काठमाडौं - रतगको नसाभित्र जमेको रगतको डल्लो (ब्लड क्लट) ले मुटु र फोक्सो जोड्ने रगतको नसालाई थुनिदिएर देखिने समस्यालाई पल्मोनरी इम्बोलिज्म भनिन्छ।
गर्भमा बच्चा रहेको समयदेखि प्रसूती भएको ६ हप्तासम्म कुनै पनि समयमा अचानक आमाको होसको अवस्थामा ह्रास आउनु तथा मृत्यु नै हुन सक्ने अवस्था (सडेन म्याटर्नल कोल्याप्स) को महत्वपूर्ण कारण हो, पल्मोनरी इम्बोलिज्म।
यो अवस्था १० हजार जना गर्भावस्थाका महिलामा १ देखि २ जनासम्म देखिन सक्छ। वार्षिक करिब १० देखि १२ हजारसम्म सुत्केरी हुने भरतपुर अस्पतालमा पनि हरेक वर्ष १ देखि २ जना महिलाहरुमा यस समस्याका कारणले ज्यान जोखिममा परेको देखिन्छ।
गर्भावस्थाको समयमा निम्नलिखित कारणले पल्मोनरी इम्बोलिज्मको जोखिम बढी हुने गर्दछ :
१. नसाभित्र रगत जमाउने तत्वहरुको सक्रियता बढनु
२. बढ्दो पाठेघरले रगतको नसा थिचेर रगत विस्तारै बग्नु
३. प्रसुतीको समयमा रगतको नसा भित्रि तहमा चोट लाग्न सक्नु।
आरामसँग बसेको गर्भावस्थामा या सुत्केरी पश्चातको महिलामा अचानक सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मुटुको धड्कन बढ्ने, रक्तचाप घट्ने, बेहोस हुने अथवा अचानक मृत्यु नै हुन सक्ने यसका लक्षणहरु हुन्।
रगतको नसामा ठुलो रगतको डल्लाले थुनिएको अवस्थामा ३० देखि ६० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ। त्यसैले तुरुन्तै रोगको पहिचान र सीसीयुमा बिरामीको उपचार नै ज्यान जोगाउने मुख्य उपाय हुन्। अन्य उपचार बाहेक डेलिभरीपछि सक्दो छिटो आमालाई हिडाउने, हात गोडा चलाउने, लामो समय स्थिर नबस्ने, प्रशस्त पानी पिउने आदि गरेमा पल्मोनरी इम्बोलिज्मको दरलाई घटाउन सकिन्छ।
(भरतपुर अस्पतालको बुलेटिन पुस्तकमा प्रकाशित सिनियर कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा रामप्रसाद सापकोटाको लेख)