निमोनिया फोक्सोमा हुने संक्रमण हो। यो संक्रमण भाइरस,ब्याक्टेरिया तथा अन्य जिवाणुको कारणले हुन्छ। बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा निमोनिया हुने जोखिम उच्च रहन्छ। कुनै–कुनै औषधीले पनि मानिसमा निमोनियाको जोखिम बढाउँछ।
स्टेरोइड लिइरहेका, मिर्गौला प्रत्यारोपण गरेका, पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ६५ वर्षभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकमा निमोनियाको संक्रमण बढी हुनसक्छ। यस्ता व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा हावामा भएका किटाणुहरुले फोक्सोमा संक्रमण गरेर निमोनिया उत्पन्न गराउँछन्।
निमोनिया भएका बिरामीमध्ये ४० प्रतिशतमा न्युमोकोक्स नामक ब्याक्टेरियाको कारणले भएको पाइन्छ। शरीरको प्रतिरोधात्मक क्षमता राम्रो भएका व्यक्तिमा पनि निमोनिया हुनसक्छ। एचआईभी संक्रमितमा पनि निमोनियाको जोखिम रहन्छ।
निमोनियाका लक्षण
– रुघाखोकी लाग्ने
– उच्च वा काम ज्वरो आउने
–पहेँलो खकार आउने
– कमजोरी हुने
–खान मन नलाग्ने
–सास फेर्न गाह्रो हुने
– अक्सिजनको कमी हुने
–छाती दुख्ने।
यस्तो लक्षण भएका व्यक्तिमा रगतको जाँच तथा छातीको एक्स–रे गरेर हेर्नुपर्ने हुन्छ।
के छ उपचार ?
फोक्सोको कति प्रतिशत भागमा निमोनियाले असर पुर्याएको छ, त्यसैको आधारमा बिरामीको उपचार गरिन्छ। सामान्य अवस्थामा ओपीडीबाटै जाँच गरेर बिरामीलाई औषधी दिने गरिन्छ। तर सिकिस्त भएमा आइसीयुमै राखेर पनि उपचार गर्नुपर्ने हुन्छ। ब्याक्टेरियाबाट हुने निमोनियामा एन्टीबायोटिक औषधी दिइन्छ। भाइरसबाट हुने निमोनियामा कुनै उपचार हुँदैन, एक सातामा आफै सन्चो हुनसक्छ।
जाडोयाममा निमोनियाको जोखिम
चिसो वा जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्क व्यक्तिमा पनि निमोनिया हुनसक्ने जोखिम बढी रहन्छ। ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा मुटुको समस्याभन्दा निमोनियाको कारणबाट मृत्यु हुने सम्भावना अधिक हुन्छ। त्यसैले निमोनियालाई सामान्य रुपमा लिनु हुँदैन। निमोनियाबाट जोगिने उपाय अपनाउनुर्छ।
निमोनियाको जोखिममा रहेका व्यक्तिले के गर्ने ?
न्यानो भएर बस्ने, चिसोबाट जोगिने, न्यानो कपडा लगाउने, तापमान कम भएमा हिटर ताप्ने, चिसो खानेकुरा नखाने।
निमोनियाको जोखिम घटाउन खोप
निमोनियाको जोखिम घटाउन खोपको प्रयोग प्रभावकारी मानिन्छ। निमोनियाविरुद्ध हामीकहाँ दुई प्रकारका खोप प्रयोगमा छन्–न्युमोकोकल र इन्फ्लुएन्जाको खोप।
न्युमोकोकल खोप जीवनमा एकपटक लगाउँदा हुन्छ। इन्फ्लुएन्जाको खोप हरेक वर्ष जाडो मौसम सुरु हुनुअघि लगाउन सकिन्छ। यो खोप लगाउँदा जाडोको कारण हुने भाइरल इन्फेक्सन तथा भाइरल निमोनियाबाट बँच्न सकिन्छ।
यो खोप रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि हो। त्यसैले सबै उमेरका व्यक्तिलाई दिन मिल्छ।
५ वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र मिर्गौला, मुटु, फोक्सो, दीर्घ दमको समस्या भएका बिरामीलाई हरेक वर्ष इन्फ्लुएन्जा खोप दिन उपयुक्त हुन्छ।
वातावरणमा भएको प्रदूषण तथा धुँवाधूलोले पनि निमोनियाको बढी जोखिम हुने हुँदा, त्यसबाट पनि जोगिनु उपयुक्त हुन्छ। यदि निमोनियाको लक्षण देखिएको छ भने चिकित्सकसँग सम्पर्क गरी सल्लाहबमोजिम उपचार गर्नुपर्छ।
-(प्राडा ब्रजेन्द्र श्रीवास्तव नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्टको रुपमा कार्यरत छन्।)