उनीसंग........
धर्मराएका पाइला, धमिलिएका दृष्टि
मुर्झाएका रहर, सपना पनि धमिलो देख्ने आँखाहरु
आफैंलाई धान्न नसकेर बेडमा तेर्सिएको सग्लो जीवन 
कोहि पनि आफ्ना आफ्ना नहुँदा
पिडाले छटपटिदा, दर्दले रूदाँ,
श्रावको मल्हमपट्टी,                                 
फ्याक्चरको जोडन लिएर,                        
निराशाको गजबार खोलेर 
जीवनको आशा भित्रिन्छ दैलो उघारेर  
उनीसंग।
उनीसंग,
चाहना छन्, समय छैनन्
परिवार छन्, साथमा छैनन्
अभाव छन्, उग्र छैनन् 
रात छन्, निदरी छैनन्
कल्पना छन्, सपना छैनन्
सीप छन्, सम्मान छैनन्
चाहना छन्, अवसर छैनन्
हो उनीसंग,
कला छन्, प्रदर्शनी छैनन्
कथा छन्, लेखिदैनन्
पिडा छन्, देखिँदैनन्
आर्तनाद छन्, आफैं लुकाउछन्,
सरकार छन्, सुनिदिदैन
उनीसंग।
राम्रो गर्दा स्याबासी भन्न पनि नसक्ने 
उक्लिदा साथ छोडिदिने 
ओर्लिदा हात छोडिदिने परिवेश छन्, समाज छन् 
उनीसंग।
अरुको जीवनमा पारिलो पोख्ने 
घामको जस्तै उज्यालो, जुनको जस्तै सितल दिने
जीवनको पहिलो रुवाइमा, जीवनको अन्तिम रुवाइमा साथ दिने 
उनीसंग
आफ्नो जीवनको घाम, मनको खुशी कहिल्यै नहराओस्
बर्षको एक दिन “मे१२” मा मात्र किन दुनिया?
 
हर दिन, हर घडीको १२ मा उनको लगाव, सद्भाव र प्रेमलाई सम्झिने हर कोहि हुन उनीसंग।
 अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना 
 २०२३ मे १२ 
(पब्लिक हेल्थ नर्स कुँवर बागलुङमा कार्यरत छिन्।)