काठमाडौं- जाजरकोटकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी व्यथाले च्याप्यो। बारेकोट गाउँपालिका–३ पहाडा मुल्साम घर भएकी उनले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा जानलाई ६ घन्टाको यात्रा गरिसकेकी थिइन्। तर उनी स्वास्थ्य चौकी पुग्न नपाई बाटोमै सुत्केरी भइन्। उनले साउन १६ गते बच्चालाई बाटोमै जन्म दिएकी हुन्।
गत साउन ४ गते बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी कार्तिका बिकले पनि बाटोमै बच्चा जन्माएकी थिइन्। परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए। तर स्वास्थ्य संस्थामा कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएकी थिइन्। स्वास्थ्य संस्थाका सबै कर्मचारी करारमा रहेका र उनीहरुको म्याद नथपिएका कारण उक्त स्वास्थ्य संस्था कर्मचारी बिहिन भएको थियो।
नेपालका दुर्गम भेगमा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटोमै सुत्केरी हुनुपरेका यी दुई प्रतिनिधि पात्र मात्र हुन्। अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटोमै सुत्केरी हुन्छन्। सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण कतिले त बाटोमै ज्यान गुमाउनु परेका घटना समेत विभिन्न समयमा बाहिर आइरहेका छन्। ग्रामीण क्षेत्रमा भइरहेका यस्ता धेरै प्रसूति तथा बाटोमै प्रसूतिका क्रममा भइरहेको आमाहरुको मृत्यु त सार्वजनिक समेत हुन सकिरहेका छैनन्।
सुरक्षित मातृत्व र शिशुको सुरक्षा तथा हेरचाहका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं रुपैंयाँ लगानी भइरहेको छ। तर दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीहरुका लागि भने अझै काम गर्न बाँकी रहेको देखिन्छ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा प्रत्येक महिलालाई प्रसूतिकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसूति सेवा, सुत्केरी पश्चातको गर्भ निरोधको सेवा पाउने अधिकार हुनुका साथै प्रत्येक महिलालाई आकस्मिक प्रसूति सेवा, आधारभूत आकस्मिक प्रसूति सेवा, आकस्मिक प्रसूति सेवा, नवजात शिशुको लागि अत्यावश्यकीय सेवा र नवजात शिशुको आकस्मिक सेवा पाउने अधिकार हुने भनिएको छ। तर व्यवहारमा भने त्यस्तो छैन।
एकातर्फ कानुनले अधिकार भने पनि दुरदराजमा भने वास्तविकता फरक छ। बाटोमै सुत्केरी मात्र होइन बाटोमै सुत्केरी आमाहरुको मृत्यु भइरहेका समाचारहरु बाहिर आइरहेका छन्। दुर्गम क्षेत्रमा सहज प्रसूति सेवाको पहुँच नहुँदा मातृ मृत्युदर समेत बढीरहेको छ।
यदि कुनै पनि महिलाको मृत्यु गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिन भित्र विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुन्छ भने त्यसलाई मातृ मृत्यु भनिन्छ। सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) का अनुसार नेपालमा मातृ मृत्यदर २३९ प्रति १ लाख जिवित जन्म रहेको छ।
भौगोलिक विकटता, स्वास्थ्य संस्थामा पहुँच नहुनु ,दक्ष स्वास्थ्यकर्मीको अभावका कारण मातृ मृत्यदरमा सुधार ल्याउन समस्या भइरहेको परिवार कल्याण महाशाखाको मातृ तथा शिशु शाखा प्रमुख डा पुण्या पौडेल बताउँछिन्। नेपालले दीगो विकास लक्ष्य अन्तर्गत २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जिवित जन्ममा ७० मा ल्याउने लक्ष्य लिएको छ। यसको लागि मृत्युदरलाई हरेक वर्ष ७.५७ प्रतिशतका दरले घटाउनु पर्ने हुन्छ। नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाएर आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने तर्फ सरकारको जोड रहेको उनी बताउँछिन्।
मातृ मृत्युको प्रमुख कारण बच्चा जन्मेपछि अत्याधिक मात्रामा रगत बग्ने (पोस्टपार्टम हेमोरोज) रहेको छ। समयमा नै उपचार तथा स्वास्थ्य सेवा पाउने हो भने अत्यधिक रक्तश्रावका कारण बाटोमै मृत्यु हुने आमाहरुको मृत्युलाई धेरै हदसम्म कम गर्न सकिन्छ।
किन बाटोमै जन्मन्छन् बच्चा?
भौगोलिक विकटता, प्रसूति केन्द्र टाढा हुनु, परिवारको आर्थिक अवस्था, स्वस्थ्य केन्द्रमा कर्मचारी अभाव जस्ता कारणले नेपालमा धेरै महिला बाटोमै सुत्केरी हुन बाध्य भएको पौडेल बताउँछिन्।
उनी भन्छिन्,‘यो पानी पर्ने मौसममा पहाडतिर पहिरो गएर बाटो बिग्रिएको हुन्छ जसले गर्दा सुत्केरीहरू स्वास्थ्य संस्थासम्म सुरक्षित तरिकाले पुग्न सक्दैनन्। अर्को कारण भनेको करारका कर्मचारीहरुको असारमा कामको अवधि सकिन्छ, साउनबाट नयाँ नियुक्ति लिनुपर्ने हुन्छ। नियुक्ति ढिला हुँदा कर्मचारी अभावले स्वास्थ्य संस्था कर्मचारी बिहिन हुन्छन्। जसले गर्दा बाटोमै सुत्केरी हुने समस्या बढीरहेको छ।’
सुरक्षित मातृत्व तथा प्रजनन् स्वस्थ्य अधिकार नियमवालीमा २०७७ मा प्रसूती सेवा प्रदान गर्ने स्वस्थ्य संस्थाले चौबिस घण्टा आकस्मिक सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ।
साथै नियमवालीमा भौगोलिक विकटता र यातायातको कठिनाइका कारण स्वास्थ्य संस्थामा आवत जावत गर्न गाह्रो हुने अवस्थाका गर्भवती महिलाको लागि आरामस्थलको व्यवस्था गर्नु पर्ने समेत भनिएको छ।
तर प्रसूतिगृह टाढा हुनाले छ घण्टाको यात्रा गरेर पनि बाटोमै सुत्केरी गराउनु पर्ने समस्या भने समधान हुन सकेको छैन।
डा पौडेल हाम्रो जस्तो भौगालिक बनावट भएको देशमा बाटोमै सुत्केरी हुनु नौलो कुरा नभएको बताउँछिन्। ‘हाम्रो जस्तो भौगोलिक वनावट भएको देशमा यो नौलो कुरा होइन्। पहिले पहिले पनि बाटोमै सुत्केरी हुने गरेका थिए, आज पनि हुन्छन् र भोलि पनि हुन सक्छ' उनी भन्छिन्।
उनका अनुसार यतिबेला नै सुत्केरी हुन्छ भनेर सामान्य अनुमान लगाइएपनि त्यसअनुसार नै हुन्छ भन्ने हुँदैन। कसैकसैमा व्यथा लागेपछि छिट्टै सुत्केरी भइहाल्छन् भने कोही कोहीलाई समय समेत लाग्न सक्छ। त्यसैले अस्पताल जाँदा जाँदै बाटोमै सुत्केरी हुनु सामान्य कुरा नै हो। काठमाडौँमा पनि हेर्ने हो भने कहिलेकाहीँ ट्याक्सिमा, कहिले हस्पिटलको गेटमै सुत्केरी भइरहेको हुन्छन्।
काठमाडौंमा ट्याक्सिमा सुत्केरी हुन्छन् भनेर सबै स्थानलाई सोही अनुसार हेर्न नहुने स्वास्थ्य मन्त्रालयकै एक कर्मचारी बताउँछन्। 'काठमाडौँको ट्याक्सिमा सुत्केरी हुनु र अछामको कुनै गाउँको बाटोमा सुत्केरी हुनु फरक कुरा हुन्,' ती कर्मचारीले भने, 'काठमाडौंमा ट्याक्सिमा सुत्केरी भएको केही मिनेटमा सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुग्न सकिन्छ। तर दुर्गममा बाटोमा हिँड्दा हिँड्दै रक्तश्राव धेरै भएर सुत्केरीको मृत्यु समेत हुन्छ।'
नेपालका कतिपय गाउँमा सडक संजाल समेत जोडिएको छैन। भौगोलिक विकटता भएको ठाउँमा थप बर्थिङ सेन्टरहरू खोलिनु पर्ने र जनशक्तिहरू थपेमा यो समस्या कम हुनसक्ने ती कर्मचारीको भनाइ छ।
बच्चामा संक्रमणको जोखिम
बाटोमा बच्चा जन्माउँदा आमासँगै बच्चामा पनि संक्रमणको जोखिम हुने कुरा डा पौडेल बताउँछिन्। उनको अनुसार बाटोमै जन्मिने बच्चाहरुमा फोहोरको कारण हुने संक्रमण, चिसोको कारण कठ्याङ्ग्रिएर, टिटानस भएर ज्यान जाने जोखिम रहेको छ।
राष्ट्रपति हवाई उद्धार कार्यक्रम
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरीलाई समयमा नै उपचार सेवा पुर्याउन हवाई उद्धार कार्यक्रम सुरु भएको छ। गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याइ गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको हो।
०७८ साल भाद्र ११ गते गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीय वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा मृत्यु भएको थियो। सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेकी महिलालाई हेलिकोप्टरमार्फत सुत्केरी गराउन काठमाडौं पठाउनुको अर्को विकल्प थिएन। तर बाक्लो हुस्सुका कारण हेलिकप्टर अवतरण गर्न समस्या भएकाले उद्धारमा ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको थियो।
सरकारले समयै हवाई उद्धार हुन नसक्दाको विकल्प सोच्न जरुरी रहेको विज्ञहरु बताउँछन्। नियम कानुनमा भएको कुरा व्यवहारमा लागू नहुँदा हरेक दिन सुत्केरीहरूको ज्यान गइरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।