आन्द्रा सुन्निने समस्या
आन्द्रामा हुने समस्यामध्ये आन्द्रा सुन्निने (इन्फ्लामेटरी बाउल डिजिज्) समस्या पनि एक हो। आन्द्रा सुन्निने समस्यामा विशेषगरी दुई प्रकारका बिरामी हुन्छन् (अल्सरेटिभ कोलाइटिस तथा क्रोन्स डिजिज्)। दिसामा रगत देखिने र नदेखिने गरी आन्द्रा सुुन्निने समस्यालाई दुई प्रकारमा बाँडिएको हुन्छ। यस्तो समस्यामा पेट दुख्ने, दुब्लाउँदै जाने लक्षण देखापर्छ।
सानो तथा ठूलो दुवै आन्द्रा सुन्निने समस्या भएपनि उपचार प्रक्रिया तथा रोगको पहिचान भने फरक फरक तरिकाले हुने गर्छ। दिसा गर्ने स्थानबाट पाइप छिराएर अर्थात् कोलोनोस्कोपी गरेर यो रोगको पहिचान गरिन्छ। कतिपय अवस्थामा बायोप्सी तथा दिसाका अन्य परीक्षण तथा सिटीस्क्यान, एमआरआई पनि गरिन्छ।
लक्षणहरु
विभिन्न लक्षणका आधारमा बिरामीले आफूलाई आन्द्रा सुन्निने रोग भएको थाहा पाउन सक्छन्।
–पटक पटक दिसा लाग्नु।
–दिसामा चिप्लो पदार्थ देखिने।
–दिसामा पिप आउनु।
–दिसामा रगत देखिने।
–कतिपयलाई पेट दुखिरहने।
–दुब्लाउँदै जाने।
कारणहरु
आन्द्रा सुन्निने समस्याका बिरामीहरु वर्षेनी बढ्दै गइरहेका छन्। विभिन्न अध्ययनका अनुसार पछिल्लो समय तीन वा चार गुणाले यस्तो बिरामीहरु बढ्दै गइरहेका छन्। रोगको पहिचान हुने क्रम बढेकोले पनि आन्द्रा सुन्निने समस्या पछिल्लो समय बढ्दै गइरहेको देखिएको हो।
रोग लाग्नुको निश्चित कारण पत्ता नलागे पनि कतिपय अध्ययनहरुले पछिल्लो समय प्रशोधित खानेकुराको बढ्दो प्रयोगले आन्द्रा सुन्निने समस्या बढेको बताइन्छ। विकासोन्मुख मुलुकको तुलनामा विकसित देशहरुमा यो रोग अझै बढी छ। उमेर ढल्केका मानिसमा भन्दा युवापुस्तामा यो समस्या बढी देखिन्छ।
उपचार
आन्द्रा सुन्निने समस्या पहिचानका लागि सुरुमा कोलोनोस्कोपी गर्नुपर्ने हुन्छ। रोग पहिचान भएपछि सुरुवाती अवस्थामा औषधिको प्रयोगले रोगको निदान गर्न खोजिन्छ।
अधिकांश बिरामीलाई औषधिको प्रयोगले रोग बढ्न नदिई उपचार गरिन्छ। कतिपय बिरामीलाई ४–५ वर्षको लामो उपचार प्रक्रियाको आवश्यक पर्छ। खाने औषधिले निको नहुने बिरामीलाई इन्जेक्सन लगाइन्छ।
औषधिको सेवन तथा इन्जेक्सनको प्रयोगले पनि निको नहुने बिरामीलाई भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। शल्यक्रियाका क्रममा रोगले ग्रसित आन्द्रालाई काटेर फाल्ने गरिन्छ।
एकदमै कम बिरामीहरुलाई मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ। आन्द्रा सुनिन्ने रोगको कतिपय औषधि स्वास्थ्य बीमाबाट पनि पाउन पनि पाउन सकिन्छ। यस्ता बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ। यसरी लामो समयसम्म औषधिको सेवन गर्नुपर्ने भएकोले सस्तो औषधिमा पनि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ।
खानपान शैली परिवर्तन हुँदा बढ्दै बिरामी
यूरोप अमेरिका जस्ता विकसित मुलुकहरुमा आन्द्रा सुनिन्ने रोग भएका बिरामीहरुको संख्या एकदमै धेरै छ। विकसित मुलुकको तुलनामा यस्तो रोगका बिरामीहरुको संख्या कम हो। पछिल्लो समय नेपालीहरुको खानपान तथा जीवनशैली परिवर्तन हुँदै जाँदा आन्द्रा सुनिन्ने समस्या बढ्दै गएको हो।
यसरी रोग बढ्दै गएको अवस्थामा यो रोगबारे जनचेतना बढाउने लक्ष्यका साथ यसै क्षेत्रका चिकित्सकहरुले क्रोन्स एन्ड कोलाइटिस नामको एक संस्था समेत बनाएका छौं।
उक्त संस्थाले यस रोगबारे अध्ययन गर्न, बिरामीहरुलाई रोगबारे जानकारी दिन तथा उपचारका लागि सहजीकरण गर्दै आइरहेको छ। हामीले रोगले नेपालमा कस्तो अवस्था ल्याउन सक्छ भन्नेबारे समेत अध्ययन गर्दै आइरहेका छौं।
रोग पहिचानका लागि नेपालमा सबै स्थानमा सबै प्रकारका परीक्षण नहुने भएकोले चिकित्सकहरुले समेत रोग निदान गर्न सक्ने अवस्था छैन। संस्थाले चिकित्सकहरुलाई समेत यस बारेमा जागरुक गराउने तथा ज्ञान बाँड्ने काम गरिरहेको छ।
रोकथाम
रोगको रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारेमा हालसम्म पत्ता लागेको छैन। यद्यपि खानपान, रहनसहन उचित प्रकारका भएमा रोगलाई नियन्त्रण गर्न सकिन्छ।
(डा शर्मा वीर अस्पतालमा कार्यरत छन्।)