नेपाल सरकारको नवनियुक्त स्वास्थ्यमन्त्री नियुक्त भएको दिन मैले फेसबुकमा बधाई पोस्ट राखेकी थिएँ। एकजना विदेश बस्ने शुभचिन्तकले "नर्स पनि स्वास्थ्यमन्त्री हुँदा रहेछन् है?" भनेर म्यासेज गर्नुभयो। मैले "यता हैन महोदय, पोस्टमै कमेन्ट गर्नुस्, जवाफ दिउँला" भनें।
परिवार योजना (स्थायी बन्ध्याकरण) शिविरका लागि म रामपुर अस्पतालमा आयोजकका रूपमा गएकी थिएँ। सेवाग्राहीहरूलाई राखेर नाम दर्ताका लागि परामर्श दिँदै गर्दा लाइनमा बसिरहेका एकजना सेवाग्राहीले "यस्तै नर्सहरूले गर्दा होला बिरामीको आधा रोग निको हुने" भनिरहेको सुनें। त्यो सुन्दा आत्मसन्तुष्टि मिल्यो।
राति सुत्ने तरखरमा थिएँ, मोबाइल स्क्रोल गर्दा नोबेल मेडिकल कलेजमा भिजिटरद्वारा ड्युटीमा रहेका नर्सहरूलाई दिइएको धम्की र अभद्र व्यवहारको भिडियो देखें। मन आत्तियो, मुटुको धड्कन बढ्यो, सास नै रोकिएला जस्तो भयो। दुई-तीन पटक भिडियो हेरें, निद्रा पटक्कै आएन। मनमा कुरा खेलिरह्यो— यदि त्यही ठाउँमा म भइदिएको भए?
राष्ट्रिय ट्रमा अस्पतालको इमर्जेन्सी वार्डमा 'इभिनिङ ड्युटी'मा थिएँ। दुर्घटनाका केसहरू थुप्रै आए। ती म्यानेज गरेर घर पुग्दा रातिको १० बज्यो। छोरी भर्याङमा कुरिरहेकी थिइन्। मलाई देख्नासाथ "हजुरको घर वीर अस्पताल हो, त्यहीं बसिस्यो, यहाँ नआइस्यो" भनिन्। त्यो आवाज सुनेर मन भारी भयो।
आदि... इत्यादि।
नर्सिङ पेसा मानव सेवासँग प्रत्यक्ष रूपमा जोडिएको एक सम्मानित र जिम्मेवार पेसा हो। यो पेसा मानवीय संवेदनशीलता, विज्ञान र सेवाको अद्वितीय संगम हो। नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्ड पनि भन्ने गरिन्छ। वर्तमान समयमा देश तथा विदेशमा नर्सहरूको माग बढ्दै गएकाले रोजगारी, करियर विकास, उच्च शिक्षा र नेतृत्व गर्ने अवसरहरू प्रशस्त छन्। अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य कार्यक्रम, शिक्षण संस्था तथा अनुसन्धान क्षेत्रमा नर्सहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्। उच्च शिक्षा हासिल गरेर विशेषज्ञ नर्स, प्रशिक्षक, प्रशासक वा अनुसन्धानकर्ताका रूपमा अघि बढ्ने सम्भावना पनि बढेको छ। आधुनिक प्रविधि र स्वास्थ्य सेवाको विस्तारसँगै नर्सिङ क्षेत्रमा नयाँ-नयाँ अवसर सिर्जना भइरहेका छन्।
नर्सिङ पेसासाग सम्बन्धित केही हालका तथ्याङ्कहरू:
नेपाल नर्सिङ काउन्सिलका अनुसार: २०२६ सम्म नेपालमा दर्ता भएका नर्स तथा मिडवाइफको संख्या करिब १,२८,८४० पुगेको छ। यसमध्ये रजिस्टर्ड नर्स ८८,२३२ र ए.एन.एम ३७,६०१ रहेका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) को २०२५ प्रतिवेदन अनुसार: विश्वभर नर्सहरूको संख्या सन् २०१८ मा २७.९ मिलियनबाट बढेर २०२३ मा २९.८ मिलियन पुगेको छ।
महिला योगदान: WHO का अनुसार विश्वका करिब ८५% नर्स महिला छन्, जसले नर्सिङ क्षेत्रमा महिलाको ठूलो योगदान देखाउँछ।
जनशक्ति अभाव: नेपालमा हाल करिब ५०,५०० नर्स कार्यरत छन्, तर आवश्यक संख्या ६५,००० भन्दा बढी रहेको बताइएको छ। अर्थात्, करिब १५,००० नर्सको अभाव छ।
भविष्यको आवश्यकता: स्वास्थ्य मन्त्रालयको अनुमान अनुसार नेपाललाई सन् २०३० सम्म करिब ८१,००० नर्स आवश्यक पर्नेछ।
जनशक्ति पलायन (Brain Drain): सन् २००२ देखि मार्च २०२५ सम्म करिब ४५,४०० नेपाली नर्सहरूले विदेश जान 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) लिएका छन्।
नेपालजस्तो विकासोन्मुख देशमा नर्सिङ पेसाले अनेकौँ अवसर बोकेको छ, तर सँगसँगै थुप्रै चुनौती पनि खडा गरेको छ।
अवसरहरू:
१. रोजगारीको माग र सरकारी योजना: स्वास्थ्य क्षेत्रको विस्तारसँगै नर्सिङका क्षेत्रहरू विविध हुँदै गएका छन्। सघन उपचार (आइसियू), कार्डियाक केयर, जेरियाट्रिक, मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य, शिक्षा तथा व्यवस्थापनमा नर्सहरूको माग उच्च छ। सरकारले नर्सको संख्या वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ र नर्स-बिरामी अनुपात कायम गर्न संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण अघि बढाएको छ।
२. अन्तर्राष्ट्रिय अवसर: अन्तर्राष्ट्रिय बजारमा नेपाली नर्सहरूको राम्रो माग छ। अमेरिका, अस्ट्रेलिया, युएई, डेनमार्क, बेलायत, क्यानडा र जापान लगायतका मुलुकमा नेपाली नर्सहरूले राम्रो आम्दानी, प्रविधिमैत्री वातावरण र सम्मान पाइरहेका छन्।
३. व्यावसायिक संगठनको सक्रियता: नेपाल नर्सिङ संघ लगायतका संस्थाहरूले नर्सका समस्या समाधान र नर्सिङ दरबन्दी वृद्धिका लागि सरकारसँग निरन्तर प्रयास गरिरहेका छन्।
४. विश्वव्यापी सम्मान: कोरोना महामारीले नर्सको भूमिकाप्रति विश्वव्यापी सम्मान बढाएको छ। फलस्वरूप अहिले नर्सिङ शिक्षा र नेतृत्व विकासमा लगानी बढ्न थालेको छ।
चुनौतीहरू:
१. कार्यबोझ र कर्मचारी अभाव: नेपालको स्वास्थ्य प्रणालीले अहिले ६४,००० स्वास्थ्यकर्मीको अभाव भोगिरहेको छ। नर्स र जनसंख्याको अनुपात प्रति १,००० जनसंख्यामा २.२ जना मात्र छ, जुन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको ४ प्रति १,००० भन्दा निकै कम हो। एउटा नर्सले क्षमताभन्दा २-३ गुणा बढी काम गर्नुपर्दा मानसिक तनाव, शारीरिक थकान र 'बर्नआउट'को समस्या देखिन्छ।
२. पारिश्रमिक र सुरक्षा: निजी तथा सरकारी क्षेत्रमा नर्सहरूको पारिश्रमिक अन्तर्राष्ट्रिय स्तरको तुलनामा अत्यन्त कम छ। कतिपय नर्सहरू ४ वर्षको अनुभवपछि पनि मासिक १८,००० मात्र तलब पाउने गरेको बताउँछन्। ८ देखि १० लाख खर्चेर पढेकाहरूले १५-१८ हजारमा काम गर्नुपर्दा व्यावसायिक सुरक्षा हुँदैन।
३. सकारात्मक पक्ष: ठुला अस्पतालले हाल सरकारी पाँचौँ तह (न्यूनतम रु. ३४,७३०) बराबर तलब दिने सम्झौता गरेका छन् भने अन्य निजी तथा सामुदायिक अस्पतालले यसको ८०% उपलब्ध गराउनुपर्ने प्रावधान छ। यद्यपि कार्यान्वयनमा अझै समस्या छ।
४. प्राविधिक र मनोवैज्ञानिक तयारीको कमी: नयाँ उपकरण, डिजिटल रेकर्ड र भेन्टिलेटर व्यवस्थापनमा तालिम पाउन कठिन छ। बिरामीको जन्म र मृत्युको साक्षी बन्ने नर्सहरूलाई मनोवैज्ञानिक परामर्शको पनि उत्तिकै आवश्यकता छ।
निष्कर्ष:
नर्सिङ पेसा तथ्याङ्कको दृष्टिले अवसर र चुनौतीको बीचमा छ। एकातिर माग उच्च छ भने अर्कोतिर न्यून पारिश्रमिक र असुरक्षाका कारण नर्सहरू विदेश पलायन हुन बाध्य छन्। यसको दीर्घकालीन समाधानका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ:
सम्मानजनक पारिश्रमिकको सुनिश्चितता र सरकारी सम्झौताको पूर्ण कार्यान्वयन।
रोजगारीका अवसर सिर्जना र बेरोजगार नर्सको समस्या समाधान।
कार्यस्थलमा सुरक्षा र व्यावसायिक विकासका अवसर।
आन्तरिक र बाह्य बजारको सन्तुलनका लागि नीतिगत सुधार।
अन्त्यमा, नर्सहरूका परिधिहरू फराकिला होऊन्। पेसागत हकको संरक्षण होस्। समाजले नर्सलाई ‘बिरामी स्याहार्ने’ भन्दा माथि उठेर ‘स्वास्थ्य रूपान्तरणको साझेदार’का रूपमा हेरोस्। नर्सहरू आफैँ पनि आफ्नो अधिकार पहिचान गर्दै नीति निर्माणमा सक्रिय सहभागी होऊन्।
स्वस्थ समाजका लागि नर्सिङ सशक्तीकरण नै एउटा प्रभावकारी उपचार हो। नर्स भएर बिरामीहरूको उपचार गरिरहेको परिप्रेक्ष्यमा नर्सिङ पेसामा रहेका दीर्घकालीन 'रोग'हरूको पनि सरोकारवालाहरूबाट छिट्टै उपचार होस् र सन्तुष्टिका साथ काम गर्न पाइयोस्।