको भागमा प्रत्यारोपण गर्दा तत्काल सर्कुलेसन भइसकेको हुदैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने समयमा पोषण तत्व बन्द हुँदा कपालमा पोषणमा कमी हुन्छ।
कपालको ३ वटा फेजहरु हुन्छ। एनाजेन, केटाजेन र टेलोजेन फेज।
एनाजेन फेजको समय ३ देखि ५ वर्षको हुन्छ, केटाजेनको फेज २ देखि ४ हप्तासम्मको हुन्छ भने टेलोजेन फेज ३ देखि ४ महिना लामो हुन्छ।
प्रत्यारोपण गरेको कपाल एनाजेन फेजमा हुन्छ जुन टेलोजेन फेजमा जान्छ। टेलोजेन फेजमा गएको कपालको जरा टाउकोमै हुन्छ तर हाँगा निस्किन्छ।
टेलोजेन फेज ३ देखि ४ महिना हुने भएकाले प्रत्यारोपणको ३ देखि ४ महिनापछि कपाल पुन पलाउन थाल्छ।
त्यसैले कपाल प्रत्यारोपणपछि झर्ने प्रक्रिया सामान्य प्रक्रिया हो। यसमा आत्तिनुपर्ने कुरा केही छैन। कपाल कम वा बढी झर्दा चिन्ता मान्नु पर्दैन। कपाल प्रत्यारोपण पछि ३ देखि ४ महिना कपाल झर्नु सामान्य हो। यसले पछि कुनै असर गर्दैन।
कपाल प्रत्यारोपणमा दुईवटा कुरा महत्वपूर्ण छ। एउटा तपाईले प्रत्यारोपण गर्ने टाउकोको पछाडीको भागको कपाल कस्तो छ र, अर्को तपाईले सर्जरी कस्तो डाक्टरसँग गराउनुभएको छ, त्यसमा भर पर्छ। कपाल प्रत्यारोपणका लागि प्रत्यारोपण गर्ने कपाल राम्रो र प्रत्यारोपण गराउने डाक्टर अनुभवी हुन आवश्यक छ।
- (छालारोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा धिताल रेडियन्ट स्कीन केयर एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्)