काठमाडौं- ट्रान्स फ्याट अंग्रेजी शब्द हो। ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द हो। यसबारे धेरैलाई जानकारी छैन। अंग्रेजी भाषामा पनि सन् १९७८ मा मात्र अंग्रेजी शब्दकोशमा लेखिएको शब्द हो। ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो।
यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ। यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नु पर्दछ। यसको नेपाली शब्द छैन। तसर्थ छोटकरी नेपालीमा अखचि भन्न सकिन्छ।
स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो हो। खानामा अखचिको मात्रा धेरै भएमा हृदयघात र मस्तिष्कघात लगायत मधुमेह, उच्च रक्तचाप, मोटोपन, एक प्रकारको स्तन क्यान्सर जस्तो अन्य धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्।
ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ। रांगा, भैसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ। थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्दैन। तर अत्यधिक मात्रामा सेवन गर्नाले भने नकारात्मक असर हुन्छ।
कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पिएचओ भनिन्छ। स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ। यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवतर्न हुन्छ। ट्रान्स फ्याट भएको तेल सामान्य ताक्रममा जान्छ। उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा खानेकुरा पकाउँदा खानाको
रुप र स्वाद राम्रो बन्छ र धेरै दिनसम्म संचय गर्न सकिन्छ।
वनस्पति तेलभन्दा यो धेरै सस्तो पर्न आउँछ। व्यवसायमा फाइदा हुने भएकाले खाद्य उद्योगमा यसको प्रयोग धेरै हुन्छ। नेपालको उद्योगको उत्पादन हुने वनस्पति घ्यू, केकमा प्रयोग हुने सर्टनिङ, मार्गारिन आदि औद्योगिक ट्रान्स फ्याटका केही उदाहरण हुन्।
ट्रान्स फ्याट कति खान सकिन्छ ?
ट्रान्स फ्याट बारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशतभन्दा बढी मात्रा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। वैज्ञानिक सल्लाह यो रहेको छ कि मान्छेलाई दैनिक आवश्यक पर्ने कुल उर्जा क्यालोरीको एक तिहाई उर्जा चिल्लो पदार्थबाट प्राप्त हुनुपर्छ। दैनिक क्यालोरीको दश प्रतिशत स्याच्युरेटेड फ्याटबाट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटबाट प्राप्त हुनु पर्दछ।
खानामा ट्रान्स फ्याट शून्य भए सबैभन्दा उत्तम हुन्छ। एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो ? यो सजिलै नाप्त सकिन्छ। मानौ एउटा मानिसलाई दैनिक दुई हजार क्यालोरी उर्जा दिने खाना खानुपर्छ। दुई हजारको एक प्रतिशत भनेको २० हो र सो को २० क्यालोरी उर्जा कबि दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ। दुई ग्राम भनेको आधा चिया चम्चा चन्दा अलि कम हो।
एक चिया चम्चामा ५ ग्राम हुन्छ। यस प्रकार दैनिक दुई हजार क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गर्न सकिन्छ। तसर्थ दुई प्रतिशत भन्दा कम अखचि प्रयोग गर्न सकिन्छ।
ट्रान्स फ्याटले स्वास्थ्यमा कस्तो असर पार्छ ?
ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ। धमनीहरुको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरिने क्रमलाई बढाउँछ। रगतको थेग्रा जम्ने संभावनलाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने संभावना धेरै हुन्छ। यस प्रकार ट्रान्स फ्याट धमनीहरुका लागि अत्यन्तै हानिकारक छ। यसले युवा अवस्थामा मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब ५ लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ। त्यसकारण सन् २०२३ सम्ममा उद्योगबाट उत्पादित औद्योगिक ट्रान्स फ्याट नियन्त्रण गर्ने लक्ष्य लिएको छ।
कस्तो खानामा ट्रान्स फ्याट बढी हुन्छ ?
वनस्पति तेललाई जति धेरै ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ। जति धेरै ततायो तेल त्यति बढी हानिकारक बन्दै जान्छ। यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन आदि खानेकुराहरु स्वादिलो भएपनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्।
खाद्य उद्योगमा तयार गरी प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु जस्तै कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, चिज वल्स, आलु चिप्स आदिमा अत्यधिक मात्रामा ट्रान्स फ्याट हुन सक्छ। तसर्थ लेवल हेरेर मात्र खाने बानी बसालौँ। यस्तै प्रकारले वनस्पति घिउमा बनाइएका बेकरी आइटमहरु केक, डोनट, आइसक्रिम, पिज्जा तथा तेलमा डिप फ्राई गरेर तयार पारिने फास्ट फुड जस्तै पकौडा, समोसा, पुरी, चिकेन फ्राई, आलु फ्राई, बर्गर, ससेज आदिमा प्रशस्त मात्रामा ट्रान्स फ्याट हुन सक्छ। वनस्पति घ्युमा तारेर बनाइने मिठाईहरु जेरी, लालमोहन, गुंदपाक, पुस्टकारी, लाखामरी आदिमा पनि धेरै मात्रामा ट्रान्स फ्याट हुन सक्छ।
ट्रान्स फ्याटको प्रयोग कसरी घटाउने ?
– डिप फ्राई गरेको खाना नखाने।
– बजारमा प्याकेटमा बन्द गरी तयारी खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेरेर मात्र खाने।
– वनस्पति घिउको सट्टा गाई, भैसीको घिउको प्रयोग गर्ने।
– वनस्पति तेलमा खाना पकाउँदा डढेको तेलमा दोहोर्याएर खाना नपकाउने।
– तेलहरुमध्ये तोरीको तेल र नरिवलको तेल बढी प्रयोग गर्ने। ओलिभ तेललाई नतताउने वा नझान्ने।
– रातो मासुको सट्टा सेतो मासु खाने। दुधलाई चिल्लो निकालेर पिउने।
– मिठाई, आइसक्रिम, पिज्जा, केक, आदि कम खाने।
– तयारी चाउचाउ
– मा राखेको वनस्पति घ्यु नखाने।
(नेपाल हृदय रोग प्रतिष्ठानले ट्रान्स फ्याट बारे उपलब्ध गराएको जानकारीबाट)