आम मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो बाडुली। नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन छ। तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो।
सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ। ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ। बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ। सामान्य अवस्थामा बाडुली लाग्यो भने निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ।
घरेलु उपचार
एक/एक भाग अमला, सुठो र पिपलको धुलोमा तीन भाग खाँड मिसाएर आधा चम्चा महसँग चाट्ने र केराको जराको रसमा थोरै मिस्री मिलाएर पिउने
अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर चाट्ने
एक लिटर उमालेको पानीमा एक तोला रायो मिलाउने र तैरिन दिने, रायो पिँधमा बसेपछि पानी पिउने
हरियो पुदिना एक कचौरा पानीमा पिसेर थोरै मिस्री मिलाई छानेर पिउने
तातो दुधमा गाईको घिउ राखेर पिउने
कागतीको रसमा मह र बिरेनून मिसाई खाने। ताजा अदुवा चुसिरहने।
प्राणायाम, व्यायाम प्रशस्त गर्ने।
नोट: बाडुली रोकिएन वा निरन्तर आइरह्यो भने चिकित्सकलाई देखाउन आवश्यक छ।