डा अरुण शाही क्यान्सर रोग विशेषज्ञ हुन्। उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्। डा शाही खेलकुदमा पनि निकै रुची राख्छन्। स्वास्थ्यखबरको नियमित कोलम जीवनशैलीका लागि अन्शु खनालले उनीसँग गरेको कुराकानी:
स्कुल पढ्दा पछि डाक्टर नै बन्छु भन्ने थियो? की अन्य सपना पनि थियो?
स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।
कहिलेबाट खेल्नु भो नि फुटबल?
स्कुल पढ्दादेखि नै फुटबल खेल्न सुरु गरियो। त्यसपछि राम्रो खेल्ने भइसकेपछि जिल्लास्तरीय प्रतियोगितामा पनि खेलियो। तर राष्ट्रिय स्तरका खेलहरु भने खेल्न पाइएन्। टिकापुर मै हुने ठूला कार्यक्रम जस्तो क्लबस्तरीय, मेयर कपहरु जस्ता प्रतियोगितामा चाँही कुनै न कुनै पुरस्कार पाउने गर्थें। एसएलसी पछि काठमाडौं आएँ। काठमाडौं आएपछि रिजल्ट नआउन्जेल मैले फुटबल खेलेर समयको सदुपयोग गरें। त्यो सयम मनाङ मर्स्याङ्दी टिम र जाउलाखेल युथ्स क्लबसंग मैले केही प्राक्टिस म्याचहरु खेल्ने मौका पाएको थिएँ।
प्लस टु पढ्ने समयमा एक दुई पटक कलेजको गेमहरुमा खेलियो। एमबिबिएस पढ्दा चीनमा युनिभर्सिटी लेभलका खेलहरु खेलियो। त्यहाँ म आफ्नो युनिभर्सिटीको फुटबल क्याप्टेन नै भएको थिएँ। हामी युनिभर्सिटीबाट विभिन्न शहरहरुमा खेल्न जान्थ्यौं। त्यहाँ हाम्रो फरेनर्स क्लब थियो। त्यो क्लबमा म निरन्तर तीन वर्ष बेस्ट स्ट्राइकर भएको थिएँ। नेपाल आएपछि वीर अस्पतालमा इन्टर्नसिप गर्दा डाक्टरहरु संग पनि कहिलेकाँही खेलिन्थ्यो। त्यसपछि म बंगलादेश गएँ। त्यहाँ युनिभर्सिटीमा नेपालीहरुको टिम नै भयो। बंगलादेशमा केही मेडिकल कलेजहरुसँग टुर्नामेन्ट गर्दा सबै ठाउँमा हामीले जितेका थियौं। त्यो समय ढाकाका लोकल टिमहरुसँग पनि खेलियो।
आजकल पनि फुटबल खेल्नु हुन्छ?
अहिले त पहिले जसरी खेलिदैंन। तर प्रत्येक हप्ता कन्सल्टेन्ट डाक्टरहरुसँग बिहिबार साँझ कपन फुटसलमा फुटबल खेलिन्छ। त्यो बाहेक अहिले छुट्टै गएर खेल्ने गरेको छैन।
तपाईंलाई मन पर्ने फुटबल खेलाडी?
मेरो मनपर्ने फुटबल खेलाडी रोनाल्डो हो।
फुटबल किन खेल्ने?
मुख्य कुरा स्वस्थ रहनको लागि खेल्ने हो। मेरो हकमा चाँही, अरु कुरा गर्दा अल्छि लाग्छ, तर फुटबल भन्ने बित्तिकै जोश आउछ। जति थकान भएपनि फुटबल भन्ने बित्तिकै थकान नै मेटिन्छ। मलाई फुटबल खेलुन्जेल अर्कै संसारमा गए जस्तो लाग्छ। मेरो लागि फुटबल खेल्नु एक किसिमको योग जस्तै हो।
बच्चा हुँदा मोजाको बल पनि खेल्नुभयो?
खेलियो नि। स्कुल हुँदा मोजामा कागज राखेर फुटबल खेलिन्थ्यो। दुईवटा टिम बनाइन्थ्यो। हार्ने टिमले जित्ने टिमलाई दुई रुपैयाँ दिने नियम बनाएको थियौं। भोगटेहरुलाई कपडामा बाँधेर, प्लास्टिकको बल, कागजको बल अनेक जुगाड गरेर खेलिन्थ्यो। जुत्ता हुँदैनथ्यो, खाली खुट्टा खेलिन्थ्यो।
पहिलोपटक फुटबल किनेको याद छ?
मैले आफैंले आफ्नो लागि फुटबल किनेको पहिलोपटक आठ कक्षा पढ्दाको समयमा हो। त्यो समय दसैंमा मामाघरमा टिका लगाएर आएको पैसाले मैले फुटबल किनेको थिएँ।
फुटबलको अन्तर्राष्ट्रिय खेलहरु कत्तिको हेर्नु हुन्छ?
मैले १९९८ बाट विश्वकप हेर्न सुरु गरेको थिएँ। मैले त्यो समय देखि २०१० सम्मको विश्वकपको लगभग सबै हेरें। २००२ को विश्वकपको फाइनलमा म काठमाडौंमा थिएँ। त्यो समय कालोपुलको हिरारत्न हलमा फाइनल खेल हेरेको अझै याद छ। २०१० पछि भने म पढाइमा व्यस्त भएँ र खेल हेर्न पाएको छैन। पछिल्लो सयम २०२२ को विश्वकप पनि मैले दुईतीन वटा खेल बाहेक हेरिन।
फुटबल बाहेक अरु के-के खेल खेल्न मनपर्छ? अन्य कुन-कुन कुरामा रुची छ?
फुटबल बाहेक म चेस पनि राम्रो खेल्छु। तर अहिले पढाइले गर्दा चेस खेल्न भ्याएको छैन। त्यो संगै भलिबल, बास्केटबल लगायतका खेलहरु पनि मलाई मन पर्छ। म पहिले पत्रिका एकदमै पढ्ने गर्थें। अहिले पनि म बिहान उठेर एकपटक अनलाइन पत्रिकाहरुमा छापिएका सामग्रीहरु पढ्ने गर्छु। त्यो बाहेक आख्यानहरु र मोटिभेसनका किताबहरु पढ्न मन पर्छ।
अन्कोलोजीमा हरेक दिन जस्तो नयाँ कुराहरु आइरहेको हुन्छ, म त्यस्ता रिसर्चहरु पढ्छु।
तपाईंले पछिल्लो समय पढेको किताब कुन हो?
मैले पछिल्लो समय नर्मन भिन्सेन्ट पलको 'यु क्यान इफ यु थिंक यु क्यान' पढेको थिएँ।