काठमाडौं- टी २० विश्वकफ क्रिकेटको फाइनल स्पर्धा शनिबार राति हुँदैछ। फाइनलमा भारत र अफ्रिका भिड्दैछन्। लामो समयको प्रतिक्षापछि अन्तर्राष्ट्रिय उपाधि जित्न अपेक्षामा रहेको भारतका लागि महत्वपूर्ण खेलाडी छन् ऋषभ पन्त।
जसले मृत्युशैय्याबाट फर्किएको हुन् भन्ने कुरा नै बिर्साएका छन्। किनभने उनले भारतलाई फाइनलमा पुर्याउन ब्याटिङ र विकेटकिपिङ दुबैबाट महत्वपूर्ण योगदान गरिरहेका छन्। फाइनल प्रतिष्पर्धामा पनि उनको लय भारतका लागि निर्णायक हुन सक्छ।
सानै उमेरमा ठूलो सफलता हासिल गरेका उनी भारतका लागि अर्को पुस्ताका ‘धोनी‘ थिए। धोनीबाट प्रभावित र उनीसँगै क्रिकेट सीप सिकेका पन्तले भारतमा अर्को पुस्ताका क्रिकेटको नेतृत्व गर्ने क्रिकेट विश्लेशक बताइरहेका थिए। उनले भारतका लागि तिनै फर्म्याट (टी–२०, एकदिवसीय र टेस्ट)मा खेलिसकेका थिए।
भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे। दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर्यो । र उनी नराम्ररी घाइते भए।
दुर्घटना यति भयानक थियो कि उनी सवार कार एकछिनमा ह्वारह्वार्ती बल्न थालेको थियो। उनको अहोभाग्य, सोही बाटोबाट गइरहेका बस चालक र ड्राइभरले बाहिर निकालेर समयमै अस्पतालसम्म पुर्याए।
गम्भीर घाइते ऋषभ निकै दिनसम्म अस्पतालमा भर्ना भए। धेरैवटा सर्जरी गरिए। त्यसपछि पनि उनी लामो समय चिकित्सकको निगरानीमा रहे। ऋषभले अनपेक्षित रुपमा आफूलाई निको बनाउँदै लगे। उनको जुन दोस्रो जीवन भन्दा कम थिएन।
उनलाई घाइते अवस्थामा देख्नेहरुले फेरि मैदानमा फर्किने झिनो आशासमेत राखेका थिएनन्। उनको जीवन जोगिने कुरामा शंका रहेको समयमा क्रिकेट खेल्न सक्ने अपेक्षा स्वभाविक पनि थिएन। चोट निको भएपछि उनी १४ महिना रिह्याब प्रोसेसबाट गुज्रे। लामो जाँच, चिकित्सकीय निगरानीपछि उनी यही सिजनको आइपीएलबाट मैदानमा फर्किएका हुन्। आइपीएलमा उनको शानदार पुनरागमन देखेर विश्वकपको टोलीमा स्थान दिइएको हो। जहाँ उनले छनोटकर्तालाई निराश हुन दिएका छैनन्।