सन् २०१४ मा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन पुरा गरी भारतको जवाहरलाल नेहरु इन्टिच्युटबाट छात्रवृत्तिमै एमएस रेसिडेन्सी सकेका अर्थोपेडिक सर्जन हुन् डा श्रीराम खाती। एमबीबीएस सकेर ८ महिना अछामको बयालपाटा अस्पतालमा सेवा दिएका डा खाती अर्थोपिडक सर्जनको विशेषज्ञता हासिल गरेपछि ३ वर्षदेखि धनगढीस्थित निर्सग अस्पतालमा कार्यरत छन्। उनले भर्खरै मात्र अर्थोपेडिक सर्जनपछिको थप विशेषज्ञता इन्डोस्कोपी स्पाईन सर्जरी कोर्ष समेत गरेका छन्। यसबाट बिरामीले कस्तो सेवा पाउँछन्, यो कस्तो प्रकारको उपचार विधी हो, यसका विशेषता के छन् लगायतका विषयमा स्वास्थ्यखबरका लागि पूर्ण बहादुर खड्काले डा खातीसँग गरेको कुराकानी:
इन्डोस्कोपी स्पाईन सर्जरी भनेको के हो?
हाडजोर्नी तथा न्युरो सर्जरी विधामा विशेषज्ञता हासिल गरिसकेपछि गरिने थप कोर्षका रुपमा यसलाई लिइन्छ। इन्डोस्कोपिक स्पाईन सर्जरी भन्नाले छालामा सानो प्वाल पारी, मासु फटाएर त्यही दुलोबाट दूरबिन छिराई दूरबिनकै माध्यमबाट मेरुदण्डको नशा दबेको समस्याको हल गरिने एक प्रकारको विशेष उपचार विधि हो। यो विधिबाट उपचार गर्दा बिरामीलाई बेहोस पार्नु नपर्ने, मांशपेसीमा चोट कम लाग्ने र रगत बग्ने समस्या पनि धेरै कम हुने गर्दछ।
इन्डोस्कोपी स्पाईन सर्जरीको प्रयोगसम्बन्धी नेपालमा कस्तो अवस्था छ?
मेरो जानकारी अनुसार नेपालमा धेरै कम (८-१० जना) अर्थोपेडिक सर्जन र न्युरोसर्जनले यो कोर्स गर्नुभएको छ। तर, यो विधिबाट उपचार नेपालमा अहिलेसम्म त्यति प्रचलनमा आइसकेको छैन। धनगढीमा सुदूर तथा कर्णालीका धेरैजसो मेरुदण्डको बिरामीहरु आउन थालेपछि आफ्नो सिप बढाउनुका साथ साथै बिरामीहरुलाई सेवा सुविधा धनगढी मै दिन सकियोस् भन्ने कुरालाई मध्यनजर गर्दै भारतमा गएर इन्डोस्कोपी स्पाईन सर्जरीको कोर्ष पुरा गरेँ।
नेपालमा यस्तो विशेषज्ञता हासिल गरेका चिकित्सक औंलामा गणना गर्न सकिने मात्रै भएकोले यो कोर्ष गरेर आएँ। हामीले निसर्ग अस्पताल धनगढीमा यसको सेवा सुरु गरेका छौँ। हामी कहाँ आएका बिरामीहरुको मेरुदण्ड र नशाको समस्या यसै प्रविधीको प्रयोगले पत्ता लगाउने र निदान गर्ने गरिरहेका छौँ। अब हप्ता दिनमै यसका उपकरणहरु जडान गरेर थप सेवा दिने छौँ।
सामान्य शल्यक्रिया र इन्डोस्कोपी स्पाईन सर्जरीमा के भिन्नता छ?
पहिलेदेखि प्रचलित उपचार विधि अनुसार मेरुदण्डको अपरेशन गर्दा मुखबाट पाइप हालेर बेहोस गर्नुपर्ने, ठूलो चिरा (८,१० सेन्टिमिटर) पारेर मांसपेशी काटी नशा दबेको ठाउँसम्म पुग्नुपर्ने, धेरै रगत बग्ने र अप्रेशनपछि कति बिरामीमा समस्या फेरि दोहोरिने र कति बिरामीमा समस्या पुरै निको नहुने जस्ता जटिलताहरू देखिने गर्छन् भने इन्डोस्कोपिक स्पाईन् सर्जरीमा धेरै सानो प्वाल (०.८ देखि १ सेन्टिमिटर) बनाएर अप्रेशन गरिने हुँदा त्यस्ता जटिलताहरु आउँदैनन्।
दुरबिनको माध्यमबाट मेरुदण्डको कुन ठाँउमा समस्या छ, कुन नशा दबेको छ, समस्या कुन लेबलमा छ र कसरी दबेको भन्ने कुरा पनि यो प्रविधिबाट पहिलेको विधि भन्दा धेरै स्पष्टसँग थाहा हुन्छ। यसका साथै यो प्रविधीमा ब्लीडिङको समस्या हुँदैन, पुरै बेहोस नपारी अप्रेशन गरिने हुनाले बिरामीले आफ्नो खुट्टा दुखेको छ छैन, नशा तिर छोएको छ छैन? सबै थाह हुन्छ जसले गर्दा नशामा चोट लाग्ने जोखिम पनि कम हुन्छ।
खुला सर्जरीमा ठुलो चिरा पारेर आखाँले हेरेर गर्नुपर्ने हुँदा नशामा चोट लाग्न सक्ने सम्मको जोखिम हुन्छ भने इन्डोस्कोपी स्पाईन सर्जरी प्रविधिमा दुरबिनको सहायताले भिडियो नै ५० देखि १०० गुणा ठुलो देखिने र एक्सरे मेसिनको समेत सहायता लिईने हुँदा यस्ता समस्या अति नै कम मात्रामा हुन्छ। सामान्य अप्रेशन गर्दा बिरामी ५ देखि ७ दिनसम्म अस्पतालमै भर्ना भएर बस्नुपर्ने र हिडडुल गर्न पनि समय लाग्ने हुन्छ भने इन्डोस्कोपी स्पाइन सर्जरीमा अप्रेसन गरेको भोलीपल्ट नै बिरामीले हिडडुल गर्न सक्छन्।
मेरुदण्डमा समस्या छ भनेर कसरी पत्ता लगाउने?
धेरै जसो बिरामीहरुको समस्या बिरामीको लक्ष्यण, डाक्टरले गर्ने जाँच, एक्सरे र एमआरआईबाट पत्ता लाग्छ तर १० प्रतिशत जस्तो बिरामीहरुको समस्या यो सबै जाँच गर्दा पनि पत्ता नलाग्ने हुन्छ। यस्तो खाले अवस्थामा इन्डोस्कोपिक स्पाइन् सर्जरीको प्रविधि रोग पत्ता लगाउन र उपचारको लागि बढी प्रभावकारी देखिएको छ। मेरुदण्डमा हुने डिस्क (दुईवटा हड्डीको बीचमा हुने रबर र चकटी जस्तो कुरा), नशा दबेको, नशाको बाटो साघुरो भएको, नशा थिचिएको जस्ता समस्या यो प्रविधिबाट पत्ता लगाएर सजिलै अप्रेसन गर्न सकिन्छ ।
इन्डोस्कोपी स्पाईन सर्जरी सामान्य अप्रेसन भन्दा कत्तिको खर्चिलो छ?
यो प्रविधि विश्वमै नयाँ, कम र अब्बल सर्जनले मात्र गर्न सक्ने र अप्रेशन गर्ने उपकरण महंगो हुने हुँदा प्रचलित विधि भन्दा अप्रेसन खर्च हल्का बढी हुने भए पनि बिरामीले अस्पतालमा बस्नुपर्ने खर्च, औषधि खर्च जोडर हेर्दा इन्डोस्कोपिक सर्जरीको खर्च पनि प्रचलित विधि (ओपन सर्जरी) को बराबर नै हुन आउँछ।
बिगत ३ वर्षदेखि निसर्ग अस्पतालमा कार्यरत हुनुहुन्छ, यो अवधिमा कस्ता कस्ता खालका बिरामीको उपचार गर्नुभयो ?
यो क्षेत्रमा सबै भन्दा बढी चोटपटक लागेका, दुर्घटनाबाट घाईते भएका, रुख तथा भिरबाट लडेका बिरामीका साथै दैनिक जीवनमा काम गर्दा, खेतबारीमा काम गर्दा, भारी बोकेर हिँड्दा मेरुदण्डको हड्डी खिइने समस्या, घुडाको जोर्नी खिईने समस्या, मेरुदण्डको नशा दब्ने समस्या भएका बिरामीहरु अस्पतालमा बढी आउने गर्नुहुन्छ। कम्मर र गर्धन दुख्ने, हातखुट्टा झम्झम् गर्ने र कतिपय प्यारालाइसिस भएर उपचार गर्न आउने बिरामीहरु समेत रहेका छन्।
मेरुदण्ड दुख्ने समस्या अप्रेशन नगरी फिजियोथेरापीबाट पनि ठिक हुन्छ भन्छन् नी?
कम्मर दुख्ने र खुट्टा झम्झम् गर्ने अधिक्तम बिरामीहरुलाई औषधि उपचार र फिजियोथेरापीबाट पनि ठिक हुन्छ। धेरै जसो मान्छेहरु दुखाई हुँदा मेडिलकमै औषधि किनेर खाने बानी छ। सामान्य समस्या भएमा सुरुवाति अवस्थामा औषधिले पनि ठिक हुन्छ। तर बारम्बार यस्तो समस्या देखिएमा स्पाईन सर्जन वा अर्थोपेडिक सर्जनलाई भेटनुपर्ने हुन्छ। सम्बन्धित विशेषज्ञले लक्षण, जाँच र एमआरआई हेरिसकेपछि बिरामीलाई औषधि र फिजियोथेरापीले निको हुने हो कि अप्रेशन गर्नुपर्ने अवस्था हो, त्यो पुष्टि हुन्छ। कतिपय केसहरु एमआरआईमा देखिँदैनन् पनि। यस्ता केसहरू लामो समय सम्म औषधि खाँदा र फिजियोथेरापी गर्दा पनि सञ्चो नहुने हुन्छन्। त्यस्तो अवस्थामा समस्या कुन ठाउँ मा छ त्यो पुष्टि गर्नको लागि पनि ईन्डोष्कोपी स्पाईन सर्जरी प्रविधी धेरै उपयोगी देखिएको छ। त्यही भएर सबै नशा दबेको बिरामीहरू फिजियोथेरापीले निको हुन्छन् भन्नु मिथ्या मात्रै हो।
यस्तो खालका समस्या आउन नदिने के गर्ने?
प्रत्येक घरमा अहिले ढाड दुख्ने, कम्मर दुख्ने, नशा दब्ने र दुखाईको समस्या नभएको मान्छे नै हुँदैन। हरेक ३ मा १ जनालाई कम्मर दुखाई हुन्छ। २० वर्षको उमेरमा २० प्रतिशत र ६० वर्षमा ६० प्रतिशत मान्छेमा मेरुदण्डको डिष्क तथा हड्डी खिईएको हुन्छ। यस्तो समस्या काम गर्ने तरिका नमिलेर, खानपान नमिलेर, धेरै समय निहुँरिएर काम गर्ने, ठुलो भारी उठाउने, लामो समयसम्म एउटै ठाँउमा बसी राख्ने, धुम्रपान बढी गर्ने, कसरत नगर्ने, निद्रा नपुग्दा, चोटपटक लाग्दा र कतिपयमा बंशाणुगत पनि हुन्छ।
त्यसैले यस्तो प्रकारको समस्या सामाधान गर्न र थप बल्झिन नदिन जुन जुन कुराले यो बढाउछ त्यो कुरामा कमी गर्ने। बस्ने, सुत्ने, खाने तरिका मिलाउने, चुरोट रक्सी नखाने, निहुरेर भारी नउठाउने, लामो सयम एउटै पोजिसनमा नबस्ने, नियमति ब्याम गर्ने र योग गर्नाले समेत यसमा फाइदा गर्छ। यस्तै तनाव मुक्त हुने र आफ्नो काममा खुसी हुने।