एकदिन त जरूर ढल्नेछन् दिवारहरू
भत्कनेछन् किल्लाहरू
तोडिनेछ्न अहंकारहरू
दासताका सीमारेखाहरू नाघेर
एकदिन त कसैले
फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
एकदिन त बोल्नेछन्
मुर्दाघरका लासहरू पनि
मन्दिरबाट मूर्तिहरू निक्लनेछन्
सडकमा सालिकहरू दौडनेछन्
तिम्रा पापको प्रायश्चित गराउन
एकदिन त जुरूक्क इतिहासको पानाबाट उठेर
मन्डेलाहरू आउनेछन्
एकदिन त पत्थरहरू पनि पग्लनेछन्
धातुहरू सब गल्नेछन्
खरानी हुनेछन् स्वर्णिम लंकाहरू
रगत पसिना चुसेर खडा गरिएका
तिम्रा साम्राज्यहरू
एकदिन त सब नामेट हुनेछन् !
एकदिन त मरूभूमि पनि रसाउनेछ
पहाड फोरेर पनि खोल्साहरू निस्कनेछन्
एकदिन त कमिलाहरूले पनि हात्तीलाई लडाउनेछन्
सहदा-सहदा-सहदा जुग बितिगो
ए दास हो
एकदिन त जरूर तिमीहरूको पनि मुठी कसिदो हो !
एकदिन त बिउँझिनेछन् पिरामिड भित्रका मम्मीहरू पनि
खरानीबाट पुन: उठ्नेछन् फिनिक्स चराहरू
समाधी त्यागेर नै फर्कनेछन् योगमायाहरू
मैले आज सकिन त के भयो
एकदिन कसैले त जरूर सक्नेछ
एकदिन कसैले त जरूर जित्नेछ !
हेर्दै जाओ ए दासहरू हो
तिमिहरूको बोली बोलिदिन
एकदिन त जरूर कोही आउँनेछ !
(काठमाडौं मेडिकल कलेजका आवासीय चिकित्सक डा विशद दाहाललाई सहकर्मीहरुमाथि भइरहेको अत्याचारबिरुद्ध बोल्दा कलेजले एक महिनाका लागि निलम्बन गरिदिएको छ। सत्यका पक्षमा उभिदा हुने सम्भावित क्षतिको प्रवाह नगरी उनी लडिरहेका छन्।)