गर्मी मौषमसँगै नेपालका धेरै स्थानमा तातो हावाको लहर बढेको छ। तातो हावाको लहर भनेको सामान्य तापक्रमभन्दा अत्यधिक उच्च तापक्रमको अवधि हो।
तातो हावाको लहरका कारण स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्याहरू देखिन सक्छ। जस्तै थकान र स्ट्रोक उत्पन्न हुन सक्छ, जुन समयमै उपचार नगरेमा मृत्युको कारण पनि बन्न सक्छ। यसबाट बच्नका लागि के गर्ने र के नगर्ने भनेर तल प्रस्तुत गरिएको छ-
तातो हावाको लहरको समयमा के के गर्ने:
घाम बाट जोगिनुहोस्: दिउँसो १२ बजेदेखि ३ बजे सम्मको समयमा बाहिर जानबाट बच्नुहोस्। यती बेला सूर्यको तातो अधिकतम हुन्छ।
पानी पिउनुहोस्: तपाईंलाई तिर्खा नलागेको भए पनि दिनभरीमा धेरै पानी पिउनुहोस्। गर्मीसँग सम्बन्धित रोगहरूबाट बच्नको लागि पानीको मात्रा अत्यन्त महत्त्वपूर्ण छ।
सही कपडा लगाउनुहोस्: हल्का रंगका, खुकुलो र हावा छिर्ने सजिला सुतीका कपडा लगाउनुहोस् जसले तपाईंलाई चिसो राख्न मद्दत गर्दछ। बाहिर जानु परेमा टोपी, चश्मा र आरामदायक जुत्ता लगाउनुहोस्।
विश्राम लिनुहोस्: यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने नियमित विश्राम लिनुहोस् र १२ बजे देखि ३ बजे सम्म सूर्य बाट बच्नुहोस्।
पानी बोकेर यात्रा गर्नुहोस्: सधैँ आफ्नो साथमा पानी बोकेर यात्रा गर्नुहोस्, विशेष गरी लामो समय बाहिर रहनु पर्ने भएमा।
हाइड्रेटिंग पेय पदार्थहरू पिउनुहोस्: जीवनजल, घरमै बनाएको लस्सी, चामलको पानी वा कागतीको पानी जस्ता पेय पदार्थहरू पिउनुहोस् जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत पुर्याउँछ।
घर चिसो राख्नुहोस्: पर्दा बन्द गर्नुहोस्, सूर्यको छायाँलाई प्रयोग गर्नुहोस् र राति झ्यालहरू खोल्नुहोस् जसले चिसो हावा ल्याउँछ।
चिसो राख्ने उपायहरू अपनाउनुहोस्: पंखा चलाउनुहोस्, चिसो भिजेको कपडा शरीरमा राख्नुहोस् र चिसो पानीले नुहाउनुहोस्, जसले तपाईको शरीरको तापक्रम घटाउँछ।
तातो हावाको लहरको समयमा के के नगर्ने:
डिहाइड्रेट गर्ने पेय पदार्थहरूको सेवन नगर्नुहोस्: मद्यपान, चिया, कफी र कार्बोनेटेड ड्रिंकहरूको सेवन नगर्नुहोस्, जसले तपाईंलाई डिहाइड्रेट गर्छ।
भारी खाना नखानुहोस्: भारी र बासी खाना नखानुहोस्, जसले तपाईंको शरीरको तापक्रम बढाउँछ।
बालबालिकालाई गाडीमा नछोड्नुहोस्: बालबालिकालाई पार्क गरिएको गाडीमा नछोड्नुहोस्, गाडी भित्रको तापमान चाँडै बढ्न सक्छ र गम्भीर हानि पुर्याउन सक्छ।
अत्यधिक काम नगर्नुहोस्: बाहिरको तापक्रम उच्च हुँदा कडा शारीरिक गतिविधि नगर्नुहोस्। विशेष गरी यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने विश्राम लिनुहोस्।
गर्मी लागेर हुने बिरामीको (गर्मी स्ट्रोक) उपचारका लागि सुझावहरू:
चिसो स्थानमा सार्नुहोस्: प्रभावित व्यक्तिलाई तुरुन्त चिसो, छायामा लैजानुहोस्। भिजेको कपडा प्रयोग गरेर बारम्बार शरीरमा लगाउनुहोस् जसले तातो शरीरको तापक्रम घटाउँछ।
पानीको मात्रा बढाउनुहोस्: जीवनजल, कागतीको पानी, चामलको पानी वा अन्य पेय पदार्थ दिनुहोस् जसले शरीरलाई हाइड्रेट गर्न मद्दत पुर्याउँछ।
चिकित्सा सहायता लिनुहोस्: यदि लक्षण बिग्रिएमा वा व्यक्ति बेहोस भ राखेमा, तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लैजानुहोस्। गर्मी स्ट्रोकलाई जीवनघाती मानिन्छ र तुरुन्त चिकित्सकीय सहायता आवश्यक छ।
(डा निखिल नेपालले एमबीबीएस डिग्री हासिल गरेका छन्। उनी मेडिकल डाक्टर हुन्।)