जाडोयाममा न्यानो रहन आगो ताप्ने वा हिटर प्रयोग गर्ने गरिन्छ। गाउँघरमा दाउरा, कोइला, भुस, गुइँठा वा मकल बालेर आगो ताप्ने पुरानो चलन हो। शहरबजारमा न्यानो हुन हिटर तथा तातोपानीका लागि ग्याँस गिजरको प्रयोग बढेको छ। चिसोबाट बँच्न प्रयोग गरिने यस्ता उपायले स्वास्थ्य र जीवनलाई नै जोखिममा पार्न पनि सक्छ।
बेलुका हिटर बालेर सुतेको व्यक्ति बिहान मृत भेटिएको, बन्द कोठामा आगो बालेर सुत्दा निस्सासिएर मृत्यु भएको तथा बाथरुममा नुहाउँदै गरेको व्यक्ति बेहोस भएको घटना पनि सुन्नुभएको होला। हामीले हरेक वर्ष जाडोयाममा यस्ता दुर्घटनाका समाचार देखे–सुनेका छौं। त्यसैले यस्ता वस्तु प्रयोग गर्नुअघि सावधानी अपनाउनुपर्ने हुन्छ।
दाउरा, कोइला लगायतका वस्तु बाल्दा धुँवा निस्किन्छ। यो धुँवा श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगेर असर गर्छ। यदि पहिलादेखि नै फोक्सोको रोग छ भने झनै बल्झिन सक्छ। कोठा न्यानो राख्न आगो बाल्दा निस्किने धुँवा र हिटरबाट विषाक्त कार्बनमोनोक्साइड उत्पादन हुन्छ। हाम्रो शरीरले अक्सिजन भन्दा विषाक्त कार्बनमोनोक्साइड पचास गुणा बढी लिन्छ, जसले शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र ज्यानै जानसक्छ।
कसरी प्रयोग गर्ने ?
शरीरलाई न्यानो राख्न सबैभन्दा उत्तम उपाय भनेको न्यानो कपडाको प्रयोग नै हो। ग्यास हिटरको प्रयोग गरेर तातोपानीमा नुहाउँदा तथा आगो ताप्नै पर्ने अवस्थामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
कोइला वा हिटर प्रयोग गर्दा के गर्ने ?
–झ्याल वा ढोका खोलेर कोठाको भेन्टिलेसन कायम गर्नुपर्छ। भेन्टिलेसनले अक्सिजन कम हुन दिँदैन र श्वासप्रश्वासमा समस्या हुनबाट जोगाउँछ।
– हिटर वा कोइला राखेको नजिकै कचौरा, बाल्टी वा थालमा पानी राख्न पनि सकिन्छ। जसले छाला सुक्खा हुन दिँदैन।
– राती निदाउनु अघि नै आगो निभाउने वा हिटर बन्द गर्नुपर्छ। यसबाट कार्बनमोनोक्साइड फैलिएर सुत्दा निस्सासिने वा मृत्यु हुने जोखिम हुँदैन।
– आगो वा हिटरको नजिकै कपडा वा कागज राख्नु हुँदैन। यसले आगलागी हुनबाट जोगाउँछ।
(डा. अच्युतभक्त आचार्य नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्टको रुपमा कार्यरत छन्।)