काठमाडौं - पछिल्ला वर्षहरूमा घाँटीको तल र ढाडको माथिल्लो भागमा देखिने उभारले धेरैलाई चिन्तित बनाइरहेको छ। चिकित्सकहरूका अनुसार यस अवस्थालाई काइफोसिस वा घाँटीको कुप्रोपन भनिन्छ।
विशेषज्ञहरूको भनाइमा सामान्य अवस्थामा मेरुदण्डमा अलिकति टेढोपन हुन्छ, तर जब यो ४५ डिग्रीभन्दा बढी हुन्छ, तब समस्या गम्भीर बन्छ र उपचार आवश्यक पर्छ।
मुख्य कारण
मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालका हड्डी रोग विशेषज्ञ डा. अभिजित पवारका अनुसार, यसको प्रमुख कारण गलत तरिकाले बस्ने बानी हो। लामो समयसम्म कम्प्युटरमा अगाडि झुकेर काम गर्ने वा मोबाइल हेर्दा टाउको तल झुकाउने बानीले कुप्रोपन बढाउँछ।
त्यस्तै, अष्ठियोपोरोसिस, मोटोपना, हर्मोन असन्तुलन, पीसीओएस, लामो समय स्टेरोइड प्रयोग, तथा मांसपेशी कमजोरी जस्ता कारणहरूले पनि यो समस्या देखापर्ने चिकित्सकहरूको भनाइ छ।
देखिने लक्षण
कहिलेकाहहिँ ढाडको दुखाइबाहेक अन्य लक्षण देखिँदैन। तर धेरै बिरामीमा पीठ दुखाइ, मांसपेशीमा जकडन, थकान र मेरुदण्ड वरिपरि पीडा हुने गरेको देखिन्छ।
कसरी पत्ता लगाउने?
यसको निदानका लागि एक्स–रे, एमआरआई, सीटी स्क्यान तथा ब्लड टेस्ट गरिन्छ। हर्मोनसम्बन्धी शंका भएमा कोर्टिसोल स्तरको परीक्षण गरिन्छ।
रोकथाम र उपचार
चिकित्सकहरूका अनुसार सही पोस्चरमा बस्ने बानी अपनाउनु, लामो समयसम्म एउटै अवस्थामा नबस्नु, नियमित व्यायाम गर्नु र तौल नियन्त्रण गर्नु नै यसबाट बच्ने प्रमुख उपाय हुन्।
'यदि समस्या चाँडै पत्ता लाग्यो भने सामान्य व्यायाम, जीवनशैलीमा सुधार र औषधीय उपचारले समाधान सम्भव छ,' डा. पवारले बताए। गम्भीर अवस्थामा भने शल्यक्रिया पनि आवश्यक पर्न सक्ने चिकित्सकहरूको भनाइ छ।