सृष्टिको क्रमिक विकासको यात्राभरि कुनै न कुनै रोगको शिकार हुँदै आएको छ, मानव। चाहे त्यो शरीरसँग सम्बन्धित होस्, मनसँग होस् वा दुवैसँग। धेरै रोगहरू विलुप्त भइसकेका छन् भने धेरै नयाँ रोगहरू अस्तित्वमा आएका छन्।
विज्ञान र प्रविधिको प्रगतिसँगै मानिस केवल मनोसामाजिक रोगहरू मात्रै होइन, धेरै तनावसँग सम्बन्धित रोगहरू, संक्रामक रोगहरू, प्रतिरक्षा विकृतिजन्य रोगहरू, मेटाबोलिक रोगहरू र व्यावसायिक रोगहरूको पनि शिकार भएको छ। रोगको प्रकृति जस्तोसुकै भए पनि आयुर्वेदमा यी सबै रोगहरूको व्याख्या शारीरिक दोष (वात, पित्त, कफ) र मानसिक दोषहरू (रज, तम) को संलग्नताका आधारमा गर्न सकिन्छ र विभिन्न हेतु (कारक तत्व) को विश्लेषण गरी उपचारको योजना बनाइन्छ। उपचार गर्दा तीन प्रकारका विधिहरू अपनाइन्छ- युक्तिव्यपाश्रय (औषधि, पञ्चकर्म, आहार, विहारको प्रयोग), दैवव्यपाश्रय र सत्वावजय चिकित्सा (मनमाथि विजय प्राप्तिको उपचार विधि)।
आयुर्वेद अथर्ववेदको उपवेद भएको हुँदा दैवव्यपाश्रय चिकित्सा (दैवी चिकित्सा) को महत्वलाई जोड दिइएको छ जसले आत्मालाई ब्रह्माण्डीय उर्जासँग जोड्छ।यद्यपि सामान्य अभ्यासमा यो अझै पनि प्रचलित छ, चिकित्सकहरूद्वारा यो धेरै अभ्यास गरिँदैन। धेरै अवस्थामा, हामी हाम्रा विगतका कर्महरू, पूर्वजन्मका कर्महरूको नकारात्मक असरहरू केवल औषधिबाट मात्र निको हुँदैन भन्ने मान्यता राख्छौं। यस्तो अवस्थामा, यी विधिहरूले व्यक्तिलाई आत्मविश्वास पुनःनिर्माण गर्न मद्दत गर्छन्।
दैवव्यपाश्रय चिकित्सा अन्तर्गत धेरै विधिहरूको उल्लेख गरिएको छ। जस्तै, मन्त्र, औषधि, धारणा, मणि धारण, मङ्गल, बलि, उपहार, स्वस्त्यायन, उपवास, प्रायश्चित, आदि। परम्परागत रूपमा अभ्यास गरिएका दैवव्यपाश्रयका उपरोक्त विधिहरू आज पनि सान्दर्भिक छन् र तिनलाई तार्किक तथा वैज्ञानिक दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ। यी विधिहरू अनुशरण गर्दा व्यक्तिमा आत्मविश्वासको भावना उत्पन्न गर्न र थप सकारात्मक र आशावादी बन्न मद्दत पुग्छ।
महाकाली आयुर्वेद औषधालयको बहिरंग विभागमा एक जना सेतो दौरा-सुरूवाल, सेतै पगडी र दुवै हातमा चाँदीका बाला लगाएका अधवैंशे पुरूषको प्रवेश हुन्छ। सुदूरपश्चिमली समाजमा जन्मे-हुर्केको मेरो मन-मस्तिष्कमा स्वयं देवताको प्रवेश भएको अनुभव भयो। मैले आफ्ना सबै खाले समस्याको अन्तिम समाधानको अपेक्षा राख्ने देवताका धामी आज मकहाँ आफ्नो स्वास्थ्य समस्या लिएर आएका थिए। सतर्कतापूर्वक मैले इतिवृत्त लिएँ र आफूले कसरी सेवा गर्न सक्छु भनी सोधेँ। देवताको धामी भएकै कारण आफू आयुर्वेद औषधि लिन आएको बताएपछि मैले इतिवृत्ति अनुसार केही आयुर्वेद औषधि र खानपान सुधारको सल्लाह दिएँ।
आज पनि धेरैजसो मानिसहरू विशेषतः नेपालको सुदूरपश्चिमका दुर्गम भेगमा स्वास्थ्य (शारीरिक, मानसिक) समस्या लगायत लगभग सबै खाले समस्या, उल्झनको समाधानका लागि देवी-देवताको (धामी-झाँक्रीमार्फत) शरणमा जाने गर्छन्। वैज्ञानिक उपचारमा निराश भएका सुविधा सम्पन्न शहरिया मानिसहरू पनि अन्तिम उपायको रूपमा दैवी उपचारमा जाने गर्छन्।
आयुर्वेद केवल जडिबुटी, जनावर र खनिज स्रोतहरूमा आधारित औषधिको संग्रह मात्र होइन। यो जीवन र जीवन दर्शनसँग सम्बन्धित छ। दैव व्यपाश्रय विधिहरूले विश्वास र आत्मबल बढाउने काम गर्छ। यी विधिहरूले बिरामीलाई मात्र नभई उनका परिवार र मित्रहरूलाई पनि मानसिक र नैतिक समर्थन पुर्याउँछन्। त्यसैले यी प्राचीन विधिहरू आजका दिनमा पनि अर्थपूर्ण छन् र तर्कसंगत र वैज्ञानिक दृष्टिकोणबाट पुष्टि गर्न सकिन्छ। दैवव्यपाश्रय चिकित्सा अन्तर्गत निम्न विधिहरू छन्:
मन्त्र चिकत्साः ध्वनिको कम्पनको माध्यमबाट प्रभावकारी रूपमा काम गर्ने विधि हो। मन्त्रको शक्तिको स्रोत शब्दहरूमा नभएर उच्चारणको ध्वनिको कम्पनमा हुन्छ। प्रत्येक मन्त्रमा केही विशेष तत्वहरू हुन्छन्। जस्तै- ध्वनि, कम्पन, लय, धुन, र निश्चित आवृत्तिको तीब्रता। यिनले मानिसमा गहिरो प्रभाव पार्छ र शरीर तथा मनको असन्तुलित लयलाई सन्तुलित बनाउन मद्दत गर्छ। उदाहरणका लागि महामृत्युञ्जय मन्त्र। मन्त्रोच्चारणबाट आईसीयूमा भर्ना भएका सिकिस्त बिरामीहरूमा सकारात्मक प्रभाव भएको केही प्रमाणहरू पनि छन्। मन्त्रोच्चारण, योग र प्राणायाम जस्तै एक स्वीकार्य प्रक्रिया भएको छ।
औषधि धारणः बोझो, तुलसी, दुबो, रूद्राक्ष जस्ता औषधिहरू धारण गर्नु सामान्य चलन हो। यी औषधिहरू प्रायः गहिरो गन्ध र एन्टिसेप्टिक प्रभाव हुन्छ। अहिले पनि गाउँघरमा जडिबुटीहरूको ताबिजहरू विभिन्न शारीरिक तथा मानिसक समस्याहरूमा प्रभावकारी मानिन्छ। यी ताबिजहरू अलौकिक प्रभावद्वारा काम गर्ने विश्वास गरिन्छ। आयुर्वेद चिकित्सा वैदिक रूपमा हुँदा अनिवार्य रूपमा विश्वासमा आधारित चिकित्सा प्रणाली थियो। रूपान्तरणको क्रममा आयुर्वेद चिकित्सा विश्वासमा आधारित प्रणालीबाट कारणमा आधारित मा विस्तारै परिवर्तन हुँदै गयो।
मणि र रत्न चिकित्साः यसले विभिन्न रत्नहरू लगाउने भन्ने बुझिन्छ। रत्नहरू विभिन्न ग्रहहरूसित सम्बन्धित छन् र सम्बन्धित ग्रहसँग सम्बन्धित विशेष रोगहरूलाई सन्तुलित प्रभाव उत्पन्न गरी प्रतिकार गर्न मद्दत गर्छन्।
मंगलाचरणः मंगल शब्दले खुसी, कल्याण, सन्तोष, र शुभ जनाउँछ। विभिन्न शास्त्रीय साहित्यमा हेर्दा, लगभग सबैमा आफ्नो कामको सुरूमा मंगलाचरण गरेका छन्। यसले तिनीले आफ्नो कामको सुरूवातमा भगवानलाई प्रार्थना गरेको वा नमन गरेको छन्।आयुर्वेदमा पनि शुद्धीकरण (पञ्चकर्म) वा शल्यक्रिया गर्दा मंगलाचरणको उल्लेख गरिएको छ। यसरी यो पद्धतिले प्रारम्भिक डर र व्यक्तिमा रहेको नकारात्मक प्रवृत्तिहरू हटाउन मद्दत पुर्याउँछ। यो विधिले अप्रत्यक्ष रूपमा व्यक्तिको आत्मविश्वासको स्तरलाई बढाउँछ।
बली: परम्परागत रूपमा सब्जी वा मांशाहारी बलि दिने चलन व्यापक छ, यद्यपि मानिसहरूलाई यसको वास्तविक उद्देश्य थाहा नहुन सक्छ। यो परम्परा र धार्मिक अभ्यास नेपाली संस्कृतिमा अझैसम्म समाहित छ। बलिलाई आयुर्वेदले समुदाय वा सामूहिक किटाणु नष्ट गर्ने विधिको रूपमा लिएको छ। यो विधिले कुनै स्थान वा समुदायमा छिटो फैलिने संक्रमणलाई रोक्न वा नियन्त्रण गर्न मद्दत गर्छ।
उपहारः उपहार शब्दले देवताहरूलाई बली दिने, पूजा-अर्चना गर्ने, उपहार दिने वा केही विशेष आकांक्षा पूर्तिको लागि सम्मानको रूपमा प्रस्तुत गरिएको उपहारलाई जनाउँछ। जब कोही व्यक्ति कठिनाइ वा विपत्तिमा हुन्छ, उपहार र राम्रा शब्दहरूले तिनीहरूलाई आवश्यक सहयोग दिन्छ र सकारात्मक सोचको साथ जीवनलाई पुनः विचार गर्न प्रेरित गर्छ। यसले तनावपूर्ण अवस्थासँग जुध्न र आत्मसम्मान बढाउन मद्दत गर्छ, जसले मानसिक स्वास्थ्यलाई पनि सुधार गर्छ।
होम वा अग्निहोत्रः होम वा अग्निहोत्रमा घिउ, सुगन्धित र किटाणुनाशक वस्तुहरूको आहुति दिनुका साथै शुभ मन्त्रहरू सामेल गरिन्छ। होम गर्दा दुई प्रकारका ऊर्जा प्रणाली ताप र ध्वनि एकसाथ मिलेर इच्छित शारीरिक, मानसिक, र आध्यात्मिक लाभ प्राप्त गर्न मद्दत गर्छ। प्रयोगात्मक अध्ययनहरूले देखाएको छ कि जहाँ होम नियमित रूपमा गरिन्छ, त्यहाँ शारीरिक रोगहरू, अस्वस्थता र रोगहरूको घटनामा कमी आउँछ।
नियमहरूः नियम भन्नाले नैतिक वा चारित्रिक अभ्यासको रूपमा लिइन्छ, जसले गलत क्रियाकलापबाट टाढा रहन सहयोग पुर्याउँछ। पतञ्जली योगसूत्रमा पाँच नियम उल्लेख छन्:
• शौचः मन, बोली र शरीरको पवित्रता वा स्वच्छता
• सन्तोषः अरूलाई र आफ्ना परिस्थितिहरूलाई स्वीकार्न सक्ने सन्तुष्टि
• तपः आत्मानुशासन वा निरन्तर ध्यान
• स्वाध्यायः आत्मअध्ययन वा आत्म चिन्तन
• ईश्वरप्रणिधानः परम चेतनासँग मिलन वा उच्च शक्तिप्रति समर्पण
प्रायश्चित्तः प्रायश्चित भन्नाले पापको प्रायश्चित्त गर्नु वा दोषी भावनाबाट मुक्त हुनु हो। यो शारीरिक र मानसिक रोगको उपचारका लागि चिकित्सकीय उपायको रूपमा प्रयोग गरिन्छ। प्रायश्चित्तको अभ्यासले मानिसलाई फेरि पापजन्य कार्यहरू गर्नबाट रोक्छ, जसले मानसिक पीडा घटाउँछ र महत्वपूर्ण रूपमा आत्म साक्षात्कारमा मद्दत गर्छ। चरक संहितामा प्रायश्चित्तलाई चिकित्साको एक पर्यायवाची मानिएको छ।
उपवासः उपवास भन्नाले पूर्ण वा आंशिक रूपमा खानेकुरा वा पिउने चीजबाट एक समयावधिको लागि पूर्ण रूपमा टाढा रहनु हो। उपवास गर्दा शरीरले संचित अनावश्यक तत्वहरूलाई निष्काशित गर्छ।उपवासका लाभ तथा शारीरिक प्रभावहरूः
• इन्सुलिन संवेदनशिलता वृद्धि हुन्छ, जसले प्लाज्मामा ग्लुकोज र इन्सुलिनको मात्रा घटाउँछ।
• अक्सिडेटिभ तनावको स्तर घट्छ, जसले प्रोटिन, लिपिड र डीएनएलाई अक्सिडेटिभ क्षति कम गराउँछ।
• विभिन्न तनावप्रतिको सहनशिलता बढ्छ। जस्तै- ताप, अक्सिडेटिभ र चयापचय सम्बन्धी तनाव र प्रतिरक्षा प्रणालीमा सुधार हुन्छ।
• शरीरको तौल र बोसोमा कमी आउने हुँदा हृदय रोगको जोखिम कम गर्छ। कलेजोमा संचित बोसो कम गर्छ।
सद्भावना र साधनाः सद्भावना भन्नाले एउटा सकारात्मक विचार वा भावना हो जुन व्यक्तिहरूसँगै काम गर्दा, वार्तालाप गर्दा, विभिन्न कुराहरूमा उत्तम परिणाम ल्याउनका लागि प्रोत्साहन गर्छ। यो सामाजिक सम्पर्कमा महत्वपूर्ण भूमिका खेल्छ र व्यावसायिक र व्यक्तिगत जीवनमा सफलताका लागि आवश्यक छ।
सद्भावनाको लाभ र महत्व
• सकारात्मकता
• समर्पण
• सहयोग
• सन्बन्धहरूमा सुधार
• स्वास्थ्यमा सुधार
सद्भावना सिर्जना गर्ने उपायहरूमा ध्यान, प्रार्थना र सकारात्मक सोच समावेश छन्।
आत्मसमर्पण र आत्मबोधः अहंकार पीडाको मुख्य कारण हो र यो परमात्मालाई समर्पित गर्दा व्यक्तिले सबै पीडाबाट मुक्ति पाउन सक्छ। यो आत्म प्राप्तिको छिटो तरिकामध्ये एक हो। यी विधिद्वारा मानिसले छिट्टै आफ्नो मानसिक अवस्थाको विश्लेषण गर्न सक्छ र नमारात्मक विचारहरूबाट छुटकारा पाउन सकिन्छ।
गमनः (स्थान परिवर्तन) गमन शब्दको शाब्दिक अर्थ एक ठाउँबाट अर्को ठाउँमा जानु हो। पारम्परिक रूपमा यसले तीर्थस्थान वा अन्य पवित्र ठाउमा जानु पनि जनाउँछ। आध्यात्मिक स्वास्थ्य भनेको धार्मिक भावनाहरूभन्दा पनि परमात्मासँगको सम्बन्ध हो। निश्चत अवस्थामा स्थान वा वातावरणको परिवर्तनले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सुधार ल्याउँछ। धार्मिक व्यवहार र विश्वासहरूले मानिसको जीवनलाई अर्थ र उद्देश्य दिन सक्छ, जसले मानिसमा सकारात्मक भावना पैदा गर्न र हौसला दिन मद्दत पुर्याउँछ।
चिकित्सकहरूले आफ्ना सेवाग्राहीहरूको आध्यात्मिक जीवनलाई स्वीकार गर्न र सम्मान गर्नुपर्छ र सधैं उपचारलाई सेवाग्राही केन्द्रित राख्नुपर्छ। बिरामीहरूको आध्यात्मिक आयामलाई स्वीकार गर्नाले आध्यात्मिक इतिवृत्ति लिने प्रक्रिया संलग्न हुन्छ। यो सबै सेवाग्राहीहरूका लागि उपयुक्त नहुन सक्छ तर जीवन-मरणको दोसाँधमा रहेका व्यक्तिहरूका लागि यो विशेष महत्वपूर्ण छ। चिकित्सकहरूले आफ्ना सेवाग्राहीहरूलाई सोध्न सक्ने यी चार छन्:
-के तपाईंका लागि धर्म, आध्यात्म महत्वपूर्ण छ?
-के अरू बेला पनि तपाईंका धर्म, अध्यात्म महत्वपूर्ण थियो?
-के तपाईंलाई धर्मिक, आध्यात्मिक विषयहरूमा परामर्श गर्ने कोही छ?
-के तपाईं धर्मिक, आध्यात्मिक विषयहरूका बारेमा अन्वेषण गर्न चाहनुहुन्छ?
धार्मिक, आध्यात्मिक इतिवृत्ति लिने प्रक्रिया आफैंमा एक प्रभावशाली उपचार हुनसक्छ। यसले चिकित्सक र बिरामीको सम्बन्धलाई सुदृढ पार्छ जुन प्रभावकारी चिकित्साको महत्वपूर्ण आधारस्तम्भ हो। जब चिकित्सकले बिरामीको जीवनको अर्थ र आशा दिने मूल विश्वासलाई समर्थन गर्छ, तब प्रदान गरिने उपचार धेरै बिरामीहरूले चाहेको विषय हो। बढ्दो अनुसन्धानले आध्यात्मिक विश्वासलाई समेटेर उच्च गुणस्तरको, समग्र चिकित्सा हेरचाह गर्नको महत्वलाई उजागर गरको छ। हाम्रो समाजमा धर्म र अध्यात्म विवादास्पद विषयहरू रहिरहे पनि उपलब्ध प्रमाणहरूले स्वास्थ्य सेवा प्रदायकहरूसँग आध्यात्मिक अन्तर्क्रिया गर्न बिरामीहरूको चाहनालाई उजागर गर्छ।
(महाकाली आयुर्वेद औषधालय, कञ्चनपुर।)