नेपालमा औद्योगीकरण तीव्र रूपमा अघि बढिरहेको छ। खासगरी तराईका भूभागहरूमा उद्योगहरू विस्तार भइरहेका छन्, जसले आर्थिक गतिशीलतालाई तीव्रता दिएको छ। तर, यो विस्तार अनियन्त्रित रूपमा अघि बढ्दा वातावरणीय प्रदूषण गम्भीर समस्या बनेको छ। नियमन तथा पूर्वाधारको अभावका कारण बारा-पर्सा औद्योगिक क्षेत्र वायु प्रदूषणको उच्च जोखिममा परेको छ। यस क्षेत्रलाई एक व्यवस्थित औद्योगिक करिडोरका रूपमा विकास गरिएको छैन। यहाँ ठूला तथा साना उद्योगहरू मिश्रित रूपमा संचालनमा छन्, जसमा सिमेन्ट उत्पादन, फलाम प्रशोधन, लुब्रिकेन्ट तथा पेट्रोलियम प्रशोधन, खाद्य उत्पादन, औषधि निर्माण, रसायनिक उद्योग, प्लास्टिक उद्योग तथा अन्य प्रकारका उद्योगहरू छन्। यी उद्योगहरूबाट उत्सर्जित धूलो, धुँवा, रासायनिक ग्यासहरू तथा अन्य प्रदूषकहरूले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेका छन्।
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
वायु प्रदूषणको अवस्था र प्रवृत्ति
एअर क्वालिटी इन्डेक्स चाइना नेटवर्कद्वारा सिमरामा सन् २०१८ देखि २०२४ सम्म संकलन गरेको तथ्यांकअनुसार यहाँ वायुमा हुने सूक्ष्म कण (पीएम २.५) को मात्रा लगातार उच्च देखिएको छ। यो क्षेत्रको औसत पीएम २.५ मात्रा डब्लुएचओ को सुरक्षित सीमाभन्दा कैयौँ गुणा बढी देखिएको छ। विगत सात वर्षको तथ्यांक अनुसार, यहाँ अधिकांश दिनहरू प्रदूषित देखिएका छन्। २०१८ मा ‘राम्रो’ वायु गुणस्तर भएका दिन १७.६ प्रतिशत मात्र थिए, जबकि ४५.१ प्रतिशत दिनहरू ‘मध्यम’ प्रदूषण श्रेणीमा परेका थिए। झण्डै १४ प्रतिशत दिनहरू ‘अस्वस्थ’ वा झन् गम्भीर प्रदूषण श्रेणीमा पर्दछन्। २०१९ देखि २०२१ सम्म, ‘अस्वस्थ’ तथा ‘अत्यन्तै अस्वस्थ’ दिनहरूको संख्या निरन्तर रूपमा बढ्दै गएको देखिन्छ। २०२१ मा ‘अस्वस्थ समूहका लागि हानिकारक’ दिनहरूको संख्या ३१.२ प्रतिशत पुग्यो भने, २२.२ प्रतिशत दिनहरू ‘अस्वस्थ’को श्रेणीमा वर्गीकृत भए।
२०२२ मा केही सुधार देखिए तापनि, २०२३ मा पुनः प्रदूषणको मात्रा बढेको पाइयो। समग्रमा, ११३१ दिनहरूको अध्ययन गर्दा २०.८ प्रतिशत दिनहरू मात्र ‘राम्रो’ श्रेणीमा परे, भने ५३ प्रतिशत भन्दा बढी दिनहरू मध्यमदेखि अत्यन्तै अस्वस्थ वा खतरनाक स्तरका देखिए। विशेषगरी जाडो महिनामा प्रदूषणको मात्रा उच्च हुने गरेको छ। तापक्रम घट्दा वायुमण्डलीय प्रदूषकहरू भू-तलमा नै अड्किन्छन्, जसले गर्दा शहर र गाउँहरू धुवाँले ढाकिएका देखिन्छन्। यस समयमा पीएम २.५ को मात्रा १२८–१३५ माइक्रोग्राम प्रति घनमिटर पुगेको देखिएको छ, जुन डब्लुएचओ को मापदण्डभन्दा झन्डै २५ गुणा बढी हो।
वर्षा याममा भने हावाको गुणस्तर केही सुधार हुन्छ। पानी परेपछि हावामा रहेका धूलोका कणहरू जमिनमा अवशोषित हुन्छन्। तथापि, औद्योगिक गतिविधि तथा सवारीसाधनका कारण प्रदूषण पूर्ण रूपमा घट्न सकेको छैन। समग्रमा हेर्दा, विगत केही वर्षमा वायु प्रदूषणको समस्या झन् जटिल बन्दै गएको देखिन्छ। सरकारी नियमन कमजोर रहेकाले उद्योगहरूले प्रदूषण नियन्त्रणका मापदण्डहरू पालना गरेका छैनन्, जसले गर्दा समस्या थप गहिरिएको छ।
प्रदूषणका प्रमुख कारणहरू
बारा-पर्सा क्षेत्रमा वायु प्रदूषणको प्रमुख कारण औद्योगिक उत्सर्जन हो। सिमेन्ट उद्योगहरूले अत्याधिक मात्रामा धूलो उत्सर्जन गर्छन् भने फलाम प्रशोधन तथा इस्पात उद्योगहरूले भारी धातुयुक्त धूलो तथा विषाक्त ग्यासहरू उत्पादन गर्छन्। लुब्रिकेन्ट तथा पेट्रोलियम उद्योगहरूले हावामा हानिकारक कार्बनिक यौगिकहरू मिसाउँछन्, जबकि रसायनिक तथा प्लास्टिक उद्योगहरूले वायुमण्डलमा विषाक्त ग्यासहरू छोड्ने गरेका छन्। त्यस्तै, खाद्य उद्योगहरुमा धानको भुसलाई इन्धनको रुपमा प्रयोग गर्ने समेत गरिन्छ l
सवारीसाधन उत्सर्जन वायु प्रदूषणको अर्को मुख्य स्रोत हो। बीरगञ्ज व्यापारिक नाका भएकाले यहाँ दैनिक रूपमा सयौँ मालवाहक ट्रक, कन्टेनर तथा पेट्रोलियम ट्यांकरहरूको आवागमन हुन्छ। यी सवारीसाधनहरूले उत्सर्जन गर्ने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, तथा पीएम २.५ले हावाको गुणस्तरलाई निकै खस्काएको छ। ट्रकहरुबाट निस्कने कालो धुवाँको मुस्लो सामान्य दृश्यझैँ भएको छ l साथ साथै, कृषिजन्य अवशेषहरू जलाउने प्रवृत्तिले वायुमा कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड तथा अन्य प्रदूषकहरू मिसाउँछ। फोहोर जलाउने परम्पराले पनि वायु प्रदूषण बढाउने गरेको छ।
वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू
बारा-पर्सा औद्योगिक क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक उच्च रहेको तथ्यांकहरूले देखाएका छन्। २०१८–२०२४ को तथ्यांक अनुसार, जाडो याममा पीएम २.५को औसत मात्रा १२८–१३५ µg/m³ पुगेको देखिन्छ, जसले दैनिक रूपमा ६–७ चुरोट सेवन गरेसरह असर पार्न सक्छ। अझ गम्भीर कुरा त के हो भने, यहाँ केही दिनहरूमा पीएम २.५को मात्रा ३०० µg/m³ भन्दा माथि पुगेको छ, जसले दिनको १५ भन्दा बढी चुरोट सेवन गरेसरह असर पार्ने देखिन्छ।
यस स्तरको प्रदूषणले जनस्वास्थ्यमा गहिरो असर पार्ने निश्चित छ। लामो समयसम्म प्रदूषित हावाको सम्पर्कमा रहँदा श्वासप्रश्वास प्रणाली, हृदय तथा रक्तसञ्चार प्रणाली, स्नायु प्रणाली, तथा बालबालिका, वृद्धवृद्धा, तथा दीर्घ रोगीहरू जस्ता जोखिम समूहमा गम्भीर असर गर्दछ।
पीएम २.५ले श्वासप्रश्वास प्रणालीमा पर्ने असर उल्लेखनीय छ। यी सूक्ष्म कणहरू सिधै फोक्सोको गहिराइमा प्रवेश गर्ने भएकाले दम, ब्रोंकाइटिस, तथा सीओपीडीको जोखिम अत्यधिक बढ्ने गर्छ। लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा फोक्सोको क्षमतामा ह्रास आउँछ, जसले गर्दा संक्रमण तथा फोक्सोको क्यान्सरको सम्भावना समेत वृद्धि हुन्छ। अत्यधिक प्रदूषणयुक्त हावाले बालबालिकाको फोक्सोको विकास अवरुद्ध गर्ने तथा दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगको खतरा बढाउने जोखिम रहन्छ।
पीएम २.५ प्रदूषणले हृदय तथा रक्तसञ्चार प्रणालीमा पनि गम्भीर असर पार्छ। निरन्तर रूपमा प्रदूषित हावाको सम्पर्कमा रहँदा रक्तनलीहरू खुम्चिन जान्छन्, जसले उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना बढाउँछ। अध्ययनहरूले देखाएका छन् कि पीएम २.५ को उच्च मात्रा भएको क्षेत्रमा हृदयाघात तथा स्ट्रोकका घटना दर अन्य स्थानहरूको तुलनामा बढी हुने गर्छ।
स्नायु प्रणालीमा समेत वायु प्रदूषणको असर देखिन सक्छ। लामो समय सम्म प्रदूषित हावामा बस्दा स्नायु तन्तुहरू कमजोर हुने, मानसिक थकान बढ्ने तथा एकाग्रता र स्मरणशक्ति प्रभावित हुने सम्भावना रहन्छ l केही अध्ययनहरूले बच्चाहरूको बौद्धिक विकासमा समेत प्रदूषणले नकारात्मक असर पार्ने देखाएका छन्। मस्तिष्कमा आवश्यक अक्सिजन आपूर्ति अवरुद्ध हुँदा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, मानसिक चाप बढ्ने तथा अन्य स्नायुसम्बन्धी रोगहरू उत्पन्न हुने सम्भावना रहन्छ।
बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू वायु प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने समूह हुन्। बालबालिकाको फोक्सो पूर्ण रूपमा विकसित नभएकाले प्रदूषणको असर झन् गहिरो पर्छ। दूषित हावाले गर्भवती महिलामा भ्रूणको वृद्धि अवरुद्ध गर्न सक्छ, जसले कम तौलका बच्चा जन्मिने सम्भावना बढाउँछ। वृद्धवृद्धा तथा दीर्घ रोगीहरूमा प्रदूषणका कारण प्रतिरक्षा प्रणाली कमजोर बन्न सक्छ, जसले गर्दा सामान्य संक्रमणसमेत गम्भीर बन्न सक्छ। यसले फोक्सोको स्थायी क्षति, श्वासप्रश्वाससम्बन्धी रोगहरू, तथा हृदयघातको जोखिम उच्च बनाउने खतरा रहन्छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा, तथा दीर्घ रोगीहरूमा यसको प्रभाव झन् गहिरो देखिन्छ। दूषित हावाको दीर्घकालीन सम्पर्कमा रहनु भनेको दिनहुँ चुरोट सेवन गरिरहनु जत्तिकै हानिकारक हुने भएकाले प्रदूषण नियन्त्रण अत्यावश्यक छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, भविष्यमा यस क्षेत्रका बासिन्दाहरू गम्भीर स्वास्थ्य संकटको सामना गर्न बाध्य हुनेछन्।
निष्कर्ष
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण दिनप्रतिदिन गहिरिँदै गएको छ। यदि तत्काल प्रभावकारी उपायहरू अपनाइएन भने, यसले मानव स्वास्थ्य, कृषि उत्पादन, तथा वातावरणीय सन्तुलनमा गम्भीर असर पार्नेछ। विगत सात वर्षको तथ्यांकले देखाएको छ कि अधिकांश दिनहरू मध्यमदेखि अत्यन्तै अस्वस्थ वा खतरनाक श्रेणीमा छन्, जसले दीर्घकालीन रूपमा जनस्वास्थ्य संकट निम्त्याउने संकेत गर्छ।
यस समस्याको समाधानका लागि सरकार, उद्योग, स्थानीय समुदाय तथा नागरिक समाजको साझा प्रयास आवश्यक छ। प्रदूषण नियन्त्रणका लागि कडा नीति, आधुनिक प्रविधिको प्रयोग, र जनचेतना अभियान अनिवार्य छन्। सफा हावा, स्वस्थ जीवनका लागि अबको कार्यदिशा स्पष्ट हुनुपर्छ। यदि अब पनि ठोस कदम चालिएन भने, आगामी वर्षहरूमा बारा-पर्सा क्षेत्रको वातावरणीय तथा स्वास्थ्य संकट झन् गहिरिँदै जानेछ।