काठमाडौं- मुटुको शल्यक्रियामा प्रयोग हुने औजारसम्बन्धी विषयमा प्रकाशित समाचारप्रति व्यवसायी उमेश अग्रवालले आफू र आफ्नो कम्पनीमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्। उनले स्वास्थ्यखबरमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती आरोपहरू 'पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित' रहेको दाबी गरेका छन्।
स्वास्थ्यखबरले वैशाख १४ गते 'उमेश अग्रवाल नेतृत्वको बायोमेडद्वारा मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी' शिर्षकमा समाचार प्रकाशन गरेको थियो।
बायोमेडले अस्पतालसँगको सम्झौतामा उल्लेखित स्पेसिफिकेसन अनुसारका सामग्री नल्याएको, केही अत्यावश्यक सामग्री नै उपलब्ध नगराएको र केही सामग्री सम्झौता विपरित फरक र न्यून गुणस्तरको भिराउन खोजेको फेला परेपछि गंगालालले सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाउँदै कालो सूचीमा राख्न भनेको विषय समाचारमा उल्लेख छ।
स्वास्थ्यखबरले गंगालालले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पठाएको पत्रसहित प्रकाशित गरेको समाचारका विषय एकतर्फी भएको दाबी गरेको छ।
प्रेस काउन्सिल नेपाल मार्फत स्वास्थ्यखबरमा आएको खण्डन अनुसार समाचारमा आफ्नो कम्पनी र सञ्चालक समितिका अध्यक्षलाई व्यक्तिगत रूपमा जोडेर लगाइएका आरोपले एकतर्फी रूपमा बदनाम गराउने उद्देश्य राखेको उल्लेख छ।
बायोमेडले गंगालालमा प्रचलित कानुन र सम्झौताको परिधिभित्र रहेर काम गरेको दाबी गरेको छ। 'हामीले प्रचलित कानुन र सम्झौताको परिधिभित्र रही कार्य गरिरहेका छौं र कुनै पनि प्रकारको ठगी वा धोखाधाडीमा हाम्रो संलग्नता छैन,' उनले भनेका छन्।
तर बायोमेडले गंगालालले गरेको पटक पटकको मौखिक र दुई पटक सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखेको पत्रका विषयमा भने खण्डन पत्रमा कुनै कुरा उल्लेख गरेको छैन। बायोमेडले समाचारमा उल्लेख भएका पत्र र प्रमाणहरुका विषयमा पनि बोलेको छैन। बरु बायोमेडले खरिदको विषयमा विवाद रहेको र उक्त विषय अदालतसम्म पुगेको विषय भने घुमाउरो ढंगले स्वीकार गरेको छ।
हेरौं बायोमेडले पठाएको खण्डन पत्रको पिडिएफ