अनुहार र शरीरमा आउने अनावश्यक रौंले मानिसलाई दिक्क बनाएको हुन्छ। अनुहारसमेत नराम्रो बनाउने यस्ता रौं हटाउन सेभिङ, वाक्सिङ, थ्रेडिङजस्ता विभिन्न तरिका अपनाइन्छ। सेभिङ गर्दा रौं झन् धेरै पलाउँछ भन्ने सोचाइ अधिकांशमा पाइन्छ। त्यसो नभई, जति काटिएको हो, त्यतिमात्र पलाउँछ। तर, यस्ता विधिले रौं स्थायी रुपमा हट्दैन, पछि पुनः पलाउँछ। लेजर विधिले चाहिँ ९० प्रतिशत रौं फेरि नपलाउने गरी हटाउँछ।
के हो लेजर विधि?
शरीरका रौं हटाउन सुरुमा आइपीएल अर्थात् ‘इन्टेन्स पल्स्ड लाइट’ प्रविधि प्रयोग गरिन्थ्यो। तर, ब्लिचिङ क्रिम लगाएरमात्र गरिने यो विधि धेरै पीडादायी मानिन्छ। पछिल्लो समय अत्याधुनिक प्रविधिसहितका विभिन्न प्रकारका लेजरहरु आइसकेको छ। लेजर विधि नेपालीको जस्तो ब्राउन छालामा धेरै सुरक्षित मानिन्छ। लेजरमा पनि मल्टिपल वेभलेन्थ भएको लेजर उपकरण आइसकेको छ।
नर्भिकमा फोर वेभलेन्थ भएको एकदमै शक्तिशाली ४ हजार वाटको लेजर हेयर रिमुभल डिभाइस छ, जुन डायोड लेजर हो, यसमा फोर वेभलेन्थ हुन्छ, जसका कारण यसले बाक्लो तथा पातलो रौं भएका स्थानमा राम्रोसँग हटाउँछ।
कुन–कुन अंगमा लेजर उपचार गर्न मिल्छ?
आँखा वरपरबाहेक बढी रौं भएका सबै अंगमा लेजर उपचार गर्न मिल्छ। लेजरमा निश्चित वेभलेन्थ भएका कारण आँखामा क्षति पु¥याउन सक्छ। त्यसैले आँखीभुइँसहित आँखावरपर लेजर गर्न मिल्दैन।
कत्तिको पीडादायी हुन्छ?
रौं हटाउन पहिला प्रयोग गरिने आइपीएल प्रविधि पीडादायी नै हुन्थ्यो। तर, नयाँ लेजर हेयर रिमुभल डिभाइस अत्याधुनिक हुने र रौंलाई मात्रै केन्द्रित गर्ने भएकाले वरपरका छालालाई केही पनि असर गर्दैन । यो निकै सुरक्षित छ र कुनै पीडा हुँदैन। कसैलाई भने रबर तानेर छोड्दाजस्तो अलिकता दुखाइ महसुस हुन सक्छ।
लेजर हेयर रिमुभलमा कतिवटा सेसन गर्नुपर्छ?
रौंको विकासका ३ चरण हुन्छन्–ग्रोइङ, रेस्टिङ र फलिङ फेज।
लेजरका लागि हामीले ग्रोइङ फेजमा टार्गेट गर्नुपर्छ। हाम्रो शरीरमा दशौं लाख रौं हुन्छन्। सबै रौं एउटै फेजमा हुँदैनन्–कुनै रेस्टिङ तथा कुनै ग्रोइङमा हुन्छन्। धेरै सेसन चाहिने कारण यही हो। एउटा सेसनमा गरेर अर्को पटक आउँदा १० देखि २० प्रतिशत रौं हट्छन्। ६ देखि ७ सेसनमा गराउँदा भने ९० प्रतिशत रौं कम हुन्छन्। फेसियलमा चाहिँ राम्रोसँग गर्नुपर्ने भएकाले ८ देखि १० सेसन आवश्यक हुन सक्छ। कति सेसन लेजर चाहिन्छ भन्ने कुरा हर्मोनल समस्या छ कि छैन भन्नेमा पनि भर पर्छ। धेरैजसो हर्मोनल समस्याका कारण पनि अनावश्यक रौं आउन सक्छन्। स्टेरोइड या कुनै औषधिले गर्दा अनावश्यक रौं आएको रहेछ भने दोब्बर सेसन अर्थात् १२ सेसनसम्म लाग्न सक्छ।
लेजर विधिबाट ८० देखि ९० प्रतिशत रौं स्थायी रुपमै हट्ने भए पनि कहिलेकाही नयाँ ठाउँबाट पनि नयाँ रौं आउन सक्छ। यस्तो अवस्थामा हामी मेन्टिनेन्स थेरापीको सल्लाह दिन्छौं। लेजर विधि प्रयोग गरेपछि वर्षमा एक पटक मेन्टिनेन्स थेरापी गर्न सकिन्छ। किनभने कहिलेकाहीँ नयाँ रौं आएको छ या पुनः पलाउन थालेको छ भने त्यसलाई पनि केन्द्रित गरेर निकालिन्छ।
लेजर हेयर रिमुभल गरिसकेपछि कसै–कसैमा छालामा रातोपन आउन सक्छ, जुन १५–२० मिनेटमा आफैं हराएर जान्छ या बढीमा १ घण्टा लाग्न सक्छ।
कस्तो उमेरकाले गर्न मिल्छ लेजर हेयर रिमुभल?
लेजर हेयर रिमुभल खासगरी १४ वर्षमाथिकालाई गर्न सकिन्छ। तर, यस्तो उमेरमा म के गर्दैछु भनेरचाहिँ थाहा हुनुपर्छ। मचाहिँ उनीहरुमा मानसिक रुपमा परिपक्वता खोज्छु। नभए उनीहरु तर्सन, डराउन सक्छन्।
सेतो कपालमा लेजर विधिले काम गर्दैन। कालो कपालमा मेलानिन भन्ने गाढा रंगको पिगमेन्ट हुन्छ। लेजर मेसिनले फाल्ने प्रकाशले त्यो पिगमेन्टलाई मात्रै केन्द्रित गरेर प्रकाश फाल्छ। त्यो प्रकाश पिगमेन्टमा गएर बस्छ र तातोमा रुपान्तरण भएपछि उक्त कपाल हराउने हुन्छ। सेतो कपालमा चाहिँ गाढा रंग उत्पादन गर्ने मेलानिन नहुने भएकाले काम गर्दैन।
साइड इफेक्ट छ?
लेजर विधि राम्रोसँग प्रयोग गरियो भने साइडइफे्क्ट गर्दैन। असर गर्ने÷नगर्ने कुरा दक्ष प्राविधिकमा भर पर्छ, जुन दक्ष जनशक्ति र अत्याधुनिक उपकरण नर्भिकमा छ। लेजर गर्नुभन्दा एकदिनअघि सेभिङ गरेर आउनुपर्छ भनेर सल्लाह दिइन्छ। कहिलेकाहीँ र्यासेस आउन सक्छ, तर, यस्तो विरलै हुन्छ। खर्च कति लाग्छ भन्ने कुरा कुन अंगको रौं हटाउने भन्नेमा भर पर्छ।
(डा. बज्राचार्य नर्भिक अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन्)