सन् २०१२ देखि विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो। सन् १८९५ मा नै एक्सरेको विकास वैज्ञानिक विल्हेल्म रोईन्टेनले गरेका भएपनि सन् २०१२ देखि मात्रै विश्व रेडियोलोजी दिवस मनाउन थालिएको हो।
यस वर्षको रेडियोलोजी दिवस ११ औ रेडियोलोजी दिवस हो। यस वर्षको रेडियोलोजी दिवस सेलेब्रेटिङ प्यासेन सेफ्टी भन्ने मुल नाराका साथ मनाइने भएको छ। नेपालका सबै अस्पतालहरुमा कार्यरत रेडियोलोजिष्टहरु एकै स्थानमा जम्मा भएर यो दिवस मनाउन नसकेपनि जो जहाँ छौं त्यही नै दिवस मनाउन हामी लागिरहेका छौं।
वीर अस्पतालले भने एक कार्यक्रम गरेर यो दिवस मनाउन गइरहेको छ। नेपाल रेडियोलोजिस्ट एशोसिएसनको केन्द्रीय कमिटी मात्रै भएको अवस्थामा यही विश्व रेडियोलोजी दिवसका अवसरमा प्रदेशहरुमा समेत एक कमिटी बनाउने छलफल केही समय अगाडि हामीले गरेका थियौं।
त्यसै अनुरुप प्रदेश १ का रेडियोलोजिष्टहरुको एउटा कमिटी भोली हामीले बनाउने भएका छौं। अस्पताल अनुसार रेडियोलिस्टहरुले आफ्नो हिसाबले विश्व रेडियोलोजी दिवस मनाउने भएका छन्।
के हो रेडियोलोजी सेवा?
चिकित्सा शास्त्रका अन्य विधाहरु जस्तै रेडियोलोजी पनि एक महत्वपूर्ण विधा हो। विश्वमा एक्सरे सेवाको विकास भएसँगै रेडियोलोजी सेवाको पनि विकास भएको हो। यस विधामा शरीरका विभिन्न अंगहरुको छाया लिने काम हुन्छ। उक्त छायाको माध्यमबाट विभिन्न प्रकारका रोगहरुको उपचार गर्ने काम रेडियोलोजी सेवाले गर्छ। चिकित्सा शास्त्रमा पछिल्लो समय रेडियोलोजी एकदमै उदयमान विधाका रुपमा विकसित भएको छ।
हाल एक्सरे सेवामा मात्रै सीमित नभई सिटी एमआरआई अल्टा्रसाउन्ड लगायतमा समेत विकास भएको अवस्था छ। हाल इन्टरभेन्सन रेडियोलोजीको माध्यमबाट कतिपय रोगको पहिचान मात्रै नभई उपचार समेत गर्ने गरिन्छ।
नेपालमा रेडियोलोजी सेवाको वर्तमान अवस्था
नेपालमा रेडियोलोजी सेवा विस्तार सकारात्मक रुपमा भइरहेको छ। यद्यपि नेपालका रेडियोलोजिष्टहरु शहर केन्द्रित भएका छन्। रेडियोलोजी सेवालाई दुर्गम तथा दुरदराजमा अझै पनि विस्तार गर्न सकिएको छैन। कतिपय स्थानहरुमा दरबन्दी तथा कतिपयमा पर्याप्त उपकरणको अभावका कारण नेपालमा रेडियोलोजी सेवालाई दुरदराजमा विस्तार गर्न नसकिएको हो।
हाल नेपालमा करिब ७ सयको संख्यामा रेडियोलोजिष्टहरु उत्पादन भइसकेको अवस्था छ। यद्यपि अधिकांश शहरी क्षेत्रहरु काठमाडौं, पोखरा, भरतपुर , विराटनगर जस्ता मुख्य सहरहरुमा मात्रै कार्यरत रहेका छन्।
शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु अन्य विधाले पत्ता लगाउन नसक्ने भएकोले चिकित्सा शास्त्रमा रेडियोलोजीको विकास भएको हो। कलेजो, फोक्सो, मिर्गौला लगायतका अंगहरुमा भएका भित्री रोगहरुको पहिचानका लागि सिटीस्क्यान तथा एमआरआईको महत्व रहेको छ। रेडियोलोजीले रोगको पहिचान गरे पश्चात् मात्रै त्यसको उपचार हुनेगर्छ।
हाल इन्टरभेन्सन रेडियोलोजीको माध्यमबाट केही रोगहरुको उपचार समेत हुने गरेको छ। यदि कलेजोमा पीप जम्मा भएको छ भने त्यसलाई निकाल्ने , बायप्सी गर्ने लगायतका कामहरु हाल रेडियोलोजी सेवाको माध्यमबाट समेत हुने गरेको छ। यसअन्तर्गत कुनै चिरफार बिना नशामा प्वाल पारेर उपचार गर्ने गरिन्छ।
हाल चिकित्सा क्षेत्रमा लाग्नेहरुका लागि यो एक आकर्षक विधाका रुपमा सफल भएको छ।
नेपालमा रेडियोलोजी सेवा बारेका जनचेतनामा विस्तार गर्नका लागि यो दिवस मनाउन आवश्यक छ। यसले रेडियोलोजिष्टहरु बीच एकरुपता कायम गर्नका लागि पनि सहयोग गर्छ भन्ने मलाई लाग्छ। यसले पछिल्लो समय चिकित्सा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ।
रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरूद्वारा उपचार हुने भएकोले मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि यसको महत्व दिनहुँ बढिरहेको छ।
(कन्सल्टेन्ट रेडियोलोजिष्ट शर्मा वीर अस्पतालमा कार्यरत छन्।)