चाडपर्वको मौसम छ। यस्तो समयमा मानिसहरू परिवारसँग बसेर रमाइलो गर्ने, नयाँ ठाउँ घुमघाम गर्ने गर्छन्। तर सबैलाई यस्तो अवसर मिल्दैन। कोही परिवारबाट टाढा हुन्छन् कोही परिवारको नजिक हुदाँहुदै जागिरको जिम्मेवारीमा हुन्छन्। यस्तै जिम्मेवारीमा छिन् नर्स सुजना खतिवडा पनि। दसैं नजिकिइसक्यो, परिवारका अन्य सदस्यहरू सपिङ गर्न व्यस्त हुँदा उनी बिरामीको सेवामा तल्लिन छिन्।
त्रिवि शिक्षण अस्पतालको अर्थोपेडिक हाइडिपेन्डेसी युनिटमा कार्यरत उनको दसैंको टीकाको दिन समेत ड्युटी छ। गत वर्ष पनि उनको टीका दिननै ड्युटी परेको थियो। त्यो समयमा उनले अस्पतालमा उपचाररत बिरामीलाई टीका लगाइदिएकी थिइन्। दुर्घटनामा परेर अस्पतालको शय्यामा सुतिरहेका बिरामीलाई उनले नै जमरा र टीका लगाइदिएकी हुन्। त्यसबखत बिरामीको अनुहारमा देखिएको मुस्कानले उनलाई पनि निकै खुसी मिलेको थियो।
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
पाँच कक्षामा फ्लोरेन्स नाईन्टिङगलको जीवनी पढेर नर्स हुन्छु भन्ने सोचेकी उनले आइओएमबाटै पिसिएल नर्सिङ र बिएनएस पढिन्। उनले टिचिङ अस्पतालमा काम गर्न सुरु गरेको पनि चार वर्ष भइसकेको छ।
बिरामीको सेवा गर्न पाउँदा अत्यन्तै खुसी हुने सुजना दसैंमा पनि घर छोडेर काम गर्नुपर्यो भन्ने जस्तो कहिल्यै नलाग्ने बताउँछिन्। उनले यो भन्दा अघिल्ला वर्षहरुमा समेत दसैँ तिहार जस्ता चाडपर्वमा बिदा लिइनन्। बरु गत वर्षको दसैंको टीकाको दिन अस्पतालमा बिरामीलाई समेत टीका लगाइदिन्।
दोलखाको सिंगटी मा जन्मिएकी उनलाई बाल्यकालमा दसैं सारै मन पर्थ्यो।‘जहाँ भए पनि दसैं मनाउन दोलखा नै गइन्थ्यो। साथीहरू सँग भेटघाट, परिवारमा रमाइलो, त्यो समयको दसैंमा अर्कै रमाइलो हुन्थ्यो,' उनले सम्झीइन्।
‘तर आजकल चाडपर्वमा बिदा नपाउँदा मलाई नरमाइलो भने लाग्दैन। यो मेरो ड्युटी हो। म बिरामीहरुको सेवा गरिरहेको छु, र त्यसमा नै खुसी छु। अरु बेलमा आठ घण्टा ड्युटी गर्ने हामीहरू चाडपर्वमा रोटेसन गरेर चार घण्टा मात्रै ड्युटी गर्छौं। ड्युटी बाहेकको समयमा हामीले रमाइलो गरिरहेका नै हुन्छौं। बिरामीहरू भने लामो समयदेखी अस्पतालमा बस्नु पर्छ। उहाँहरुको पिर लागिरहन्छ,' उनले भनिन्।
काम गर्दागर्दै बिरामीसँग एक किसिमको भावनात्मक सम्बन्ध बन्ने उनी बताउँछिन्। बिरामी निको हुँदा र बिरामी आफूसँग खुसी हुँदा निकै खुसी लाग्छ उनलाई।
सरकारले नर्सिङ पेसालाई नचिनेको उनको गुनासो छ। ‘अन्य देशहरुको तुलनामा हेर्दा हाम्रो देशमा नर्सको महत्व नै कसैले बुझेको छैन। डाक्टरले भनेको चिजलाई फलो गर्ने काम मात्रै नर्सको हो भन्ने जसरी बुझिएको छ। जुन एकदमै गलत हो’ उनले भनिन्, ‘त्यो मात्रै हुँदैन, कत्ति अवस्थाहरुमा हामीले भनेको अनुसार डाक्टरहरुलाई पनि रोग पहिचानमा सहज भइरहेको हुन्छ।’
नर्सिङ पेसालाई अझै राम्रो बनाउन, नर्सहरुलाई प्रोत्साहन गर्न चाडपर्वको समयमा भत्ता दिने जस्ता कामहरू गर्न सकिने उनी बताउछिन्। राज्यले चाडपर्वको समयमा या अन्य विपतको समयमा नर्सको काम यही हो, यसैको लागि त नर्सिङ पढेको हो भनेर सामान्यीकरण गर्नु नहुने उनले बताइन्।
‘अरुबेला सबैले काम गर्छन्। आफ्नो परिवारलाई समय दिन रमाइलो गर्न चाडपर्वमा सबै जनाले आफ्नो प्राइभेसी छुट्टयाएको हुन्छ। त्यो समयमा सबै चिज छाडेर आफ्नै काममा फोकस भइरहेका स्वास्थ्यकर्मीहरुलाई सरकारले हेर्नु पर्छ भन्ने लाग्छ,’ उनले भनिन्।
चाडपर्वको दुई पक्ष
उनी चाडपर्वमा ड्युटी गर्नुलाई दुई पक्षमा हेर्छिन्। रमाइलो र नरमाइलो।
आफ्नो परिवारलाई समय दिएर पनि अस्पतालमा बिरामी र उनका आफन्तहरू सँग सेलिब्रेट गर्न पाउनुलाई रमाइलो पक्षमा लिन्छिन् सुजना। ‘बिरामीको ख्याल गर्दै तिनै बिरामीसँग चाडपर्व मनाउन पाउनु रमाइलो हो। अस्पतालमा बस्दा बस्दा दिक्क भएका बिरामी र चाडपर्वमा ड्युटी गरीरहेका स्वास्थ्यकर्मी सबैले एकछिन भने पनि रमाइलो गर्ने मौका पनि हो यो,’ उनले भनिन्।
सधैंभरी अस्पताल आएका बिरामी निको भएर घर फर्किन्छन् भन्ने पनि हुदैंन।‘कहिले आफू ड्युटीमा नभएको बेला आफूले हेरिरहेको बिरामीको मृत्यु हुन्छ कहिले आफैँ ड्युटीमा भएको समयमा बिरामीको मृत्यु हुन्छ। परिवारसँग रमाएर आएको समयमा या चाडपर्वमा समयमा बिरामी मृत्यु हुँदा दुख लाग्छ। यो चाडपर्वको अर्को पक्ष हो,’ उनले भनिन्, ‘चाडपर्वमा मानिसहरू मध्यपान गरेर सवारी साधन चलाउछन् जसले गर्दा सडक दुर्घटनाहरू बढी भइरहेको हुन्छ। यो ट्रमाको वार्ड भएको हुनाले घरबाट ड्युटीमा आउँदा बिरामीहरुको भिजिटरहरुको अर्को खाले रोदन, दु:ख देख्दा सारै नरमाइलो लाग्छ।’
अर्थोपेडिक हाइडिपेन्डेसी युनिट यस्तो वार्ड हो जहाँ हाडजोर्नीको बिरामीहरू, जसलाई क्रिटिकल्ली क्लोज नर्सिङ मोनीटरिङ चाहिन्छ त्यस्तो बिरामीहरूलाई राखिन्छ। बिरामीहरू कहिलेकाहीँ रिसाउछन् तर उनलाई भने कहिल्यै दिक्क लाग्दैन।
‘मलाई कहिल्यै बिरामी हेर्दा गाह्रो लाग्ने, रिस उठ्ने, यो बिरामी कस्तो हैरान पारेको भने झैँ लाग्दैन। बिरामीलाई बुझेर उसलाई के चाहिएको छ, के भइरहेको छ बुझ्न कोसिस गरिरहने हो भने बिरामी रिसाउँदैन। यदी बिरामी रिसाई रहेको छ भने उसलाई समस्या भइरहेको हुन् सक्छ झैं लाग्छ। नत्र मान्छे यस्सै रिसाउदैन,’ उनले भनिन्।
नर्सिङमा बिरामीको उपचार मात्रै होइन फरकफरक बिरामीको व्यवहार, सोच, दृष्टिकोण, कल्चर जस्ता चिज बुझ्ने अवसर हुने उनी बताउँछिन्।
'छोरी आफ्नो काममा तल्लिन देखेर, भनेको समयमा बिदा नमिल्ने बुझेर सुजनाको परिवार पनि चाडपर्वमा काठमाडौँ नै आइपुग्छन्। यो साल पनि उनको सपरिवार काठमाडौँ मै छ। यो सालको दसैंमा टीकाको दिन ड्युटी भए पनि ड्युटी बाहेकको समयमा परिवारसँग रमाइलो गर्ने योजना छ उनको।
नर्सिङमा निकै खुसी उनी आफूले सकुन्जेल बिरामीको सेवा गरिरहने बताउँछिन्।