प्राडा राजीव झा अहिले नेपालकै ठूलो चिकित्सालय मध्ये एक वीर अस्पतालको न्युरोसर्जरी विभागको नेतृत्व गरिरहेका छन्। उनी आफैंले जनरल र न्युरोगरी १७ हजारको सर्जरी गरिसकेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा न्युरोसर्जरीको प्राध्यापक समेत रहेका डा झासँग अध्ययन गरेर आधा दर्जन नयाँ न्युरोसर्जन समेत उत्पादन भइसकेका छन्।
न्युरोसर्जनहरुमा हालका गिनेचुनेका मध्ये पर्ने उनी आफ्नै रुचिले यो क्षेत्रमा आइपुगेका भने होइनन्। बरु उनी त न्युरोसर्जरीबाट तर्किन पो खोजिरहेका थिए कुनैबेला।
न्युरोसर्जनमा सम्मानका साथ नाम लिइने डा उपेन्द्र देवकोटा (स्वर्गीय)ले उनमा रहेको क्षमताको परख गरे। वीरमा मेडिकल अधिकृतका रुपमा काम गरिरहेका उनलाई एकदिन आकस्मिक रुपमा पत्र आयो- अबदेखि न्युरोसर्जरी विभागमा काम गर्नू।
डा देवकोटासँग उनको आकस्मिक विभागमा भेट भइसकेको थियो। स्वभावले कडा तर सिक्न उत्प्रेरित गरिरहने डा देवकोटा अन्तर्गत रहेर काम गर्ने हिम्मत डा झाले जुटाउन सकेनन्। न्युरोसर्जरी विभागको नेतृत्व डा देवकोटाले नै गरिरहेका थिए। डा झा उक्त पत्र लिएर तत्कालीन निर्देशक डा दामोदर पोखरेलकहाँ पुगे। उनले एउटै अनुनय गरे, 'मलाई न्युरो सर्जरी विभागमा नलगियोस्।'
डा पोखरेलको जवाफ थियो, 'यस्तो अनुरोध मलाई होइन, डा देवकोटालाई भेटेर गर्नु। उहाँले सहमति दिएपछि पत्र फिर्ता गरौंला।' डा देवकोटाले सम्भावित न्युरोसर्जनको खुबी देखेकोमा खुशी हुनु कि उहाँको अन्तर्गत रहँदा आइलाग्ने चुनौती सामना गर्नु भन्ने दोधारमा पुगे डा झा। अब उनीसँग दुईटा विकल्प थियो- राजीनामा गरेर वीर अस्पतालबाटै निस्किने वा डा देवकोटा अन्तर्गत रहेर काम गर्ने। डा झाले दोस्रो विकल्प रोजे।
उनी भन्छन्, 'त्यतिबेला वीर अस्पतालको न्युरो विभागमा रहेका डा देवकोटा मात्रै होइन, डा गोपाल रमण शर्मा, डा प्रकाश विष्ट लगायतका डाक्टरहरु २४ सै घन्टा जस्तो शल्यक्रियामा व्यस्त हुनु भएको मैले पाएको थिएँ। मैले न्युरो सर्जरीमा सेवा सुरु गर्दा नेपालमा मुस्किलले १४, १५ जना मात्रै न्युरो सर्जन हुनुहुन्थ्यो।'
डा देवकोटाको जिम्मेवारी बहन गर्ने क्षमता तथा आफू कार्यरत विभागलाई अब्बल बनाउने खुबीबाट आफू निकै प्रभावित भएको उनी बताउँछन्।
मेडिकल अफिसरको रुपमा उनले त्यहाँ एक वर्ष बिताए। त्यसपछि डा देवकोटाले नै उनलाई न्युरोसर्जरीतिर अघि बढ्न सुझाए।
'डा देवकोटाजस्तो उच्च छवि भएका सिद्धहस्त सर्जनले नै न्युरो सर्जन बन्नका लागि उत्प्रेरित गरेपछि म पछि हट्ने कुरै भएन,' उनले भने, 'उहाँले दिनुभएको सुझावले मलाई न्युरोसर्जन बन्नका लागि ठूलो आत्मविश्वास पैदा भयो। मेडिकल अफिसरको रुपमा न्युरो सर्जरी विभागमा कार्यरत हुँदा समेत मैले न्युरो सर्जन नै बन्ने निधो भने गरेको थिइनँ।'
जनरल सर्जरीमा एमडी गरेकाहरुले मात्रै विशिष्टिकृत रुपमा कुनै पनि सर्जनका रुपमा काम गर्न पाउने व्यवस्था नेपालमा छ। तीन वर्ष जनरल सर्जरी पास गरिसकेपछि न्युरो सर्जन बन्नका लागि थप १ वर्षको अध्ययन आवश्यक पर्ने गर्छ।
डा झाले पहिले जनरल सर्जरीका लागि तीन वर्षे कोर्स गरे। जनरल सर्जनका रुपमा न्युरोसर्जरी विभागमा काम गरेको २ वर्षपछि उनले न्युरोसर्जनका लागि परीक्षा दिए। उक्त परीक्षामा सफल भएसँगै एमबीबीएस सकिएको १२ वर्ष पछि उनी वैधानिक रुपमा न्युरोसर्जन बने।
उनी जुन अस्पतालमा इन्टर्न डाक्टरका रुपमा प्रवेश गरेका थिए। त्यही अस्पतालको विभागीय प्रमुख छन् अहिले। 'एक किसिमले भन्नुपर्दा म आफूलाई भाग्यमानी ठान्छु। जुन अस्पतालमा मैलै इन्टर्नसिप गरेँ, त्यही अस्पतालको न्युरोसर्जरी विभागाको प्रमुखको रुपमा हाल कार्यरत छु,' उनले भने।
चिकित्सा क्षेत्रमा इन्टर्नसिपको समय एकदमै महत्वपूर्ण रहेको उनी बताउँछन्। किनभने त्यही समयमा चिकित्सकले आफ्नो रुचि र क्षमताको आधारमा कुन क्षेत्रमा लाग्ने भन्ने निर्णय गर्ने गर्छ।
000
महोत्तरीको जलेश्वरस्थित सुरियाहीमा २०२८ सालमा जन्मिएका झा मेधावी विद्यार्थीमा पर्थे। त्योबेलाका मेधावी विद्यार्थीसँग जम्मा दुई विकल्प थिए- डाक्टर वा इन्जिनियर। 'हामी दुई दाजुभाइ। हाम्रो बुवाको सपना थियो- एकजना डाक्टर बनोस् र अर्को इन्जिनियर। हाम्रो बाल मनोविज्ञानमा समेत उहाँहरुले त्यसरी प्रभाव पारिदिनु भएको थियो। जसअनुसार बच्चादेखि नै मलाई आफू डाक्टर नै बन्नुपर्छ भन्ने लाग्यो,' उनी सम्झन्छन्।
त्यतिबेलामा चिकित्सा शिक्षा अध्ययनका लागि नेपालमा त्रिव चिकित्सा शास्त्र संस्थान (आइओएम) बाहेक अर्को मेडिकल कलेज थिएन। 'त्यहाँ जम्मा १५ वटा सिटमा चिकित्सा शास्त्र पढाइ हुने गर्थ्यो,' डा झाले भने।
त्यसपछि चिकित्सा शास्त्र अध्ययनका लागि त्यतिबेला नेपालीहरुको दोस्रो रोजाइका देश रसिया र बंगलादेश थिए। उनी भने रशियातिर लागे।
बंगलादेशको तुलना रसिया सस्तो भएकोले धेरै विद्यार्थीहरु रसिया जाने गर्थे । त्यसैकारण उनी पनि रसिया पुगेका हुन्।
अध्ययन सकिएलगतै नेपालमै सेवा गर्नुपर्छ भन्ने मनसायले उनी नेपाल आए। नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट करिब एक वर्षको इन्टर्नसिप गरे। 'त्यसको भोलिपल्टबाटै वीर अस्पतालमै मेडिकल अधिकृतका रुपमा काम सुरु गरें । वीर अस्पतालको तत्कालीन निर्देशक डा मनोहर लाल श्रेष्ठले मलाई मेडिकल अधिकृतका रुपमा काम गर्नका लागि सिफारिस गर्नुभयो,' उनले सम्झिए।
वीर अस्पताल प्रवेशको पहिलो सिढी त्यही थियो। 'मेडिकल अफिसरका रुपमा काम गर्न सुरु गरेसँगै उनले हाडजोर्नी विभाग, जनरल सर्जरी तथा आवश्यक परेको समयमा आकस्मिक विभागमा समेत काम गरेका थिएँ। त्यतिबेला वीर अस्पतालको आकस्मिक विभागको नेतृत्व डा उपेन्द्र देवकोटाले गर्नुभएको थियो । उहाँसँग मेरो त्यहीँ राम्रोसँग चिनजान भयो,' उनले भने।
'आजसम्म न्युरो सर्जरीको मात्रै कुरा गर्ने हो भने मैले करिब १७ हजारलाई शल्यक्रिया सेवा दिएँ,' उनको दाबी छ। चिकित्सा पेशामा हरेक दिन सम्झन लायका घटनाहरु हुने उनको बुझाइ छ।
'जटिल अवस्थामा आएका बिरामीहरु निको भएर घर जाँदा त्यस्तो सम्झनाले आनन्दित बनाइदिने गर्छ। तर कतिपय अवस्थामा सर्जरी पश्चात् नसोचेको मानिसको मृत्यु हुँदाको घटनाले लामो समयसम्म पनि सताउने गर्छ,' सर्जरी पेशाका सुखदु:ख बताए।
कुनै पनि काममा दैनिक जस्तो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। हाल वीर अस्पतालको न्युरो सर्जरी विभागको प्रमुख तथा प्राध्यापक हुँदासमेत दैनिक जस्तो पेशागत जीवनमा चुनौती आउने गरेको उनी बताउँछन्।
'हाल अस्पताल व्यवस्थापनको चुनौती छ। वीर अस्पतालमा न्युरो सर्जरी सेवा हामीले किन छिटो छरितो तथा सहज रुपमा दिन सकिरहेका छैनौं भन्ने चुनौती अहिले रहेको छ,' उनले भने।
कतिपय न्युरो सम्बन्धि सेवाहरु हालसम्म हामीले वीर अस्पतालमा ल्याउन नसकेको उनी बताउँछन्। ती सेवाहरु समेत सुरु गर्ने उनको लक्ष्य छ।
केही समय अगाडि विदेशिने नर्सहरुको जमात ठूलो थियो । पछिल्लो समय चिकित्सहरु समेत विदेशिने लहर नै चलेको छ । योग्यता अनुसारको अवसर नपाएकै कारण विशेषज्ञता हांसिल गरेका चिकित्सकहरु समेत विदेशिने क्रम बढेको उनको बुझाइ छ।
नेपालमा रहेका झन्डै ३ करोडलाई न्युरोसर्जरीको सेवा सरकारी अस्पतालबाट दिनेको संख्या न्युन छ । त्यसमा पनि केही न्युरोसर्जन विदेशिने लाइनमा देखिरहेका छन् उनी। यसलाई रोक्नुपर्ने उनको मत छ। 'यस्ता कुरामा सरकार गम्भीर हुन नसक्दा नेपालले स्वास्थ्य क्षेत्रले विकराल अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ,' उनको बुझाइ छ, 'डाक्टर पलायनको संख्या बढ्दै जानु तथा डाक्टर पढ्नेको संख्या कम हुँदै जानुले स्वास्थ्य क्षेत्र संकटोन्मुख रहेको देखिन थालेको छ।'