डेंगी रोग सार्ने लामखुट्टे हो पोथी एडीस प्रजाति |
हेर्दा टाटेपाटे बाघजस्तो, बानी नि सारै नजाती ||
प्राय: टोक्छ दिनको उज्यालो समय रोजेर |
अण्डा पार्ने गर्छ यसले सफा पानी खोजेर ||
भाँडाकुँडा तथा टायर आदिमा पानी जम्न नदिऔं |
हरेक तीन दिनमा गमला कुलरको पानी बदलौं ||
आफ्नो घर अफिस अनि सार्वजनिक स्थान |
पानी जम्न नदिनलाई पु-याऔं पूरा ध्यान ||
डेंगी रोग लाग्नबाट बच्नको लागि उपयुक्त उपाय |
केही छैन लामखुट्टेको टोकाईबाट बच्नु सिबाय ||
झ्याल ढोकामा जाली हालौं, झूलभित्र सुतौ है |
सकेसम्म शरीर ढाक्ने लुगा मात्र लगाऔं है ||
एक्कासी उच्च ज्वरो आएमा जोर्नी मासु दुखेमा |
नजिकैको स्वास्थ्यसंस्था जानुपर्छ शंका लागेमा ||
जथाभावी औषधी खानुहुन्न यो कुरा जानौ है |
स्वास्थ्यकर्मीले भनेको मात्र सल्लाह मानौ है ||
डेंगीविरुद्धको साझा लडाइँमा सबैजना जुट्नुछ |
परिवार अनि समुदाय जागरुक भई उठ्नु छ ||
सत्य जानकारी प्रदान गरी सचेतना जगाऔं|
मान्छेदेखि लामखुट्टेलाई सधै टाढा भगाऔ ||
खोजीखोजी नष्ट गरौ लामखुट्टेको वासस्थान|
सम्भावित सबै ठाउँको गरेर सही पहिचान||
सफल पारौं सबैले दिई आ-आफ्नो योगदान |
“खोज र नष्ट गर”जनस्वास्थ्य अभियान ||
-कपिल गौतम
बुटवल-११, कालिकानगर, रुपन्देही