हरेक वर्ष, सेप्टेम्बर २१ का दिन “विश्व अल्जाइमर्स दिवस” मनाइन्छ। यो दिन केवल एउटा स्मरण मात्र होइन, बरु बढ्दो चुनौती र सामूहिक जिम्मेवारीलाई सम्झाउने अवसर पनि हो। यस वर्षको नाराः “डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं (Ask About Dementia; Ask About Alzheimer’s)” रहेको छ। यसले हामीलाई आफ्ना परिवार, समुदाय र समाजभित्र रोगको बारेमा खुलेर कुरा गर्ने, रोगलाई लुकाउने संस्कृतिबाट बाहिर निस्कने र समयमै उपचार तथा सहयोग खोज्ने मार्गतर्फ प्रेरित गर्दछ। डिमेन्सिया केवल रोग होइन, यो हाम्रो समयको सबैभन्दा ठूलो जन-स्वास्थ्य र सामाजिक चुनौतीहरूमध्ये एक हो जसले विश्वभर करोडौंलाई, र नेपालमै हजारौं ज्येष्ठ नागरिकलाई प्रभावित गरिरहेको छ।
डिमेन्सिया के हो?
डिमेन्सिया एउटा मात्र रोग होइन, बरु स्मरण शक्ति, विचार गर्ने क्षमता, भाषा, व्यवहार र दैनिक जीवनका सामान्य कार्यहरूमा क्रमशः असर पार्ने रोगहरूको समूह हो। डिमेन्सियाका प्रमुख कारणहरुमध्ये सबैभन्दा बढी देखिने प्रकार ‘अल्जाइमर्स रोग’ हो, जसले करिब ६०-७० प्रतिशत डिमेन्सियाका बिरामीलाई प्रभावित गर्छ। भास्कुलर डिमेन्सिया, ल्युई-बडी डिमेन्सिया र फ्रन्टोटेम्पोरल डिमेन्सिया अन्य प्रमुख प्रकारहरू हुन्। यी सबैले व्यक्तिको बौद्धिक क्षमता र आत्मनिर्भर जीवनलाई क्रमशः क्षय गराउँछन्।
धेरै मानिसहरू अझै पनि बुढ्यौलीमा देखिने स्मृतिको कमजोरीलाई “सामान्य प्रक्रिया” भन्छन्। तर डिमेन्सिया बुढ्यौलीको अपरिहार्य अवस्था होइन। यो क्रमशः बढ्दै जाने रोग हो, जसले व्यक्ति मात्र होइन, उनको परिवार र समाजलाई समेत गहिरो प्रभाव पार्छ। त्यसैले यसलाई सामान्य उमेर-सम्बन्धी समस्या मात्र ठान्नु हुँदैन।
विभिन्न तथ्यांकअनुसर हाल विश्वमा झण्डै ५ करोड ५० लाख मानिसहरू डिमेन्सियाबाट पिडित छन्। हरेक वर्ष करिब १ करोड नयाँ बिरामी थपिन्छन्, जसको अर्थ प्रत्येक ३ सेकेन्डमा एक जना डिमेन्सियाबाट प्रभावित हुन्छन्। सन् २०५० सम्ममा यो संख्या बढेर लगभग १४ करोड पुग्ने अनुमान गरिएको छ।
डिमेन्सिया रोग सामाजिक-आर्थिक हिसाबले पनि निकै नै ठूलो बोझ हो। विश्वव्यापी रूपमा यसको व्यवस्थापनमा वार्षिक १.३ ट्रिलियन अमेरिकी डलरभन्दा बढी लागत पर्ने देखिन्छ। यसमा स्वास्थ्य खर्च मात्र होइन, रोगीको हेरचाहमा परिवारका अन्य सदस्यहरुले दिने निःशुल्क श्रमसमेत पर्दछ। विश्वका अधिकांश बिरामीहरू कम तथा मध्यम आय भएका मुलुकहरूमा बस्छन्, जहाँ स्वास्थ्य सेवा र तयारी अपर्याप्त छन्।
नेपाल बुढ्यौली समाज हुनेतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। यसैका कारण डिमेन्सिया हाम्रो समाजमा पनि एउटा बढ्दो समस्या बन्दै गइरहेको छ। हुम्ला, काभ्रेपलान्चोक र सिरहा जिलामा आधारित रहेर सन् २०२५मा प्रकाशित गरिएको एक अध्ययनले देखाए अनुसार नेपालमा ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिमध्ये आधाभन्दा बढी (५३.७ प्रतिशत) मा स्मृतिसंग सम्बन्धित समस्या वा डिमेन्सियाको जोखिम रहेको देखिन्छ। अनुसन्धानकर्ताहरूले सन् २०२५ सम्ममा करिब १ लाख ३५ हजारभन्दा बढी नेपालीहरू पहिले नै डिमेन्सियासहित बाँचिरहेको अनुमान गरेका छन्।
अल्जाईमर्स रोगका लक्षणहरू:
अल्जाईमर्सका लक्षणहरू प्रायः सुक्ष्म रहने तर निरन्तर देखिने किसिमका हुन्छन। सुरुमा हल्का बिर्सने, सामान गलत ठाउँमा राख्ने वा एउटै प्रश्न बारम्बार सोध्ने जस्ता संकेत प्रकट हुन्छन्। बिस्तारै तिनले व्यक्तिको दैनिक जीवन नै प्रभावित गर्न थाल्छन्। प्रभावित व्यक्तिले साविकमा गरिरहेका दैनिक कार्यहरू गर्न, खर्च व्यवस्थापन गर्न वा साविकमा प्रयोग गरिरहेको उपकरण प्रयोग गर्नमा पनि कठिनाइ महसुस गर्दै जान सक्छन्।
प्रभावित व्यक्तिमा भाषाको प्रयोगमा असहजता देखिदै जाने, शब्द खोज्न गाह्रो हुने, वाक्य अधुरो राख्ने वा एउटै कुरा बारम्बार दोहोर्याउने अवस्था समय क्रमसंगै देखापर्छ। समय र स्थानबारे भ्रमित हुने, आफ्नै घर वरपर हराउने वा मिति/समय थाहा नपाउने जस्ता समस्या देखा पर्छन्। रोग बल्झिदै गर्दा बिरामीमा सामान अचम्मका ठाउँमा राख्ने —जस्तै चाबी फ्रिजमा राख्ने— र सामाजिक गतिविधिबाट अलग हुने प्रवृत्ति देखिन्छ। बिस्तारै परिवार वा साथीहरूसँगको सम्पर्क कम हुने, र मुड/व्यबहार वा व्यक्तित्वमा ठूलो परिवर्तन आउँछ। अधिक शंकालु हुदै जाने, अस्वाभाविक चिडचिडाहट देखिने, उदासीपन देखिने वा अस्वस्भाविक हिसाबले डराउने अवस्था बारम्बार देखिरहन्छन। यी सबै कुरा बारम्बार र बढ्दो रूपमा प्रकट भएमा, तत्काल विशेषज्ञ चिकित्सकसँग सल्लाह लिन ढिलाइ गर्नुहुँदैन।
उपचार, अनुसन्धान र आशा:
हालसम्म अल्जाईमर्स डिमेन्सियाको निश्चित उपचार छैन। विश्वका अन्य ठाउँसरह नेपालमा डोनेपेजिल, मेमान्टिन र रिभास्टिग्मिनजस्ता औषधि कतिपय अवस्थामा प्रयोग भए पनि, यी औषधिले केवल रोग जटिल हुदैजाने रफ्तारलाई ढिलो गर्न मात्र मद्दत गर्छन्; रोग निको पार्दैनन्। अझ विकसित मुलुकमा प्रयोगमा आएका लेकेनेमाब वा डोनानेमाब जस्ता नयाँ औषधिहरू हाम्रो जस्तो देशका लागि अहिले सम्भव छैनन्। त्यसैले उपचार मुख्यत: सहयोगी उपायहरूमा केन्द्रित छ ।यद्यपि, विश्वभर नयाँ अनुसन्धान तीव्र गतिमा भइरहेको छ, जसले भविष्यका लागि आशा जगाएको छ। नेपालका लागि रोगसम्बन्धी सचेतना, समयमै पहिचान र समुदायस्तरको सहयोग नै प्रभावित बिरामी एवं परिवारहरूको लागि वास्तविक आधार हो।
“डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं (Ask About Dementia; Ask About Alzheimer’s)” को सन्देश
यस वर्षको नाराले नेपाल र विश्व दुवैलाई शक्तिशाली र स्पष्ट सन्देश दिन्छ। लक्षण देखिनासाथ यस कुरालाई प्रश्नको दायरामा ल्याउदा चाँडै परीक्षण र निदान सम्भव हुन्छ। प्रारम्भिक चरणमै पत्ता लागेमा अन्य स्वास्थ्य समस्या सरह यसलाई पनि उपचारको प्रक्रियामा लैजान सकिन्छ; परिवारलाई पनि आगामी दिनका योजना बनाउन सजिलो हुन्छ र कहिलेकाहीँ रोगको थप बल्झिने क्रमलाई पनि धेरै हदसम्म ढिलो गराउन पनि सकिन्छ।
त्यसैगरी यो रोगको सम्बन्धमा खुलेर कुरा गर्नाले यो रोगसंग सम्बन्धित सामाजिक बहिष्करण र लाज घट्छ। परिवारले रोगलाई लुकाउनु पर्दैन, बरु उपचार खोज्न सहज हुन्छ। बिरामी हेरचाहकर्ताको भूमिका अन्यका लागि प्रेरणादायी बन्दै जान्छ, जसले उनीहरूलाई सामाजिक सहयोग एवं समर्थन, स्याहारकर्ता तालिम र आवश्यक सहयोग माग गर्ने वातावरणका निम्ति आधार दिन्छ। यसले नीति, रणनीति निर्माण एवं स्रोतको मागलाई थप बलियो बनाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको-डिमेन्सियासहित बाँच्ने व्यक्तिहरूको पनि सम्मानपूर्ण र अधिकारयुक्त वातावरणको निर्माणमा टेवा पुग्छ।
डिमेन्सिया र अल्जाईमर्स रोगको सम्बन्धमा हामी सबैले पनि आ-आफ्नो तहमा भूमिका खेल्न सक्छौं। यदि कुनै ज्येष्ठ नागरिकमा बारम्बार बिर्सने वा अस्वाभाविक व्यवहार देखिन्छ भने परिवारका अन्य सदस्यलाई नीज ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न प्रोत्साहित गर्नुपर्छ। हामी सबैले डिमेन्सियाबारे जानकारी लिन, यसको जोखिमसंग सम्बन्धित कारकहरू (जस्तै: उच्च रक्तचाप, मधुमेह, धूमपान, मद्यपान, एकलकाटे जीवन शैली) बारेमा बुझ्न र यस रोगका सामाजिक प्रभावबारे सचेत रहन आवश्यक छ।
डिमेन्सिया भएका बिरामीको हेरचाह गर्ने परिवारलाई सहयोग गर्नु निकै नै महत्वपूर्ण पक्ष हो। सानोतिनो काममा पनि साथ दिनु, आराम गर्ने समय निकाल्नमा सहयोग गर्नु, सामान किनमेल गर्नमा सहयोग गर्नु, स्याहारकर्ताको कुरा सुन्न र बुझ्न समय दिनु जस्ता ससाना कुराहरुले पनि उनीहरूको बोझ हल्का पार्दछ। परिवार, विद्यालय वा सामुदायिक जमघटमा डिमेन्सियाबारे कुरा गर्ने वातावरण बनाउनुपर्छ। साथै, स्थानीय नेतृत्व वा स्वास्थ्य संस्थासँग यो रोगको स्क्रिनिङ, उपचार र सहयोगसंग सम्बन्धित माग उठाउनु पनि प्रत्येक नागरिकको जिम्मेवारी हो।
नेपालले यो बढ्दो चुनौतीलाई सामना गर्न औपचारिक रणनीति बनाउनु आवश्यक छ। राष्ट्रिय डिमेन्सिया रणनीति तयार गरी स्पष्ट लक्ष्य, बजेट र कार्यान्वयन योजना ल्याउनुपर्छ। प्राथमिक स्वास्थ्य केन्द्रमै सरल स्मृति परीक्षण गर्ने सुविधा हुनुपर्छ, विशेष गरी ग्रामीण क्षेत्रमा। त्यसैगरी हेरचाहकर्तालाई तालिम, परामर्श र विश्राम वा वित्तीय सहयोग सम्बन्धि नीति तर्जुमा गर्नुपर्छ।विभिन्न आम संचार-माध्यमहरुले स्थानीय भाषा र सामुदायिक कार्यक्रममार्फत सचेतना बढाउनुपर्छ। चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई डिमेन्सिया हेरचाहमा दक्ष बनाउन प्रशिक्षण दिनुपर्छ।साथै, नेपालका फरक-फरक समुदायमा डिमेन्सियाको प्रभाव बुझ्न थप अनुसन्धानका लागि सरोकारवालाहरूले थप पहल गर्नुपर्ने देखिन्छ।
(ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ डा कंडेल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्)