कत्ले रोग छालामा हुने एक प्रकारको दीर्घ वा लामो समयसम्म रहने रोग हो। खासै नचिलाउने, हलुका रातो वा सेतो कत्ला–कत्ला देखिनु नै कत्ले रोग हो। यस्तो कत्ला कुहिना, घुँडा, टाउकोमा आउनसक्छ। कत्ले रोगले छाला, नङ र कपालमा असर गर्छ भने लामो समयमा हड्डीलाई समेत असर गर्नसक्छ। यो समस्या वयस्क व्यक्तिहरुमा नै बढी देखिएको पाइन्छ।
सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाममा बढी देखिने गर्छ। मदिरा सेवन तथा धूमपान गर्ने, तनाव लिने र सुख्खा छाला भएका व्यक्तिमा यो समस्या बढ्ने गरेको पाइन्छ।
यो छालाबाट नङमा फैलिएको अवस्थामा नङ बाक्लो हुने र नङको रङ परिवर्तन हुने लक्षण देखिन्छ। शरीरमा जस्तै टाउकोमा पनि यस्ता कत्लाहरु देखिन सक्छन्। कहिलेकाहीँ शरीरभर नै फैलिन सक्छन्।
पछिल्ला अनुसन्धानले कत्ले रोगको समयमै उपचार नगर्दा अन्य समस्या पनि देखिनसक्ने देखाएको छ। कत्ले रोग लागेका व्यक्तिलाई ‘सोरायटिक आर्थराइटिस’ अर्थात् बाथ रोग पनि हुनसक्छ। यस्तै मोटोपनको समस्या भएका व्यक्तिलाई कत्ले रोग छ भने मधुमेह तथा मेटावोलिक सिन्डो«म र मुटुमा पनि समस्या हुनसक्ने भनिएको छ।
के छ उपचार?
कत्ले रोगको समयमै पूर्ण उपचार गरेमा निको पार्न सकिन्छ। तर निस्तेज पार्न भने सकिँदैन। निको भएको अवस्थामा पनि यो रोग फेरि बल्झिन सक्छ। त्यसैले यो रोगलाई क्रोनिक डिजिज पनि भनिन्छ।
नर्भिक अस्पतालमा यो रोगका बिरामी एक महिनामा करिब दश जना आउनुहुन्छ। कत्ले रोगको समस्या भएमा छालारोग विशेषज्ञसँग परामर्श लिएर मात्र औषधि प्रयोग गर्नुपर्छ। हामीकहाँ आउने बिरामीको कत्ले रोगको अवस्था अनुसार रगत परीक्षण गराएर मात्र औषधि चलाउछौँ। चिकित्सकको सल्लाहअनुसार उपचार सम्भव छ। कतिपय व्यक्तिहरु एक्जिमासँग दाँजेर अन्योलग्रस्त भएर बस्नुहुन्छ र, ढिला उपचारमा आउनुहुन्छ।
रोगको सुरुवाती अवस्थामा मल्हम र मोस्चराइजर क्रिमले पनि नियन्त्रण हुनसक्छ। तर, शरीरभर फैलिएमा रोगको अवस्था हेरेर खाने औषधि दिएर पनि उपचार गर्नुपर्ने हुन्छ।
फेरि लाग्न नदिन के गर्ने?
– लक्षण देखिएको छ छैन याद गर्ने
– शरीरलाई चिल्लो राख्ने
– धेरै तातो पानीले ननुहाउने
– धेरै कडा किसिमको साबुन वा स्याम्पुको प्रयोग नगर्ने।
यो रोगले मानिसको मृत्यु नै त हुँदैन। तर यसले तपाईंको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्नसक्छ।
कपालमा हुने चाँया र यसमा के फरक छ?
चाँया र कत्ले रोगको लक्षण फरक हुन्छ। चाँया टाउकोभरि नै सेतो भएर आउँछ। तर कत्ले रोग लागेमा टाउकोमा ठाउँ–ठाउँमा कत्ला देखिन्छ। चाँयाको कारण कपाल झर्छ। तर कत्ले रोग लाग्दा कपाल झर्दैन। चाँया परेमा टाउको चिलाउने गर्छ तर कत्ले रोगमा टाउको चिलाउँदैन।
कत्ले रोग एक्जिमा वा दाद होइन
कत्ले रोग लागेका व्यक्तिहरु एक्जिमा वा दाद होला भन्ने सोच्छन्। कम चिलाउने र विस्तारै फैलिने हुँदा बिरामीहरु समयमै उपचार गराउन आउनुहुन्न। तर यो रोग एक्जिमा र दादभन्दा फरक छ। कत्ले रोगमा सेता बाक्ला कत्ला देखिन्छन्। यो किटाणुको कारण लाग्ने रोग होइन।
(प्राडा कार्की वीर अस्पताल र नर्भिक अस्पतालमा वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञको रुपमा कार्यरत छिन्।)