निमोठ हाम्रा कानहरु
न्याँकिदेऊ हाम्रा गर्धनहरु
वर्षाइदेऊ तिम्रा बलिष्ठ मुक्काहरु
सक्छौ भने,
रोपिदेऊ भालाहरु हाम्रा छातीमाथि
धसिदेऊ छुराहरु हाम्रा पेटमाथि
अझ सक्छौ भने,
कञ्चटै ताकेर, दागिदेऊ न एक थान गोली हामीमाथि
किनकि,
तिम्रा सेवा गरेर हामीले ठूलो अपराध गरेका छौं
तिम्री आमाको सुरक्षित प्रसूति नगराएको भए
तिमी सानो छँदा, तिम्री आमालाई पोषिलो खुवाउन नसिकाएको भए
तिमीलाई रोग विरुद्ध लड्न खोपहरु नलगाइदिएको भए
तिमीलाई पोलियो, भिटामिन ए र जुकाको औषधि नदिएको भए
तिमी सानो छँदा पखाला र निमोनियाले ग्रस्त हुँदा उपचार नगरेको भए
अल्लि अस्तिनै तिमी बिरामी हुँदा, म आफैंले रगत नदिएको भए
तिमी पटकपटक बिरामी हुँदा उपचार गरेर स्वस्थ नबनाएको भए
हिजो जनयुद्धको समयमा होस् या कोभिड महामारीमा
गाउँगाउँ गएर तिम्रो सेवा नगरेको भए
आज तिम्रा, बलिष्ठ पाखुराले, हाम्रो कठालो समातेर
तिम्रा मुक्काहरु, हाम्रा अनुहार क्षतबिक्षत हुने गरी
हामीमाथि बज्रने त थिएन,
हो हामी अपराधी हौँ
हामीले तिम्रा सेवा गरेर ठूलो अपराध गरेका छौं
मेरो बिन्ती! सक्छौ भने हाम्रो कन्चटमा एकथान गोली दागिदेऊ न।
(अधिकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका जनस्वास्थ्य निरीक्षक हुन्।)