ग्यास्टिक भनेर हजुरहरु धेरैजनाले आयुर्वेदको धुलो औषधि विभिन्न सरकारी तथा निजी आयुर्वेद फार्मेसिहरुबाट प्रयोग गर्नु भएको छ होला। कहिल्यै ती औषधिहरुले कसरी काम गर्दछन्। केबाट बनेका हुन्छन् ती औषधिहरुको साइड इफेक्ट छ कि छैन भनेर सोच्नु भएको छ? आज म ती आयुर्वेद औषधिहरुका वारेमा बिस्तारमा चर्चा गर्न जाँदै छु।
खासमा ग्यास्टिक के हो त?
सामान्य चलनचल्तिको भाषामा ग्यास्टिक भनिएता पनि ग्यास्टिक भनेको ग्यास्ट्राइटिस हो। ग्यास्ट्राइटिस भनेको आमाशयको भित्रि पत्र वा म्युकोजल लेयरको इन्फ्लामेसन भएर उत्पन्न हुने समस्या हो। उक्त इन्फ्लामेसनको लागि हाम्रो पेटमा खाना पाचनको लागि उत्पादन हुने हाइड्रोक्लोरिक एसिडको मुख्यरुपमा भुमिका रहने गर्दछ। आयुर्वेदका पुराना ग्रन्थ संहिताहरुमा हामीले ग्यास्टिक भनेर चिन्ने रोगलाई अम्लपित्त भनेर वर्णन गरिएको छ। संहिताहरुमा अम्लपित्तको कारणहरु , प्रकारहरु , सम्प्राप्ति , उपद्रव र उपचारको बिस्तारमा वर्णन पाईन्छ।
ग्यास्टिकमा दिइने आयुर्वेदिक धुलो औषधि के-के हुन्?
सामान्यतया सरकारी आयुर्वेद औषधालयहरुमा ग्यास्टिकका लागि भनेर दिइने आयुर्वेदका चुर्ण औषधिहरु अविपत्तिकर चुर्ण त्रिफला चुर्ण हिंवाष्टक चुर्ण आदि औषधिहरु हुन्छन्। सरकारी औषधालयमा औषधि खरिदको सिमा र बजेटको अभावका कारणले धेरै प्रकारका औषधिहरु खासै नियमितरूपमा उपलब्ध नहुन पनि सक्छन्। निजी तवरका क्लिनिक फार्मेसीहरुमा विभिन्न सास्त्रोक्त चुर्ण , भष्म , पिष्टि , रस रसायन , लौह , आसव अरिष्ट, क्वाथका साथसाथै विभिन्न पेटेन्ट औषधिहरुको उपलब्धता हुने गर्दछ।
ती औषधिले कसरी काम गर्छ?
माथि उल्लेख गरिएको हाइड्रोक्लोरिक एसिड खाना पाचनका लागि आवश्यक हुन्छ। कुनै कारणबाट उक्त एसिडको उत्पादन बढी वा कम भएमा ग्यास्टिकका विभिन्न लक्षण बिरामीको अवस्था अनुसार देखिन थाल्दछ। धेरै जसो एलोपेथिक औषधिहरुको काम हाइड्रोक्लोरिक एसिडको उत्पादन न्यून राख्नु वा बन्द गर्नु हुन्छ। तर आयुर्वेद औषधिहरुले उक्त एसिडको उत्पादन बन्द नगरि जति मात्रामा खाना पाचनको लागि चाहिन्छ वा कुन समयमा एसिड उत्पादन हुनुपर्नेछ त्यस समयमा मात्रै एसिड उत्पादन हुने गरि एसिड उत्पादनलाई नियन्त्रित र नियमित गराऊदछन्। उक्त आयुर्वेद औषधिहरुमा पाचनका लागि पनि विषेश ध्यानमा राखेर जडिबुटीहरु मिसाइएको हुन्छ सोही कारणले पिडित बिरामीको पाचन क्षमता पनि बढ्दै जान्छ।
के ग्यास्टिकका आयुर्वेद औषधि साईड ईफेक्ट रहित नै हुन्छ त?
जनमानसमा आयुर्वेदिक भन्ने बित्तिकै साइड इफेक्ट हुदैन भन्ने चलन छ। तर यो कुरा पुर्णतः सत्य भने होइन तुलनात्मक रुपमा कम दुष्प्रभाव हुने भएता पनि सहि तरिकाबाट चिकित्सकको परामर्श बिना औषधि सेवन गर्दा घातक खालका साईड इफेक्ट पनि देखिन सक्छ। तसर्थ ग्यास्टिकका लागि भनेर आयुर्वेदिक औषधि सेवन गर्नुपुर्व आयुर्वेदिक डाक्टरसँग कुन औषधि कति मात्रामा केसँग मिसाएर कति समय सेवन गर्ने भन्ने विषयमा परामर्श लिनु अत्यन्त जरुरि हुन्छ।
सबै चिकित्सा पद्धतिको मुख्य उदेश्य नै रोगबाट मानवलाई मुक्त गराउने नै हुन्छ। आयुर्वेदमा रोग लाग्न नदिने स्वास्थ्य रक्षा गर्नुपर्ने कुराको बारेमा बढी वकालत गरिएको पाइन्छ। विभिन्न आहार तथा कर्महरु समय र ऋतु अनुसार र व्यक्तिको उमेर बल र अग्निबल अनुसार गर्नुपर्नेमा मुख्य रुपमा जोड दिइएको छ। हामीले हाम्रो खाना र कर्महरु आयुर्वेद सम्मत बनाउन सक्ने हो भने हामी ग्यास्टिक र पेटको रोग मात्रै नभई अन्य विभिन्न जटिल र दीर्घ रोगहरुबाट बच्न सक्छौं।