काठमाडौं– युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी)ले हरेक वर्ष ४ फ्रेबुअरीलाई विश्व क्यान्सर दिवस भनेर मनाउने गरेको छ। यस वर्ष पनि ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात ‘क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने मूल नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ। सन् २०२२ देखि सन् २०२४ सम्म विश्व क्यान्सर दिवसको मूल नारा यसैलाई बनाइएको छ। नेपालमा पनि हरेक वर्ष क्यान्सरको क्षेत्रमा सक्रिय संघसंस्थाहरु, अस्पताल र चिकित्सकहरुले विभिन्न सचेतनात्मक कार्यक्रम गरी यो दिवस मनाउने गर्छन्।
नेपालमा क्यान्सरको विषयमा भइरहेका सचेतना कार्यक्रम पर्याप्त नभएको बताउँछन् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बराल। जनचेतनाको अभावले बिरामीहरु उपचारको पहुँचमा नभएको उनले बताए। सरकारले क्यान्सरको उपचारको लागि दिने सहुलियत पनि बिरामीको लागि पर्याप्त नभएको उनको भनाइ छ।
उनै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालसँग क्यान्सर दिवसको सन्दर्भमा स्वास्थ्यखबरले कुराकानी गरेको छ। उनीसंग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
यो वर्षको क्यान्सर दिवसको मूल नारालाई कसरी लिनुभएको छ?
– ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ भन्नाले क्यान्सरको उपचार पहुँचको दुरीलाई कम गरौं भनिएको हो।
– क्यान्सरको उपचार सस्तोमा हुनुपर्यो, नजिकैबाट सेवा पाउनु पर्यो।
क्यान्सर कस्तो प्रकारको रोग हो?
– जनमानसमा क्यान्सरको बारेमा धेरै भ्रम छन्। क्यान्सर लाग्ने बित्तिकै मरिन्छ भन्ने छ। क्यान्सर निको हुने रोग हो।
– तीस वर्ष पहिले ‘क्यान्सर ह्याज नो एन्सर’ भनिन्थ्यो भने आज ‘क्यान्सर ह्याज मल्टीपल एन्सर’ भनिन्छ।
– समयमै पहिचान भए क्यान्सर निको पार्न सकिन्छ।
नेपालमा क्यान्सरका बिरामीको अवस्था कस्तो छ?
– नेपालमा क्यान्सरको बिरामीको संख्या बढ्दै गइरहेको छ।
– पहिलेको जस्तो क्यान्सर पहिचान गर्ने उपकरण, दक्ष जनशक्तिको अभाव छैन।
– देशभरी क्यान्सर अस्पतालहरु संचालन भएका छन्।
नेपालमा सबैभन्दा बढी कुन क्यान्सरका बिरामीहरु छन्?
– नेपालको धेरैजस्तो अस्पतालहरुको तथ्यांक हेर्दा फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ।
– महिलाहरुको हकमा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा छ भने स्तन क्यान्सर दोस्रो नम्बरमा छ।
– नेपालमा ठाउँ अनुसार फरकफरक क्यान्सरक बिरामीहरु छन्। जस्तो भक्तपुरमा हेर्ने हो भने पाचन प्रणालीको क्यान्सरका बिरामीहरु हुन्छन् भने चितवनमा बढी मुखको क्यान्सरका बिरामी धेरै छन्।
– जुनजुन क्यान्सर जहाँ जहाँ भएपनि क्यान्सर बढ्दो अवस्थामा छ।
क्यान्सरका लक्षणहरु के–के हुन्?
– हतपत निको नहुने खोकी वा धोद्रो स्वर भएमा
– कोठीको रङ र र आकार परिवर्तन भएमा
– कुनै पनि ठाउँबाट रक्तश्राव र पिप श्रावभएमा
– खानामा रुची घटेमा
– पुरानो घाउ निको नभएमा
– दिशा पिसाब गर्ने बानीमा फरक आएमा
– बिनाकारण वजन घटेमा
नेपालमा कति क्यान्सरका बिरामीहरु उपचारको पहुँचमा छन्?
– नेपालमा एकदमै कम बिरामीहरु क्यान्सर उपचारको पहुँचमा छन्।
– बिरामीकै नातेदारहरुले निको नहुने रोग भनेर अस्पताल ल्याउन खोज्नु हुन्न।
– उपचार महँगो छ जसको कारणले पनि अस्पताल आउने बिरामीको संख्या कम छन्।
सरकारले क्यान्सर उपचारमा दिने सहुलियत पर्याप्त छ?
– सरकारले दिने एक लाख हात्तिको मुखमा जिरा जस्तै हो, त्यो कदापी पर्याप्त छैन।
– सकिन्छ भने क्यान्सर उपचार निःशुल्क गर्नुपर्छ होइन भने सहुलियत रकम बढाउनु पर्छ।
क्यान्सर लाग्नै नदिन या लागिसकेपछि के गर्ने?
– क्यान्सर लाग्नै नदिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ।
– आफ्नो खानपिनमा, व्याययममा ध्यान दिने हो भने क्यान्सरबाट बच्न सकिन्छ।
– क्यान्सर लागिहाल्यो भने निरन्तर उपचार गर्नुपर्छ।
क्यान्सर सम्बन्धी भ्रम तोड्न या क्यान्सर सम्बन्धी जनचेतना फैलाउन के गर्ने?
– गाउँगाउँको दुर दराजमा सचेतनाका कार्यक्रमहरु गर्ने।
– स्कुलको पाठ्यक्रममा क्यान्सरका विषयमा अध्ययन गराउने।
– क्यान्सर निको हुने रोग हो भनेर सचेतनामुलक कार्यक्रम गर्नुपर्छ।
– एक दिन क्यान्सर दिवस मनाएर हुँदैन, हरेक दिन आफ्नो आफ्नो ठाउँबाट क्यान्सर सम्बन्धी चेतना फैलाउने काम गर्नुपर्छ।
यति लामो समय क्यान्सर रोग विशेषज्ञ भएर काम गर्दा, बिरामीहरु आफूलाई क्यान्सर भएको थाहा पाउँदा कस्तो प्रतिक्रिया दिन्छन्?
– केही सकरात्मक सोच लिएर आउनु हुन्छ, निको हुन्छ भनेर आउनु हुन्छ।
– केही भने मेरो आमा, बुवा या आफन्तलाई क्यान्सर छ तर त्यो कुरा बिरामीलाई थाहा छैन, नभन्दिनुस भनेर आउनु हुन्छ।
– बिरामीसँगै उसको परिवारबाट पनि क्यान्सरसँग लड्न पहल गरिनुपर्छ। बिरामीलाई आफूलाई भइरहेको रोग बारे थाहा दिनुपर्छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
– क्यान्सर सरुवा रोग होइन, श्राप होइन। अरु रोगहरु जस्तै यो पनि निको हुने रोग हो।
– क्यान्सरका लक्षणहरु देखिएमा अस्पताल जानुपर्छ।
– क्यान्सर हुने बित्तिकै मानिसको ज्यान जान्छ भन्ने भ्रम हो।
भिडियोः