गुणस्तरीय फार्मेसी सेवा पाउनु जनताको अधिकार र फार्मासिस्टको दायित्व हो। औषधि उत्पादनदेखि अन्त्यसम्मका कार्य जस्तै गुणस्तर नियन्त्रण, समुचित भण्डारण, बिक्रीवितरण एवं व्यवस्थापन तथा समुचित प्रयोगगर्ने पेसालाई फार्मेसी भनिन्छ र यी कार्यहरुमा दक्षता हासिल गरेका विज्ञ जनशक्तिलाई फार्मासिस्ट भनिन्छ। फार्मासिस्टको मुख्य काम औषधिय सामाग्रीहरूको निर्माण र प्याकेजिङ,वितरण, गुणस्तर नियन्त्रण, रोगी तथा अन्यलाई औषधिको प्रयोगकाबारे सल्लाह दिने, औषधिसम्बन्धी खोज तथा अनुसन्धानमा सहयोग गर्ने, निर्माण गरिएको औषधिको नीति र मापदण्डहरूको पालना गर्ने, फार्मेसी शिक्षा र प्रशिक्षणको व्यवस्था गर्ने पनि समावेश गरिन्छ।
हाल नेपालमा डिप्लोमा, स्नातक,स्नातकोत्तर तथा विद्यावारिधी सम्मको पाठयक्रम अध्यापन हुँदै आएको छ। सरकारी क्षेत्रमा सहायक स्तर पाँचौ देखि महानिर्देशक एघारौं तहसम्मको दरबन्दी सिर्जना गरिएको छ ।
सरकारी स्वास्थ्य सेवामा फार्मासिस्टको कार्यक्षेत्र:
औषधि व्यवस्था विभाग:
• औषधि पसल तथा औषधि उद्योग दर्ता, नवीकरण, अनुगमन, आयात निर्यात व्यवस्थापन र अन्य औषधिसम्बधी काम
• विभागको पछिल्लो तथ्याङ्क (२०७९/८०)अनुसार
औषधि पसल २७९०३
औषधि उद्योगहरू १२८
आयातकर्ता १६९
औषधि दर्ता १६९९०
राष्ट्रिय औषधि प्रयोगशाला:
औषधि तथा औषधिजन्य सामग्रीको गुणस्तर परीक्षण तथा विश्लेषणको कार्य गर्ने साथै नागरिकलाई गुणस्तरीय औषधि उपलब्धताको सुनिश्चितता गर्नुपर्ने विषयलाई जोड दिने।
सरकारी अस्पताल:
अस्पतालको फार्मेसीबाट बिरामीहरूलाई चिकित्सकको पूर्जा बमोजिम आवश्यक परामर्श दिई औषधि वितरण गर्ने।
स्वास्थ्य सेवा विभाग:
विभिन्न नीतिगत तहमा कार्य गर्नुपर्ने साथै अस्पताल फार्मेसी हरुको आनुगमन तथा मुल्याकन गर्ने।
प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालय:
दरबन्दी कायम गर्नेर औषधि नियमनको क्षेत्रमा गर्ने कार्याधिकारको बारेमा उचित प्रबन्ध मिलाउने
प्रदेश स्वास्थ्य निर्देशनालय:
औषधिय सामग्रीहरूको प्रबन्ध मिलाउने।
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र:
स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औषधिहरूको वैज्ञानिक अनुमान, खरिद, भण्डारण, तथा वितरणको कार्य गर्ने
स्थानीय तह:
स्थानीय सरकारलाई औषधि पसल दर्ता, अनुगमन र नियमनको अधिकार आएता पनि स्थायी फर्मासिस्टहरूको दरबन्दी नभएको तर केहि क्षेत्रमा भने करार पदपूर्ति मार्फत केहि कार्य संचालन गरेको
अन्य:वनस्पति विभाग,नेपाल औषधि लिमिटेड इत्यादि
अस्पताल फार्मेसी:
पृष्ठभूमि:
नेपालमा सरकारी अस्पताल फार्मेसीहरूको महत्वपूर्ण भूमिका रहेको छ। अस्पताल फार्मेसी भन्नाले अस्पताल भित्रको एउटा महत्वपूर्ण संरचना हो। अस्पताल फार्मेसीको संचालन नाफामूलक नभई सेवामूलक भएकाले बिरामीहरूलाई कम मूल्यमा औषधि उपलब्ध गराइन्छ। अस्पताल फार्मेसीमा उपलब्ध हुने औषधि तथा अन्य सामग्रीहरूको छनौट फार्मेसी तथा थेराप्युटिक कमिटीले गर्दछ। यो समितिमा अस्पतालका विभिन्न विभागका चिकित्सक,नर्स,आर्थिक,प्रशासन,मेडिकल रेकर्डर तथा अस्पताल फार्मेसी प्रमुख रहेका हुन्छन् जसमा अस्पताल फार्मेसी प्रमुखले सदस्यसचिवको भूमिका निर्भाह गर्दछन्। अस्पतालले आफ्नो अस्पतालमा प्रयोग गरिने औषधिहरूको सूची ‘हस्पिटल फर्मुलरीको रूपमा प्रकाशित गर्ने पनि प्रचलन छ तर हाल सम्म केही अस्पताल जस्तै पाटन अस्पताल, मणिपाल अस्पताल,भरतपुर अस्पतालले यस्तो फर्मुलरी बनाएका छन् भने केही अस्पताल बनाउने प्रक्रियामै छन्।
पाटन अस्पताल,वीर अस्पताल,भरतपुर अस्पताल,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका केही ठूला अस्पतालहरूले अस्पताल फार्मेसी सेवा व्यवस्थित गरी सञ्चालन गरे पश्चात हाल अधिकांश अस्पताल फार्मेसी अस्पताल आफैले संचालन गरेको पाइन्छ तर जनशक्तिको अभाव र पर्याप्त दरबन्दी नहुँदा ती फार्मेसीहरूको प्रभावकारितामा भने पटकपटक प्रश्न उठ्ने गरेको छ। अस्पताल फार्मेसी छोटो समयमै आगाडि बढ्नुको पछाडी स्वास्थ्य बीमा कार्यक्रम पनि उत्तिकै भूमिका रहेको छ। हाल नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले प्राथमिक स्वास्थ्य केन्द्रदेखि १५,२५,५० शय्याका अस्पताल हुदै विशेषज्ञ अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम लाूग गरेसँगै अस्पताल फार्मेसी पनि उत्तिकै महत्त्वका रुपमा देखिएको छ।
कार्यहरु:
अस्पतालहरूमा फार्मेसिस्टले विभिन्न कार्यहरू सम्पादन गर्दछन् जस्तै औषधीय सामग्रीहरूको प्रबन्ध, उचित वितरण तथा भण्डारण , औषधिको गुणस्तर नियन्त्रण, रोगीहरूलाई औषधिको बारेमा सल्लाह दिने, औषधिक पदार्थहरूको जाँच गर्ने र औषधीय सुरक्षा नियन्त्रणमा सहयोग गर्ने कार्यहरू सम्पादन गर्दछन्। अस्पतालको फार्मेसीबाट बिरामीहरूलाई चिकित्सकको पूर्जा बमोजिम आवश्यक परामर्श दिई औषधि वितरण गर्ने जिम्मेवारी फार्मासिस्टको रहन्छ।
नीति नियम:
स्वास्थ्य नीति २०७१(२०७६)र अस्पताल फार्मेसी निर्देशिका २०७० यसपछि २०७२ जारी गरी सो निर्देशिकामा समेत अस्पतालहरूले आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गरी दक्ष फार्मेसी जनशक्तिमार्फत अस्पताल फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनिएता पनि दक्ष फार्मेसी जनशक्ति बिना नै लामो समयसम्म फार्मेसी सञ्चालनमा रहेको छ। हालसम्म नेपालमा प्रत्येक जिल्ला अस्पताल स्वास्थ्य कार्यालयहरुमा १ जना फार्मेसी सहायकको दरबन्दी रहेको छ। के साच्चिकै १ जनाले २४ घण्टा सेवा दिन सम्भव छ? यो चुनौतीको विषय रहेको छ,यदि सकिँदैन भने प्रदेश सरकार र संघीय सरकार तथा सरोकारवाला निकाय किन मौन छन्?
अस्पताल फार्मेसीमा भने फार्मेसी सहायक पाँचौदेखि अधिकृत आठौ स्तरका दरबन्दी छन्, सीमित फार्मेसी जनशक्तिका कारण अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थाहरूमा अनधिकृत व्यक्तिहरू (हे.अ.,अ.हे.ब,खरिदार,सुब्बा)बाट औषधि बिक्रीवितरण,खरिद तथा भण्डारण कार्यहरू हुने गरेका छन्। यसका कारण नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्दैनन्। तर क्लिनिकल फार्मसिस्टको दरबन्दी भने आज सम्म छैन,निकट भविष्यमा चिकित्सा शिक्षा आयोगले पूर्ण छात्रवृत्ति मार्फत अध्ययन गराएका क्लिनिकल फार्मासिस्टहरुलाई के कसरी र कहाँ काममा लगाउने भन्ने अझै अन्योल छ। नेपाल सरकारले अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीका निमित्त कुनै पनि तालिम तथा सम्मेलन नगराउनु पनि ठुलो समस्याको विषय रहेको छ। जसका कारण कर्मचारीको वृत्ति विकास नहुने देखिन्छ।
न्यूनतम सेवा मापदण्ड:
अस्पताल फार्मेसी सेवाहरूमा न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा २० वटा विभिन्न शीर्षक अन्तर्गत ३७ वटा उपशीर्षकहरु उल्लेख गरिएता पनि हाल सम्म ६०/७० प्रतिशत मात्र परिपूर्ति भएको देखिन्छ। जसमा हाल नेपालमा सरकारी फार्मेसीको तपशिल बमोजिम चुनौती रहेका छन् ।
अस्पताल फार्मेसीको आगामी योजना:
अब आउने दिनमा अस्पताल फार्मेसी कुशल रुपमा संचालनका लागि माथि उल्लेखित चुनौतीहरुलाई सामना गर्नपर्ने देखिन्छ। जसका लागि फार्मासिस्टले नेतृत्व लिनुपर्ने अवस्था छ। साथै अस्पताल प्रशासन तथा चिकित्सकहरूको दृढ इच्छाशक्ति र सहयोग तथा फार्मासिष्ट आँफैको प्राशासनिक,नियम,कानुन,खरिद एन र नियमावली ,अनलाइन टेण्डर लगायतका नयाँ कुरा ध्यानपूर्वक सिक्ने, जरुरी छ। हालको अवस्थामा अस्पताललाई आवश्यक पर्ने औषधिको छनौट र खरीद प्रक्रियालाई परिमार्जित गर्नु अति आवश्यक देखिन्छ। अन्यथा अस्पताल फार्मेसीले लक्षित सेवा दिन सक्दैन। औषधिजस्तो अत्यन्तै संवेदनशील वस्तुको खरीद प्रक्रियालाई अन्य जिन्सी सामग्रीको खरिद जस्तो जटिलताबाट सहज बनाउन पनि सरकारले पहल गर्नुपर्ने देखिन्छ। अस्पताल फार्मेसीलाई जनताको सेवाको लागि प्रतिबद्ध निकायको रूपमा जनसमुदायमा परिचित गराउन समाजका हरेक शिक्षित र सचेत नागरिकहरूको समेत भूमिका हुन्छ।
निष्कर्ष:
जनताको स्वास्थ्यजस्तो अति संवेदनशील आस्पताल फार्मेसी तथा औषधि व्यवस्थापनको क्षेत्रलाई भने प्राथमिकतामा नपारिएको जस्तो देखिन्छ। यसको सुधारका निमित्त मानकीकरण र नियमन संगठन बनाउने,मानदण्ड र निगरानीकरण गर्ने, औषधीय संचालनका लागि मानदण्डित कर्मचारीहरूको नियोजन गर्ने देखिन्छ,यसमा नेतृत्व तहमा रहेका तथा सबै सरोकारवाला संघ संगठनले यथाशीघ्र विशेष ध्यान दिनुपर्ने देखिन्छ।
(लेखक पोखरा विश्वविद्यालयमा एम फार्मा अध्ययनरत छन्।)