छालासम्बन्धी देखिने विभिन्न समस्यामध्ये एक्जिमा सबैभन्दा धेरै र आम रुपमा देखिने समस्या हो। एक्जिमा आफैँमा बृहत शब्द हो। यस अन्तर्गत विभिन्न समस्याहरु पर्छन्।
छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलि अलि पानी बगिरहने, छाला कडा हुने जस्तो समस्या हुन्छ। एक्जिमा धेरै प्रकारको हुन्छ। सबैभन्दा आम रुपमा देखिने समस्या भनेको ‘कन्ट्याक्ट डर्माटाइटिस’ हो। कुनै पनि वस्तुको सम्पर्कबाट छालामा हुने एलर्जीलाई ‘कन्ट्याक्ट डर्माटाइटिस’ भनिन्छ। एक्जिमा व्यक्ति अनुसार फरक हुन्छ। धेरैलाई विभिन्न गरगहना लगाउँदा, निधारमा टिका लगाउँदा डाबर आउने चिलाउने समस्या पनि हुन्छ।
आफूलाई कुन वस्तुले एलर्जी गर्छ भनेर पहिचान गर्नुपर्छ। एलर्जी गराउने वस्तुबाट टाढा रहनु नै यसको रोकथामको उपाय हो। कसैलाई टिकाको एलर्जी छ भने हामी टिका नलगाउन सुझाव दिन्छौ। लगाउन परे छिटो अनुहार सफा गर्नुपर्छ।
सामान्य एक्जिमाको समस्यामा मल्हम लगाए पुग्छ। तर जटिल खालका एक्जिमा भए औषधि खानुपर्ने अवस्था पनि हुन्छ। कतिपय एक्जिमा वंशाणुगत पनि हुन्छन्। यो एक्जिमा बच्चादेखि नै सुरु हुन्छ। कतिको उमेरसँगै निको भएर जान्छ भने कतिको जीवनभर रहिरहन्छ। उनीहरुले साबुन, मोस्चराइजर, औषधि लगायत कुरामा ध्यान दिनुपर्छ।
सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि खानुपर्छ।
(त्रिवि शिक्षण अस्पतालका प्राडा द्वारिका श्रेष्ठसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)