मानिसको जीवनमा रङको ठूलो भूमिका छ। रङहरुअनुसार भावना परिवर्तन हुन्छन्। त्यसैले प्रत्येक रङ हाम्रो खास भावनात्मक स्थितिको द्योतक पनि हो। जोगी-संन्यासी गेरूवा रङको वस्त्र पहिरिन्छन्। युवतीहरु प्रायः गुलावी रङ मन पराउँछन्। किन? किनभने प्रत्येक रङले हाम्रो मानसिक र भावनात्मक अवस्थासित सोझो सम्बन्ध राखेको हुन्छ। त्यसैले हरेक रङका आ-आफ्नै प्रतीकात्मक अर्थ छन्। जस्तो कि, नीलो रङ शान्तिको द्योतक हो भने कालो विरोधको प्रतीक। रातो क्रान्ति र विजयको सूचक हो भने सेतो स्वच्छता र पवित्रताको। सेतो रङले हाम्रो विश्वास, भरोसा, आस्था र समर्पणलाई पनि झल्काउँछ। विवाहमा सेतो रङको अर्थ विश्वास र भरोसा' हो भने शोकमा यसले 'श्रद्धा र सम्मान' को भाव प्रकट गर्दछ।
सेतो रङको अर्थ स्वच्छ, निर्मल, नमैलिएको वा पवित्र हुने भएकैले चिकित्साक्षेत्रमा सेतो कोटको गरिमामय उपस्थिति छ। विदेशमा कतिपय अवस्थामा मेडिकल इन्स्टिच्युटमा प्रवेश गर्दा नै स्वागतका लागि विद्यार्थीलाई सेतो कोट दिइन्छ।
कतिपय कलेजले निश्चित मेडिकल तह पूरा गरेपछि विशेष समारोह आयोजना गरी दिने गर्छन्।
डाक्टरले सेतो कोट प्रयोग गर्नुको चिकित्सकीय र गैरचिकित्सकीय आधार छन्। चिकित्सकीय कारण के भने, सेतो कपडामा कुनै रसायन वा फोहोरमैला लागेको छ भने प्रस्टै देखिन्छ। सफा गर्न सजिलो हुन्छ। तर यो बाहिरी कारण मात्र हो। डाक्टरहरुले सेतो कोट प्रयोग गर्नुका गैरचिकित्सकीय कारण योभन्दा पनि अझ महत्त्वपूर्ण छ।
विदेशतिर सुरूसुरूमा डाक्टर उपाधि पाइसकेपछि एक भव्य सेतो कोट समारोह (White Coat Ceremony) हुने गर्थ्यो। आफूखुसी यो ड्रेस लगाएर हिँड्न पाइन्नथ्यो। भव्य समारोहका बीच नयाँ डाक्टरले प्रतिज्ञापत्र घोषणा गर्दै यो कोट लिन्थे। त्यसपछि मात्र आफ्नो काम सुरू गर्थे। तर नेपालमा यस्तो समारोह गरेको इतिहास भेटिन्न। यस्तो अभ्यास यहाँ आवश्यक ठानिएन वा के हो थाहा छैन। तर अहिले पनि विश्वका धेरै देशमा यो संस्कार जारी छ। यस्तो कार्यक्रमले सेतो कोट लगाउनुको दायित्व अनुभूत गराउँछ। महत्त्व बढाउँछ। र, जिम्मेवारी बोध गराउँछ। त्यसैले हामीकहाँ पनि यस्तो समारोह आयोजना गरिनुपर्छ।
सेतो कोट त्यत्तिकै पाइने र लाइने होइन। हाम्रा चिकित्सकले अहिले जसरी यो कोट लगाइरहेका छन्, त्यो सामान्य रूपमा मात्र लिइएको हो कि जस्तो देखिन्छ। अस्पतालभित्र मात्र यो कोट लगाउनुपर्नेमा कतिपय चिकित्सक र चिकित्सा शिक्षाका विद्यार्थी घरमा वा बाटोमा हिँड्दा पनि सेतो कोटमै भेटिन्छन्। यसो गर्नु सरासर गलत हो। नियमले यसो गर्न अनुमति दिएकै छैन। नियमविपरीत भए पनि आखिर यो सब किन भइरहको छ भने सबै चिकित्सकले सेतो कोटको वास्तविक महत्त्व अनुभूत गर्नै सकेका छैनन्। सायद अधिकांशले यसलाई सामान्य कपडाको रुपमा मात्र लिइरहेका छन्।
कैयौं वर्षको सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान, अथक परिश्रम, प्रतीक्षा, त्याग र लगानीपछि मात्र सेतो कोट लगाउन पाइन्छ। तर पनि यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ। उसलाई महसुस हुनुपर्छ- 'संसारका अर्बौं मानिसमध्येको एक म कति भाग्यमानी रहेछु कि मैले यो महान् कोट लगाउन पाएँ। म र मेरो कर्म यो कोटजस्तै निष्कपट, शान्त र स्वच्छ छ। सधैं त्यस्तै रहनेछ। यो सेतो रङले। जस्तै म पनि मेरा प्रत्येक बिरामीमा आशा र विश्वास जगाउन सकूँ। मेरा प्रत्येक चिकित्सकीय पाइलाहरु बिलकुलै निष्कलंक होऊन्।' जब यस्तो भाव र बुझाइले हृदय भरिन्छ, चिकित्सा पेसाको गरिमा अझ उँचो हुन्छ।
नेपालीमा उखान छ- बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड। चिकित्सा पेसाका सन्दर्भमा पनि यो सूत्रवाक्य उत्तिकै सान्दर्भिक छ। सेतो कोटलाई जसले पूर्ण गरिमाबोधका साथ पहिरिन्छ, त्यो चिकित्सक आफ्नो पेसाप्रतिको गर्व, बिरामीप्रतिको निष्ठा र समाजप्रतिको उत्तरदायित्वबाट कहिल्यै विमुख हुँदैन। जसले यसलाई एउटा औसत कपडाका रूपमा भिर्छ, ऊ न कहिल्यै पेसाप्रति सन्तुष्ट हुन्छ, न बिरामी र समाजप्रति नै जवाफदेही। त्यस्ताका लागि सेतो कोट सेवाभाव पैदा गर्ने उत्साहको स्रोत नभई स्वार्थलाई ढाकछोप गर्ने आवरण मात्र बन्छ।
चिकित्सा पेसालाई शुद्ध, पवित्र र महान् बनाई राख्न हाम्रो मुलुकमा पनि सेतो कोटको वास्तविक मर्म बुझ्नु/बुझाइनु जरूरी छ। सैद्धान्तिक, प्रयोगात्मक र वैधानिक सबै प्रक्रिया पूरा गरेपछि जब एक चिकित्सक आफ्नो कर्मक्षेत्रमा पाइला सार्न अग्रसर हुन्छ, त्यतिबेला 'ह्वाइट कोट सेरोमनी' हुन आवश्यक छ। अन्तर्राष्ट्रिय अभ्यासहरुबाट पाठ सिक्दै हामीले पनि यो संस्कार सुरू गर्नुपर्छ। यसका लागि चिकित्सा शिक्षा र यससँग सम्बद्ध संस्थाहरुले पहल गर्नुपर्छ। मेडिकल कलेज सुरू गर्दा विद्यार्थीलाई विशेष कार्यक्रम गरी छुट्टै प्रकारको सेतो कोट प्रदान गरिनुपर्छ जसले उनीहरूमा विशेष उत्साह सञ्चार गरोस्। अध्ययन पूरा गरी लाइसेन्स प्राप्त गरेपछि अझ विशिष्ट हवाइट कोट सेरेमोनी आयोजना गरिनु राम्रो हुन्छ, जसले उनीहरुमा एउटा डाक्टर बन्नुको पूर्ण जिम्मेवारीबोध गराउन सकोस्।
ह्वाइट कोट सेरोमनी यस्तो भव्य र गरिमामय होस् जहाँ नयाँ डाक्टरहरुले आफ्ना मातापिता, मान्यजन र आफन्तलाई साक्षी राखेर आफ्ना गुरूको हातबाट सेतो कोटसँगै शपथ प्राप्त गरुन्। त्यो क्षण उनीहरूका लागि जीवनकै एक त्यस्तो अद्वितीय क्षण बन्न सकोस्, जसले त्यसपछिका हरेक पलहरुमा चिकित्सकीय कर्तव्यको बोध गराइरहन सकोस्। शपथका रूपमा सबैले एउटा प्रतिज्ञा गरुन्। हाम्रा नव-चिकित्सकहरुले पनि त्यतिबेलै आफ्नो पेसागत मर्यादा र दायित्वबाट कहिल्यै विचलित नहुने स्वघोषणा गरुन्। उनीहरुले ह्दयदेखि नै बोध गरुन्- आजदेखि यो सेतो कोटमा म त्यस्तो विशेष व्यक्ति बन्न गइरहेको छु, जसमाथि मेरा बिरामीहरुले पूर्ण भरोसा गर्न सक्छन्। अनि दृढ वाचा गरुन्- आजदेखि जीवनमा मेरो पहिलो कर्तव्य भनेकै बिरामीको भलो चिताउने र त्यसैका लागि दत्तचित्त समर्पित रहने हुनेछ।
यस्तो प्रतिज्ञाले हरेक चिकित्सकलाई जीवनभर याद दिलाइरहनेछ कि, मैले आफ्नै मातापिता, गुरू र साथीभाइका साथै सारा दुनियाँको अघि अगाडि आफ्नो चिकित्सकीय दायित्वबाट कहिल्यै च्युत नहुने कसम खाएको थिएँ भनेर। यो आफूलाई आफैँले नैतिक सीमामा राखिरहने अन्तःप्रेरणाको स्रोत बन्नेछ। सेतो रङ चिकित्सका लागि रङ मात्र नभई सही अर्थमा स्वच्छता र उमंगको द्योतक बन्नेछ। यसो हुन सके चिकित्साक्षेत्रमा अहिलेदेखिका विकृति विसंगतिहरुमा पनि पक्कै कमी आउनेछ।
(वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालको हालै प्रकाशित पुस्तक 'सेतो कोट'को एक अंश।)