काठमाडौं- वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।
पुस्तकको लोकार्पण स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतका वरिष्ठ चिकित्सकहरूले गरेका हुन्।
डा रिजालको पुस्तक चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको प्रकाशक संस्थाले जानकारी दिएको छ। इटर्नल पब्लिकेसन प्रालीले प्रकाशन गरेको पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको विवेचना गरिएको छ। कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ।
पुस्तकमा डा रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
पुस्तकमा 'डाक्टर' शब्दको अर्थबोध गराउने देखि 'सेतो कोट'को शुद्धता, पवित्रता र महानतालाई चिकित्सा पेशा र समग्र मानव कल्याणका लागि कसरी जीवन्त राख्न सकिन्छ भन्नेबारे सविस्तार व्याख्या गरिएको छ। सँधै अरूलाई 'यसो गर्नुस्, त्यसो गर्नुस्' भनेर सुझाव, सल्लाह र औषधी दिइरहने डाक्टर आफू स्वयं भने कस्तो हुनुपर्छ भन्नेबारे यस पुस्तकले एउटा मानक नै तयार पारको छ।
किताबमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने ब्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे विवेचना गरिएको छ। औषधि र अस्पताललाई हेर्ने आम-दृष्टिकोणलाई पुनः परिभाषित गर्ने प्रयत्न गरिएको यस पुस्तकमा डा रिजालले नेपालको चिकित्सा क्षेत्रका बिभिन्न विधामा जग वसाएका वा महत्वपूर्ण योगदान पुऱ्याएका वरिष्ठ चिकित्सकहरूलाई समेत संझने प्रयास गरेका छन्।
आफूले चिकित्सा पेशामा लामो समयसम्म काम गर्दाका अनुपम पलहरूदेखि लिएर एउटा चिकित्सकले जीवनको वास्तविक सत्यलाई कसरी बोध गर्न सक्ला भन्ने सम्मका दार्शनिक चिन्तनलाई समेत यो पुस्तकले समेटेको छ। पुस्तकमा नर्सिङ पेशा, यसका संभावना र चुनौतीहरूका साथै नेपालको स्वास्थ्य नीतिको संक्षिप्त सिंहावलोकन पनि छ।
३७५ रूपैयाँ मूल्यको यो पुस्तकको बिक्रीबाट प्राप्त रकमको निश्चित हिस्सा समाजसेवामा लगाइने लेखकको प्रतिवद्धता छ।