काठमाडौं – नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। यो एक संक्रामक रोग हो, जसले हरेक वर्ष हजारौं मानिसलाई प्रभावित पारिरहेको छ।
विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन्, जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको छ। साथै, हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एक लाखमा ५३ रहेको छ।
नेपालमा क्षयरोग एक जनस्वास्थ्य समस्याका रूपमा रहिआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेल बताउँछन्। क्षयरोगका कारण नेपालमा हाल दैनिक ४४ जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए। नेपालले करिब ९० वर्षअघि देखि नै क्षयरोगविरुद्ध काम गरिरहेको भए पनि यसमा पर्याप्त सफलता हासिल गर्न नसकिएको उनले स्वीकार गरे।
क्षयरोगको खोजपड्ताल, उपचार व्यवस्थापन तथा निदानात्मक कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको उनी बताउँछन्। कतिपय संक्रमित उपचारको दायरामा नआउँदा उनीहरूले समुदायमा अन्यलाई रोग सारिरहेकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको डा. पौडेलको धारणा छ।
“पछिल्लो समय एआई एक्स–रे र पीसीआर परीक्षणको व्यवस्था गरिएको छ,” डा. पौडेलले भने, “बिरामी उपचारको दायरामा आएमा पूर्ण रूपमा निको हुन सक्छ।” एआई एक्स–रे र पीसीआर परीक्षणको पहुँच नभएका स्थानहरूमा समेत विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
पहिचान र सेवा विस्तार
तीनै तहका सरकार क्षयरोग कार्यक्रमलाई अगाडि बढाउन प्रतिबद्ध रहेको डा. पौडेल बताउँछन्। हाल स्थानीय सरकारअन्तर्गत ६ हजारभन्दा बढी स्वास्थ्य संस्था (डट्स केन्द्र) बाट सेवा दिइएको उनले जानकारी दिए।
स्थानीय स्तरका जनशक्तिलाई तालिम दिने तथा क्षमता अभिवृद्धि गर्ने कामहरू भइरहेको उनले बताए। निदानात्मक सेवालाई दूरदराजसम्म विस्तार गर्ने योजना रहेको छ।
कतिपय अध्ययनले क्षयरोगका बिरामी आर्थिक जोखिममा पर्ने देखाएको भन्दै उपचारमा आर्थिक भार नपरोस् भन्नेमा सरकार सचेत रहेको उनले बताए। आगामी दिनमा यस्तो जोखिम कम वा शून्य बनाउने नीति लिइएको उनको भनाइ छ।
बिरामीहरूको औषधि, खकार परीक्षण तथा पीसीआर परीक्षण निःशुल्क गरिएको छ। साथै, निजी क्षेत्रसँग सहकार्य गरेर कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए। निकट भविष्यमा गम्भीर प्रकारका क्षयरोगका बिरामीलाई स्वास्थ्य बीमा सेवामा समावेश गर्ने तयारी पनि भइरहेको छ।
उनका अनुसार सबै स्थानमा महँगा उपकरण उपलब्ध गराउन सम्भव नभएकाले जिल्लाको सदरमुकामसम्म पीसीआर परीक्षण विस्तार गर्ने योजना छ।
नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको पनि उनले बताए। देशभरका ६,२४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।
औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेका छन्। साथै, १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ। एआई जडित ९ डिजिटल एक्स–रेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य भइरहेको छ।
क्षयरोगमुक्त अभियान
यो अभियान हाल करिब १५० स्थानीय तहमा सञ्चालनमा रहेको छ। यसका लागि नीतिगत तथा व्यवस्थापकीय काम संघीय सरकारले गरिरहेको छ। औषधि तथा अन्य आवश्यक खर्चको व्यवस्थापन पनि संघीय सरकारले गर्दै आएको छ।
आगामी दिनमा अन्य स्थानीय तहमा समेत अभियान विस्तार गर्ने योजना रहेको डा. पौडेल बताउँछन्। आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने भएकाले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यक्रम सञ्चालन हुनुपर्ने उनको धारणा छ।
सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखिए पनि संक्रमणदर घटाउन अझ धेरै काम गर्न आवश्यक रहेको उनी बताउँछन्। “यो लक्ष्य हासिल गर्न प्रति लाख जनसंख्यामा ३० भन्दा कम बिरामीमा झार्नुपर्ने हुन्छ,” उनले भने, “यसका लागि सबै तहको सहकार्य र समन्वय अपरिहार्य छ।”
के हो क्षयरोग?
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट हुने एक गम्भीर संक्रामक रोग हो, जसले मुख्यतया फोक्सोलाई असर गर्छ। यो संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा हावामार्फत फैलिन्छ र शरीरका अन्य अंगहरू (हड्डी, मस्तिष्क, मिर्गौला) मा पनि असर गर्न सक्छ। यो पूर्ण रूपमा निको हुन सक्ने रोग हो।
सर्ने तरिका: संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा आउँदा, खोक्दा वा हाच्छिउँ गर्दा हावामा फैलिएको ब्याक्टेरियाबाट सर्छ।
मुख्य लक्षणहरू: दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु, साँझपख ज्वरो आउनु, राति पसिना आउनु, तौल घट्नु र छाती दुख्नु।
प्रकार: दुई प्रकारका हुन्छन्—फुफ्फुसीय (फोक्सोमा लाग्ने) र एक्स्ट्रापल्मोनरी (फोक्सो बाहेकका अंगमा लाग्ने)।
उपचार: ६ महिना वा सोभन्दा बढी समयसम्म विशेष एन्टिबायोटिक औषधिको नियमित सेवनबाट निको हुन्छ।
जोखिम: कमजोर प्रतिरक्षा प्रणाली, मधुमेह वा एचआईभी भएका व्यक्तिहरूमा जोखिम बढी हुन्छ।
सावधानी:
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
सक्रिय क्षयरोगीसँग लामो समयको सम्पर्कबाट बच्ने
लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार सुरु गर्ने