काठमाडौं- नर्सिङ शिक्षाका विषयमा अध्ययन गरी सुझाव पेश गर्न गठित कार्यदलले एक सय शय्या वा त्योभन्दा माथिका सरकारी अस्पतालमा न्यूनतम मापदण्ड पूरा गरेको अवस्थामा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित हुने सुझाव दिएको छ।
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
'प्रमाणपत्र तह नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यानमा राख्दै नर्सिङ कार्यक्रमको लागि शिक्षण नभएका १०० शय्या वा सोभन्दा माथिका सरकारी अस्पतालमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम न्यूनतम मापदण्ड पूरा गरेको अवस्थामा सञ्चालन गर्न उचित देखिन्छ,' कार्यदलको प्रतिवेदनमा भनिएको छ।
कार्यदलको प्रतिवेदन आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ। प्रतिवेदनले दिएका सुझावअनुसार काम अगाडि बढाउन प्रधानमन्त्री दाहालले ९ गते शुक्रबार बसेको आयोगको १३औं बैठकमा आयोगलाई निर्देशन समेत दिइसकेका छन्।
आयोगको गत कात्तिक २१ गतेको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको नर्सिङ निर्देशक प्राडा कुन्तादेवी पुनको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।
कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा सरला केसी, महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा मुना राना, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख सह प्रा बन्दना थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव हिराकुमारी निरौला सदस्य थिए भने चिकित्सा शिक्षा आयोगकी अस्पताल नर्सिङ प्रशासक भारती शर्मा सदस्य सचिव थिइन्।
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले पनि एक सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ लगायतका कार्यक्रम सुरु गर्न माग गरेका छन्। केही समयअघि स्वास्थ्य मन्त्रालयले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाएको थियो। मन्त्रालयले शिक्षा मन्त्रालयमा पत्र पठाउँदै उक्त विषयमा राय माग गरको थियो। शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदमा पत्र पठाएको थियो। परिषदले शिक्षा मन्त्रालय मारंपत स्वास्थ्यमा पठाएको पत्रमा सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम चलाउन सकिने राय दिएको छ। सोही आधारमा स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव समेत पठाइसकेको छ।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुसँग कलेज चलाउने विषयमा आवश्यक विवरण समेत माग गरेको थियो। सोही आधारमा एक दर्जनजति अस्पतालले नर्सिङ कार्यक्रम चलाउन सकिने र त्यसका लागि आवश्यक पर्ने विषयको जानकारी दिएका थिए।
सरकारी अस्पतालमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आइरहेको छ। चिकित्सा शिक्षा अन्तर्गतका धेरै कार्यक्रमहरु सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत चलिरहेका छन्।
यो पनि:
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने