काठमाडौं- नेपालमा बहिरोपनको समस्या रोकथामका लागि काम गर्दै आएको सामाजिक संस्था इएर केयर नेपालले आफ्नो दशौँ वार्षिकोत्सब मनाएको छ।
इएर केयर नेपालले कानको सुरक्षा कसरी गर्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा बोल्दै इएर केयर नेपालकी संस्थापक अध्यक्ष डा मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न नपर्ने बताइन्।
उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशतभन्दा बढी बहिरोपना रहेको भन्दै जनचेतना र उचित प्राथमिक उपचारद्धारा यो समस्या रोकथाम गर्न सकिने बताइन्। त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले एयर केयर नेपालको मुख्य उदेश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए। उनले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डा मिलनको संघर्षको प्रशंसा गरेका थिए। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन्। डा पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए।
संस्थाले सरकारी स्कुलहरुमा कान परीक्षणको लागि स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ। जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन्। कानको जटिल समस्या भएका बालबालिकाहरुको कानको शल्यक्रिया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ। यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ।