दादुरा एउटा संक्रामक रोग हो जुन मिजल्स भाईरसबाट हुने गर्दछ। यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ। आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले शिशुहरुलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँदछ।
दादुरा भाईरसले शरीरको बाहिरी छाला र भित्री पत्रहरुमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका जीवाणु (भाइरस)ले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति गर्छ। यसले गर्दा बच्चामा अरु संक्रामक रोगहरु हुने सम्भावना पनि बढाइ दिन्छ।
दादुराका खतराका चिन्ह वा लक्षणहरू के के हुन्
उच्च ज्वरो आउनु
नाकबाट सिंगान बग्नु
आँखा रातो हुनु र आँखाबाट पानी बग्नु
खोकी लाग्नु
शरीरमा राता बिमिराहरु निस्कनु
यो रोग लागेमा बच्चाहरुमा कानको संक्रमण, आँखाको दृष्टि कमजोर हुने, निमोनिया, इन्सेफलाइटिस (मस्तिष्कको संक्रमण), साथै पखाला, कुपोषण भई मृत्यु समेत हुने सम्भवना हुन्छ।
दादुराका चिन्ह वा लक्षणहरु देखिएमा बच्चाहरुलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
कस्ता बच्चाहरूलाई दादुरा लाग्न सक्दछ
कम तौल भएका
कुपोषण भएका
खोप नपाएका
व्यक्तिगत तथा सरसफाइ कमि भएका
भिटामिन ए को कमि भएका
रोग फैलाउनमा दूषित वातावरण, कुपोषण तथा घना बस्तीले पनि सहायक भूमिका खेल्दछ।
दादुराको रोकथाम तथा उपचार कसरी गर्ने
हाछ्यूँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने।
व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने जस्तै हाछ्यूँ गरेपछि साबुन पानीले मिचिमिची हात धुने।
बच्चालाई भिडभाड भएका सार्वजनिक ठाउँहरूमा नलैजाने र नपठाउने। सकेसम्म घरभित्रै राख्ने।
बस्ने कोठामा हावाको आवत जावत हुने र घाम आउने गरि खुल्ला राख्ने।
बच्चाको वरिपरी धुम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने।
राष्ट्रिय खोप तालिका अनुसार दादुरा विरुद्ध बच्चालाई ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउने।
रोग लागेको अवस्थामा साविकको भन्दा बढी पोषिलो खाना खुवाउने र दादुरा लाग्दा प्रतिरक्षा प्रणाली बढाउन भिटामिन 'ए' क्याप्सुल स्वास्थ्यकर्मीको सल्लाह अनुसार खुवाउने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र