एआईद्वारा निर्मित तस्विर
काठमाडौं - चितवनकी १९ वर्षीया एक युवती केही दिनअघि ट्रेकिङ गर्न घान्द्रुक गइन्। ट्रेकिङबाट फर्केको केही समयपछि उनलाई सास फेर्न समस्या भयो। गाह्रो हुँदै गएपछि उनी रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल पुगिन्।
परीक्षणपछि थाहा भयो, उनलाई दमको समस्या रहेछ। जुन पहिलो पटक निदान भएको थियो। यसअघि उनलाई दमको समस्या पत्ता लागेको थिएन। तर उनको परिवारमा भने दमको समस्या थियो। चिसोका कारण उनको दमको समस्या सुरु भएको उपचारमा संलग्न कन्सल्टेन्ट फिजिसियन डा शशांक कुमार सिंहले बताए।
उनले भने, ‘चिसोले श्वासनली खुम्चेर सास फेर्न गाह्रो भएका कारण उहाँ अस्पताल आउनु भएको थियो। उहाँलाई पहिलो पटक दम भएको पत्ता लागेको हो। चिसोले ट्रिगर गराउँछ। अनि समस्या निम्तन्छ।’
केही दिनको अस्पताल बसाईपछि निको भएर हाल उनी घर फर्किएकी छिन्। यो सँगै बिहानको चिसोमा नुहाउँदा, मर्निङ्ग वाकमा जाँदा दम बढेर, निमोनिया भएर अस्पताल पुग्नेहरु दैनिक बढीरहेका छन्।
गत साता मात्रै बकुलहर अस्पतालको ओपिडीमा करिब दैनिक १ हजार बढी बिरामी पुगेका थिए। तीमध्ये ५ सय जति बिरामी अस्पतालको मेडिसिन/फिजिसियन ओपिडीमा पुग्छन्। उनीहरुमा पनि ६० प्रतिशत बिरामी चिसोका कारण समस्या बढेर आउनेहरु हुने गरेको डा सिंहले बताए।
बढ्दो चिसोसँगै अस्पताल आउने बिरामीहरुको यो संख्या पनि विस्तारै बढ्दै जाने उनले बताए। विशेषगरी चिसोमा हुने शितलहरले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या बढाउने गरेको उनको अनुभव छ।
चिसो मौसमको शितलहरले स्वास्थ्यमा पार्ने प्रभाव
चिसोमा शितलहरले शरीरको तापक्रम अत्यधिक घटाउँछ र, प्रतिरक्षात्मक क्षमता कमजोर बनाउँछ।सामान्यतया शरीरको तापक्रम ३६ दशमलव ५ देखि ३७ दशमलव ५ डिग्री सेल्सियस हुन्छ।
तर शितलहरले अत्यधिक चिसो हुँदा शरीर चिसिएर शरीरको तापक्रम ३५ डिग्री सेल्सियस वा ९५ डिग्री फेरेनहाइटभन्दा तल झर्छ, जसलाई चिकित्सकीय भाषामा हाइपोथर्मिया भनिन्छ।
हाइपोथर्मियाकै कारण चिसोमा जोखिम वर्गका मानिसको मृत्यु समेत हुने गरेको डा सिंहले बताए। शरीरको तापक्रम अत्यन्तै तल झर्दा शरीरका महत्वपूर्ण अंगहरु (मुटु, मस्तिष्क, फोक्सो) ले सुचारु रुपमा काम गर्न छाड्छन्।
विशेषगरी बाहिर खुला रुपमा काम गर्ने, पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवतीहरु यसको उच्च जोखिममा पर्छन्। यी समूहका व्यक्तिमा चिसोले छिट्टै स्वास्थ्य जटिलता बढाउँछ। चिसोमा निमोनिया, दम, उच्च रक्तचाप बढ्ने, जोर्नी दुख्ने, छाला फुट्ने समस्या देखिने गरेको उनले बताए।
इन्फ्लुएन्जा लगायतका भाइरसहरु पनि चिसोमै बढी सक्रिय हुने भएकाले श्वासप्रश्वास सम्बन्धी अन्य समस्याहरु पनि बढेर जाने उनले बताए।
उनले भने, ‘चिसोले श्वासप्रणालीको प्रतिरक्षात्मक क्षमता कमजोर बनाउँछ। जसले भाइल फ्लु, निमोनिया, ब्रोंकाइटिसको जोखिम बढाउँछ। समयमै उपचार नहुँदा अवस्था जटिल भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि आउन सक्छ।’
कस्तो अवस्थामा तुरुन्त अस्पताल जाने ?
चिसोले शरीरमा एकै पटक जटिलता निम्त्याउँदैन। सावधानी नअपनाउँदा यसले स्वास्थ्य जटिलता ल्याउने हो। जसमा विभिन्न प्रारम्भिक लक्षणहरु पनि देखा पर्छन्। डा सिंहका अनुसार यी लक्षणहरु देखिए तुरुन्त अस्पताल जानुपर्छ :
– ३ दिनभन्दा बढी उच्च ज्वरो आउनु
– सास फेर्न गाह्रो हुने तथा छाति दुख्नु
– अनुहार, ओठ निलो देखिनु
– अत्यधिक काप्ने, पर्याप्त कपडा लगाउँदा पनि शरीर चिसो भइरहने, तातोपन नफर्किने
– बालबालिका भए दुध नखाने, सुस्त देखिने
– वृद्धवृद्धा भए अचानक बेहोसजस्तो हुने÷बोलाइ सुस्त अथवा लडबडिने आदि।
यस किसिमको लक्षण देखिए ढिला नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जान उनको सुझाव छ।
कसरी बच्ने ?
चिसोले निम्त्याउने स्वास्थ्य समस्याबाट बच्न काम बाहेक अनावश्यक रुपमा बाहिर ननिस्कन चिकित्सकको सुझाव छ। जोखिम समूहमा पर्ने व्यक्तिले वर्षेनी निमोनिया र इन्फ्लुएन्जाको खोप लगाए यी समस्याबाट बच्न सकिने डा सिंहले बताए।
यो सँगै तह तह (लेयरिङ) गरेर न्यानो कपडा लगाउन, तातो पानी, सुप, झोलिलो र पौष्टिक खानेकुरा खान उनको सुझाव छ। घरभित्र हिटर र एसी प्रयोग गर्दा हावापास (भेन्टिलेसन) हुने गरेर मात्र न्यानो बनाउनुपर्ने उनले बताए।
चिसो हटाउन भन्दै कतिपयले धूम्रपान तथा मद्यपान पनि गर्ने गर्छन्। जुन एकदमै गलत भ्रम भएको भन्दै उनी स्पष्ट पार्छन्, ‘मदिरा सेवनले शरीरको तापक्रम बढाउने नभई झन् घटाउँछ। यसले शरीर तातो बनाउँछ भन्ने कुरा सबै अफवाह मात्र हो।’
यस वर्ष २१ जिल्ला शितलहरबाट बढी प्रभावित हुने
सरकारले यस वर्ष २१ जिल्ला शितलहरबाट बढी प्रभावित हुने प्रक्षेपण गरेको छ।
कोशी प्रदेश – झापा, सुनसरी, मोरङ
मधेश प्रदेश – सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा
बागमति प्रदेश – चितवन
गण्डकी प्रदेश – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
लुम्बिनी प्रदेश – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया
सुदुरपश्चिम प्रदेश – कैलाली, कञ्चनपुर
कम प्रभावित हुने जिल्लाहरुमा कोशी प्रदेशको उदयपुर, बागमति प्रदेशको मकवानपुर, सिन्धुली र कर्णाली प्रदेशको सुर्खेत हुन्। तराई मधेशका जिल्लाहरुमा मंसिरदेखि फागुनसम्म शितलहरका प्रभाव पर्ने गरेको छ।