काठमाडौं - सरकारले तोकेअनुसारको पारिश्रमिक लागू नभएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका १०१ जना कर्मचारी आन्दोलित भएका छन्।
लिखित रूपमा भएको सम्झौता हालसम्म पनि लागू नभएपछि बिरामीलाई मर्का नपर्ने गरी आन्दोलित हुनुपरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छl
आइसियु र इमर्जेन्सीका बिरामीलाई कुनै असर नपर्ने गरी हाललाई ओपिडी सेवा नदिने गरी शान्तिपूर्ण रूपमा आन्दोलन गरिएको आन्दोलनरत एक कर्मचारीले बताए।
पारमेडिक्स, ल्याब लगायत विभिन्न पाँच विभागका कर्मचारीहरू आन्दोलित भएका हुन्।
सरकारसँग गत १५ कात्तिकमा भएको सम्झौताअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन्।
सम्झौताअनुसार नेपाल सरकारको पाँचौँ तहसरहको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० हुनुपर्नेमा सोअनुसारको पारिश्रमिक नपाएको भन्दै रेडियोलोजी, ल्याब, दन्त, फार्मेसी, सिएमए, फिजियोथेरापीलगायत विभागका कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्।
आन्दोलन सुरु गरेका कर्मचारीहरूले आफूहरूको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसअघि प्रशासनलाई पत्रमार्फत पटक-पटक सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको कर्मचारीहरूको भनाइ छ।