२०८२ को महान् चाड दशैंलाई हर्ष उल्लासका साथ मनाउने तयारीमा छौं। यस तयारीलाई खल्लो हुन नदिन हामीले खानपान र यसले स्वास्थ्यमा ल्याउने समस्याबारे पनि बुझ्न जरुरी छ।
प्रायजस्तो हामी नेपालीहरूको हिजोआजका संस्कृतिमा विशेष पर्वमा मांसाहारी तथा बजारमा पाइने सर्वसुलभ खाने कुराहरूको प्रयोग गर्ने प्रचलन छ। हिजोका दिनमा सुन्तलाको केस्रा आकारका चकलेटलाई चुस्दै खाने प्रचलन बालबालिकाहरूमा थियो।
पछिल्लो समय चकलेटहरू चुसेर भन्दा पनि चपाएरै खाने प्रकारका छन्। जुन दाँतको चेपमा अड्केर बस्ने गर्छ। त्यस्तै दशैंमा अन्य समयमा भन्दा मासुका परिकार बढी नै प्रयोगमा आउने गर्छ। त्यसैले खानेकुरा कसरी मिलाएर खाने भन्नेमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विगतमा मासुको परिकारको थोरै मात्रै सेवन हुने गर्थ्यो। हाल मासुका परिकारको प्रयोग धेरै र थोरै समय अवधिमा हुने गरेको छ।
कसरी खाने?
१. हामीले दशैंको पहिलो दिनबाट नै पोलेको, पूर्णरूपमा नपाकेको माछामासुहरूलाई जोडले चपाएर खानु हुँदैन। सामान्यतया चपाउँदा ६ सयदेखि १२ सय न्युटन (८० देखि १२० किलो भार) जतिको बल दाँत र वरपरका मांसपेशीहरूलाई दिने गर्छौं। माछामासुलाई सहज रुपमा खान सक्ने बनाउनका लागि कुकरमा सिठी लगाएर ग्रेभी बनाएर खानुपर्ने हुन्छ। त्यस्तै खानेकुरा अड्केको अवस्थामा डेन्टल फ्लसको प्रयोग गर्ने र मनतातो नुन पानीले ओठ बन्द गरेर दुई मिनेटसम्म कुल्ला गर्ने गर्दा आराम दिन्छ।
२. हामीले विशेषगरी रातिको खानापछि अनिवार्य रुपमा दाँतमा अड्किएका खानेकुरा निकालेर दाँत माझेर मात्रै सुत्ने बानी गर्नुपर्छ।
३. बिहान मनतातो पानीको सानोसानो चुस्की लिँदै दिनको सुरुवात गर्ने। उठ्ने बित्तिकै ब्रस गर्नु राम्रो होइन। बिहानै हाम्रो शरीरदेखि दाँतहरू समेत शिथिल अवस्थामा रहेका हुन्छन् त्यसकारण बिहान दाँतलाई चलाउनु राम्रो मानिँदैन। खाना खाएपछि मात्रै ब्रस गर्नुपर्छ।
४. दुईपटकको विशेष खानापछि ब्रस गर्ने त्यस बाहेक २० का हल्का खान पिनपछि ओठ बन्द गरी दुई मिनेटसम्म कुल्ला गर्ने र सफा गर्ने।
५ . मुखको सधैँको तापक्रम ३७ डिग्री हुन्छ जुन तापक्रममा अड्किएर बसेका खाना सहजै कुइने र मुख गनाउने गिजाबाट रगत आउने कालान्तरमा किरा लाग्ने समेत हुन्छ। यस्तो अवस्थामा ब्याक्टेरियाले मुखभित्र सहजै सञ्जाल बनाई दाँतलाई कम्सल बनाउने तथा भाँच्न भूमिका खेल्न सक्छ।