आज मे १ तारिख। मे महिनालाई विश्वभर आस्थामा तथा एलर्जी अवेरनेस महिनाका रुपमा मनाउने गरिएको छ। विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मे महिनामा यो दिवस मनाइन्छ। नेपालमा पनि एलर्जीजन्य समस्याहरु बढ्दै गएको चिकित्सक बताउँछन्। एलर्जी के हो? कति प्रकारका हुन्छन्। एलर्जीले गराउने दम कस्तो समस्या हो? लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले बाल तथा एलर्जी रोग विशेषज्ञ एवं पेडियाट्रिक आस्थामा एलर्जी इम्युनोलोजी प्राक्टिर्सनर सोसाइटी अफ नेपालका अध्यक्ष डा महेश कुमार गौतमसँग गरेको कुराकानी:
मे महिनालाई आस्थामा तथा एलर्जी अवेरनेस महिनाका रुपमा मनाउने गरिएको छ। यो दिवस किन मनाइन्छ?
हरेक वर्षको मे महिनामा १ देखि ३० तारिखसम्म विश्वभरी आस्थामा तथा एलर्जी जनचेतनामूलक कार्यक्रम गरिन्छ। यो सुरु भएको अमेरिकाबाट हो। तर अहिले विश्वव्यापी रुपमा एलर्जी तथा दम रोग बढ्दो क्रममा रहेकाले पनि यो दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य भनेको जनमानसमा एलर्जी भनेको के हो ? के कारणले एलर्जी हुन्छ ? यसको उपचार के छन् ? एलर्जीले गर्दा दम पनि हुन्छ भन्ने लगायत विषय सम्बन्धी जनचेतना बढाउनु नै हो।
एलर्जीलाई हामीले सामान्य रुपमा मात्र बुझ्ने गरेका छौँ। चिकित्सकीय भाषामा एलर्जी भनेको के हो?
नेपालमा एलर्जी भन्ने आवश्यकभन्दा अन्य ठाउँमा शब्द धेरै नै प्रयोग भएको पाईन्छ। छालामा केही कारणले चिलायो भन्ने बित्तिकै एलर्जी भयो भन्ने गरिन्छ। तर एलर्जी भनेको बृहत शब्द हो। एलर्जी शब्द भित्र विभिन्न रोगहरु पर्दछ। एलर्जी भनेको हाम्रो शरीरले शरीरभन्दा बाहिरी तत्वको असरबाट जोगाउन देखाउने एक किसिमको अवाञ्छित प्रतिक्रिया हो। जहाँ शरीरले ती बाहिरी तत्वको असरबाट जोगाउन विभिन्न लक्षणहरु देखाउँछन्, जसलाई एलर्जी भनिन्छ।
उदाहरणका लागि कसैलाई शाङ्लासँग कुनै पनि समस्या हुँदैन। तर कुनै व्यक्तिलाई शाङ्लाको भुवाबाट हाँच्छु आउने, शरीर जिलाउने अथवा दम आउने जस्तो पनि हुन सक्छ। त्यही शाङ्लामा भएको प्रोटिनको प्रतिक्रियालाई नै एलर्जी भनेर बुझ्छौ।
एलर्जी हुनुको कारण के हो?
एलर्जी पहिला धनी देशहरुमा मात्र हुन्छ भनिन्थ्यो। तर अहिले नेपाल जस्तो विकासोन्मुख देशमा पनि एलर्जीजन्य समस्या धेरै नै देखिन थालेको छ। एलर्जी वंशाणुगत र वातावरणीय कारणले हुन सक्छ। कुनै बच्चालाई एलर्जीको समस्या हुन सक्छ की सक्दैन भनेर सोध्नु भयो भने मैले ती बच्चाको आमा बुवा र परिवारमा कसैलाई एलर्जीको समस्या छ÷छैन भनेर बुझ्छु। भन्नाले यसमा वंशाणुगत कारक तत्व निकै महत्वपूर्ण छ। अहिले हाम्रो खानपीन पाश्चात्य तर्फ ढल्किरहेको छ। एउटा बच्चा पाउने, नरमल डेलिभरी भन्दा सिजेरियन सेक्सनबाट बच्चा पाउने, स्तनपान कम गराउने, जंक फूडको बढ्दो प्रयोगले पनि एलर्जीको समस्यालाई बढाइरहेको छ।
एलर्जीजन्य समस्याहरु व्यक्ति अनुसार फरक हुन्छन्?
हो। एलर्जीजन्य समस्याहरु व्यक्ति अनुसार फरक हुन्छन्। जस्तै कोठामा एउटा पुरानो कपडाको धूलो झार्छौ भने कसैलाई त्यसले नै हाँच्छु आउने, चिलाउने समस्या हुन्छ भने कसैलाई केही हुँदैन। त्यो कपडाभित्र रहेको किटाणुबाट ती व्यक्तिलाई एलर्जी रहेको हुन सक्छ। त्यसैले यो समस्या पनि व्यक्ति अनुसार फरक पर्छन्।
कुनै पनि वस्तुबाट हामीलाई एलर्जी हुन्छ ? यसबाट असर पुग्छ भनेर हामीले कसरी थाहा पाउने?
एउटा क्लिनिकल पाटो नै भयो। जसमा उहाँहरुले आफुलाई भएको समस्याहरु भन्नु हुन्छ र हामीले जाँच गरेर निक्यौल गर्छौ। कसैलाई घरमा बस्दा केही हुँदैन। तर अफिसमा गएपछि लगातार हाँच्छु आउँछ भने ती व्यक्तिलाई अफिसको कुनै वस्तुसँग एलर्जी भएको हुन सक्छ। यी सबै समस्या सुनेपछि हामीले यो चिजले होला भनेर शंका गर्छौ र त्यही हामीले एलर्जी परीक्षण गरेर निक्र्यौल गर्छौ।
एलर्जी कति प्रकारका हुन्छन्?
एलर्जी भन्ने शब्द मेडिकल भाषामा हाइपर सेन्सीटीभिटी हो। शरीरले कुनै चिज विरुद्ध हाइपर सेन्सीटीभ भएर प्रतिक्रिया देखाएको हो। हाइपर सेन्सीटीभिटी भन्ने विभिन्न किसिमको हुन्छ। अहिले त्यो तर्फ नजाऔँ। एलर्जीको प्रकारको चर्चा गरौँ। जन्मिएपछि बालबालिकाको छालामा डाबर आयो। गाई भैसीको दूध खुवाउँदा दिसामा रगत गयो। छाला चिलाउने जस्ता समस्याहरु सुन्नु भएको छ भने त्यो छाला वा फूड (खानेकुरा) को एलर्जी हुन सक्ने संभावना बढी हुन्छ।
कुनै वयस्क व्यक्तिलाई नाक चिलाइरहने, हाँच्छु आइरहने, नाक बन्द भइरहने, नाक बगिरहने समस्या छ र नाकमा पनि एलर्जीले गर्दा सुजन भइरहेको छ भने मेडिकल भाषामा एलर्जीक राइनाइटिस भनिन्छ। अहिले यो नाक र आँखा पनि जोडिएको हुन्छ। आँखा र नाकको एलर्जी भएमा एलर्जी राइनाइनो कन्जक्टिभाइटिक्स भएको भनेर बुझ्नुपर्छ। घाँटी खसखस भइरहने समस्या पनि एलर्जीका कारण हुन सक्छ। श्वास फेर्ने नलीमा पनि एलर्जीले गर्दा सुजन भयो भने साँघुरो हुने वा खुम्चिने हुन्छ। जसले गर्दा लगातार खोकी लागिरहने, स्याँ स्याँ हुने, छिटो थकान महसुस हुने भएमा दम भएको हुन सक्छ।
छाला, नाक, आँखा, छाति र श्वासप्रश्वास नलीको एलर्जी हुन सक्छ। यो बाहेक खानेकुराको पनि हुन सक्छ। कुनै बिरामीलाई औषधि लिदा पनि शरीरमा डाबर आएको, आँखा सुन्निएको, अनुहार सुन्निएको पनि सुनिन्छ। यो ड्रग एलर्जी हो। र, औषधि वा खानेकुरा खाँदा आँखा, ओठ सुन्नियो र स्याँ स्याँ बढ्यो भने यो एलर्जीको गम्भीर रुप हो। जसलाई एनफेलेक्सीस भनिन्छ। यो एलर्जीका कारण मानिसको ज्यान पनि जान सक्छ।
यो महिना आस्थामा तथा एलर्जी अवेरनेसका रुपमा मनाइने हुँदा पनि हामी दम एलर्जीकै बारेमा कुरा गर्छौ। यो दम एलर्जी भनेको कस्तो समस्या हो?
जुन दम एलर्जीका कारण भएको हुन्छ, त्यसलाई दम एलर्जी भनिन्छ। विशेषगरी यो समस्या बच्चाहरुमा बढी देखिन्छ। नेपालमा बच्चाहरुलाई पनि दम हुन्छ भन्ने कुराको विश्वास जनमानसले गर्दैनन्। चिकित्सकले पनि बच्चाहरुमा दम छ भनेर निदान गर्न पनि हिचकिचाउनु हुन्छ। तर यो समस्या निकै बढ्ने क्रममा छ। बच्चाहरुमा हुने बाल दम झण्डै ९० प्रतिशत एलर्जीका कारण हुन्छ। विशेषगरी ४० वर्षसम्ममा हुने दम एलर्जीकै कारण हुन्छ। बच्चाहरुमा देखिने दम एलर्जीकै कारण बढी हुने भएकाले जनचेतना बढाउन निकै आवश्यक छ।
बच्चाहरुमा हुने दमको ९० प्रतिशत कारण एलर्जी नै हुन्छ भन्नु भयो। एलर्जीले नै दम गराउनुको कारण के हो?
एउटा उदाहरण दिन चाहन्छु। तपाईलाई एलर्जी छ तर मलाई छैन। तपाईको श्वास फेर्ने नलीमा अलिकति घाउँ भए जस्तो हुने भयो। तपाईको घरमा भएको शाङ्लाको एलर्जी छ भने हरेक दिन त्यसको सम्पर्कमा आइरहनु भयो भने त्यसले श्वास फेर्ने नलीमा सुजन गराउँछ। त्यो सुजन भनेको आलो घाउँ जस्तो भयो। त्यो आलो घाउँमा भाइरल संक्रमण भए, धूलो परे वा कुनै संक्रमण भयो भने थप समस्या बढाउँछ। धेरै संक्रमण भए श्वासनली झनै साँघुरो हुने भयो। जसले गर्दा तारन्तार खोकी लाग्ने, स्याँ स्याँ हुने वा दमको अट्याक हुन्छ भने त्यो पहिलेदेखिको एलर्जीको सुजनले भएको हो। यसले त्यहाँ भएको कोषिकाहरुलाई बिगार्दै सुन्नाउँदै जान्छ। जसले गर्दा यो दमको लक्षण देखिने हो।
बाल दमको अवस्था नेपालमा कस्तो छ?
सबैभन्दा पहिले यसको पहिचान गर्न नै गाह्रो छ। बच्चाहरुमा लगातार खोकी र स्याँ स्याँ, घ्यार घ्यार भएपनि निमोनिया भन्दै अभिभावकले औषधि पसलमा गएर आफैँ खोकीको औषधि र एन्टीबायोटिक खुवाउने चलन छ। डाक्टरहरुले पनि निमोनिया हुने संभावना छ भन्दै बाफ लगाउने, एन्टीबायोटिक दिने, औषधि खुवाउने चलिरहेको हुन्छ। निदान राम्रोसँग हुँदैन। कति प्रतिशत बाल दमको समस्या छ भनेर राष्ट्रिय रुपमा सरकारसँग तथ्यांक पनि छैन। तर एउटा कक्षामा ३० जना बालबालिका छन् भने ३ देखि ९ जनामा कुनै न कुनै किसिमको एलर्जी र झण्डै ३ देखि ५ जनामा बाल दमको समस्या हामीले पाएका छौँ।
साना बालबालिकाले आफूलाई भएको समस्या बताउन सक्दैनन्। अभिभावकले यो समस्या बारे कसरी थाहा पाउन सक्छन्?
सानो बच्चामा थाहा पाउन गाह्रो हुन्छ। एक दुई वर्षको बच्चालाई पनि दम नहुने होइन, हुन्छ। बच्चालाई निरन्तर खोकी लागि रहन्छ। स्याँ स्याँ हुन्छ। छाति घ्यार घ्यार हुन्छ। औषधि खाँदा ठिक भए जस्तो हुन्छ। बाफ लगाउँदा जादु गरे जस्तो छातिको स्याँ स्याँ हराउँछ। तर फेरी पनि बल्झि हाल्छ वा बच्चा हिड्दा, दौडिदा, हाँस्दा पनि खोकी लाग्ने, स्याँ स्याँ भएजस्तो हुन्छ। राति खोकी लागेर उठ्नु परेको छ। परिवारमा पनि कुनै सदस्यलाई दम, एलर्जी, पिनास, नाक बन्द हुने वा छाला सम्बन्धी एलर्जी छ भने बच्चालाई पनि बाल दम भएको हुन सक्छ भनेर चिकित्सकसँग सल्लाह लिनुपर्छ।
नेपालमा बाल दमको उपचारको अवस्था र सुविधा कस्तो छ?
बालबालिका र वयस्कमा हुने दम फरक छ। बालबालिकाको फोक्सो विकास भइरहेको हुन्छ। पाँच वर्षभन्दा मुनिका बालबालिका छन् भने यस किसिमको दमको लक्षण एलर्जी बाहेक भाइरल संक्रमण वा वातावरणीय कारणले पनि हुन्छ। घरमा कसैले चुरोट खान्छ भने त्यो धूँवाले बच्चालाई असर गरिरहेको हुन सक्छ। यदी वातावरणीय कारणले हो भने त्यसको समाधान गर्ने बित्तिकै झण्डै ५÷६ वर्षसम्म पुग्दा ८०÷९० प्रतिशतलाई पछि घ्यार घ्यार हुने हुँदैन। तर परिवारमा कसैलाई एलर्जीक समस्या छ भने दम पछिसम्म पनि हुने संभावना हुन्छ।
यदी चिकित्सकले दम भनेर रोगको पहिचान गरेको छ भने इन्हेलर थेरापी (बाफबाट फिस्स गर्ने औषधि) उपयुक्त उपचार हो। हालसम्म वैज्ञानिक र चिकित्कसीय रुपमा प्रमाणित उपचार विधि भनेकै इन्हेलर थेरापी हो। यसको प्रयोगबारे यहाँहरुले आफ्नो चिकित्सकसँग सल्लाह गर्नुपर्छ।
बच्चाहरुमा बाल दमको समस्या देखियो भने जीवनभर औषधि खाइरहनुपर्ने अवस्था हुन्छ?
बच्चाहरुमा त्यस्तो हुँदैन। एलर्जी नै भएतापनि आफुलाई के चिजको एलर्जी छ भनेर ठम्याउन सकियो भने समस्याबाट बच्न सकिन्छ। र, केही समयको औषधि पश्चात त्यो औषधि रोकेर हेर्ने र पुनः दोहोरिन्छ या दोहोरिदैन भनेर हेर्नुपर्छ। समस्या पनि बल्झियो भने पुनः औषधि चलाउने। बल्झिएन भने आवश्यकता अनुसार औषधि चलाउँदै जान सकिन्छ। धेरै बच्चाहरु वंशाणुगत रुपमा एलर्जीको जोखिम भएपनि ६, १२ र १८ वर्ष हुँदै समस्याबाट औषधि नलिइकन बस्नु भएको धेरै हुनु हुन्छ।
त्यसो भए यो विषयमा अभिभावकहरु नै बढी चनाखो हुनुपर्ने हो?
अभिभावक चनाखो हुनुपर्ने हो। तर धेरै अभिभावकहरुले तपाईले हामीलाई फेला पार्नुस्, बच्नुस् भन्नु हुन्छ हामी कसरी बच्ने भनेर पनि सोध्नु हुन्छ। अब यो गाह्रो छ। साँच्चै नै एलर्जीलाई हामीले छुट्याउन सक्नुपर्छ। धेरैले धूँवा, धूलो र चिसोको एलर्जी हो बच्नै सकिदैन भनेर पनि भन्नु हुन्छ। तर धूँवा भनेको बाहिरको गाडीको चुरोटको हुन्छ। धूलो भनेको पनि निर्माण चलिरहेको र धूलो भयो। र, चिसो भनेको मौसम परिवर्तनको भयो। यी भनेको एजर्ली होइनन्। यी सबै इरिटेन्ट हुन्। एलर्जीले गर्दा सुजन भइसकेको ठाउँमा यो वातावरणीय परिवर्तन जसले पनि असर गर्छ। यसले गर्दा एलर्जीको अभ्यास गरिरहेका चिकित्सकसँग जाँच गरेर पहिल्याउन सक्नु हुन्छ।
बाल दम वा कुनै पनि किसिमको एलर्जी हुन नदिन के गर्नुपर्छ?
वंशाणुगत रुपमा हुने एलर्जीको उपचार त्यस्तो केही छैन। यो बाहेकको पाटोमा भने ध्यान दिन सक्छौ। कुनै गर्भवती महिलामा धेरै तनावपूर्ण वातावरण भयो भने बच्चाहरुमा कुनै पनि एलर्जीको समस्या देखिन सक्छ। त्यसैले गर्भवती महिलाहरु तनावपूर्ण वातावरणमा बस्नु हुँदैन। अहिले धेरै महिलाहरु काम गर्नु हुन्छ। यी सबले गर्दा पनि स्ट्रेस हर्मोन निस्किरहेको हुन्छ। जसले गर्दा ती महिलाले जन्माउने बच्चामा एलर्जीको समस्या हुन सक्छ भनिएको छ।
प्रदूषित वातावरणमा जन्मिएको बच्चाहरुमा पनि एलर्जीजन्य समस्या देखिन सक्छ भनेर विभिन्न अध्ययनले देखाएको छ। सामान्य डेलिभरीभन्दा सिजेरियन सेक्सन मार्फत जन्मिएका बच्चाहरुमा पनि स्याँ स्याँ, घ्यार घ्यार वा एलर्जीको समस्या बढी देखिन सक्छ। कृत्रिम बट्टाको दूध खाने बच्चाहरुमा पनि यो समस्या देखिन सक्छ। त्यसपछि हुर्किदै गरेको अवस्थामा देखिने समस्या भयो। अनावश्यक प्यारासिटामोल र एन्टीबायोटिकको प्रयोगले पनि एलर्जीको समस्या बढाउँदै गएको पाइएको छ।
भिडियो – निमेष जंग राई