राम्रो हुन सबैलाई मन पर्छ। तर, अनुहार तथा शरीरमा देखिने दाग, धब्बाका कारण मानिसलाई चिन्तित बनाइरहेको हुन्छ। विशेषगरी सेतो दुबीले सौन्दर्यमात्र नभएर सामाजिक, मानसिक रुपमा पनि असर गरिरहेको हुन्छ।
के हो सेतो दुबी ?
सेतो दुबी अर्थात् भिटिलिगो एक प्रकारको दीर्घकालीन (क्रोनिक) अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले शरीरको रङ बनाउने कोषिका (मेलानोसाइट) लाई नष्ट गर्दछ। यहीकारण शरीरमा सेतो दाग अर्थात् दुबी आउने गर्दछ। यो के कारणले हुन्छ भन्ने अझै पनि पत्ता लाग्न सकेको छैन, तर यो एक प्रकारको अटोइम्युन अवस्था हो।
यो समस्या वंशाणुगत कारणले पनि हुन सक्छ। परिवारमा कसैलाई सेतो दुबी भएको अवस्थामा सन्तानमा पनि हुने जोखिम रहन्छ। यसका साथै मानसिक तनाव, छालामा चोटपटक लाग्नु, थाइराइड र मधुमेहजस्ता अन्य अटोइम्युन समस्याहरूले पनि सेतो दुबीको जोखिम बढाउन सक्छ।
कसरी पहिचान गर्ने ?
छालाको परीक्षणबाट यसको पहिचान गर्न सकिन्छ। यसका लागि ठूलो जाँच–परीक्षण आवश्यक पर्दैन। ‘वुड्स ल्याम्प’ को प्रयोगबाट सेतो दाग अझ स्पष्ट देख्न सकिन्छ।
सुरुमा हल्का सेतो रंग देखिन्छ। पछि बढ्दै जाँदा दूधजस्तो सेतो दाग भएर आउँछ। यो दाग प्रायःजसो नचिलाउने भए पनि बढिरहेको छ भने चिलाउने हुन सक्छ। सेतो दुबी शरीरको कुनै पनि भागमा देखिन सक्छ र छालासँगै कपाल पनि सेतो हुन सक्छ।
सुरुमै उपचार गर्ने हो भने छाला तथा रौंको रंग पूरानै अवस्थामा फर्कन सक्छ, अन्यथा यसले दीर्घकालीन रुप लिन सक्छ। त्यसैले दीर्घकालीन समस्या नआओस् भन्नका लागि यसलाई बढ्न नदिने र रंग पुनः कसरी फर्काउन सकिन्छ भनेर उपाय गर्नु महत्वपूर्ण हुन्छ।
सेतो दुबी हो भनेर पहिचान गरिसकेपछि दुई वटा कुरामा ध्यान दिनुपर्छ–यसलाई फैलनबाट कसरी रोक्ने र आइसकेको दुबीमा रंग कसरी फर्काउने ? उपचार कसरी अघि बढाउने भन्ने कुरा पनि यिनै विषयमा निर्भर गर्छ।
सुरुको अवस्था छ भने क्रिम लगाएर पनि निको पार्न सकिन्छ, अर्थात् छालाको रंग पूरानै अवस्थामा फिर्ता ल्याउन सकिछ। क्रिमहरूमा कोर्टिकोस्टेरोइड र ट्याक्रोलिमसजस्ता क्रिम प्रयोग हुन्छन्। यसैगरी टोफासिटिनिव र रुक्सोलिटिनिव जस्ता नयाँ औषधी पनि आएका छन्। तर, सबै क्रिम नेपालमा उपलब्ध छैनन्। दुबी बढिरहेको अवस्थामा औषधी खुवाउने विधि पनि अपनाउन सकिन्छ। खाने औषधीमा कोर्टिकोस्टेरोइड, टोफासिटिनिवजस्ता उपलब्ध छन्। स्टेरोइडको काम प्रतिरोधी प्रणालीलाई दबाउने हो, किनभने यो रोगमा प्रतिरोधी प्रणालीको भूमिका हुन्छ। नयाँ आएको औषधिमध्ये टोफासिटिनिव नेपालमा पाइन्छ। ६ महिनाको अवधिमा तीव्र रुपमा फैलिएको छ भने त्यसलाई रोक्न खाने औषधि दिइन्छ। तर यो अवधिमा फैलिएको छैन भने क्रिम प्रयोग गर्न सकिन्छ।
छालाको रंग पूरानै अवस्थामा आएपछि या निको भएपछि औषधी पनि रोक्न सकिन्छ। तर, रंग नआएको अवस्थामा लामो समयसम्म पनि खानुपर्ने हुन सक्छ। क्रिम लगाएपछि चारदेखि ६ महिनासम्म रंग आउछ। कसैमा शरीरका धेरै भागमा आएको छ भने थप फैलनबाट रोक्नुपर्ने भएकाले समय लाग्छ। तर, दीर्घकालीन भएको अवस्थामा पुनः दागहरु देखिन सक्छन्। मानसिक तनावले गर्दा, चोटपटक धेरै लाग्दा भने फेरि आउन सक्छ। यहीकारण तनाव व्यवस्थापन भने राम्रोसँग गर्नुपर्छ।
यसैगरी दाग स्थिर र सानो क्षेत्रमा छ भने भिटिलिगो सर्जरी गर्न सकिन्छ । तर, फैलिरहेको अवस्थामा भने शल्यक्रिया गरिँदैन। उपचारका अन्य विकल्पमा फोटोथेरापी र एक्जाइमर लेजर पनि उपलब्ध छन्।
खानपान, सामाजिक धारणा र भ्रम
हाम्रो समाजमा सेतो दुबीबारे विभिन्न धारणा रहेको पाइन्छ। दूध या अमिलो खाँदा सेतो दुबी हुन्छ, सरुवा रोग हो, पाप या श्रापका कारण यो समस्या हुन्छ भन्ने धारणा रहेको पाइन्छ। यसका साथै, कुष्ठरोगमा जस्तै सेतो दाग हुने भएकाले कुष्ठरोग या सरुवा रोग त होइन भन्ने भ्रम पाइन्छ। तर, यी सबै गलत हुन्। सेतो दुबी खानेकुराले गर्दा हुने होइन।
सेतो दुबी हुँदा बिरामीलाई सामाजिक रुपमा पनि असर गरिरहेको हुन्छ। करिअरका क्रममा समान अवसर नपाउने, आत्मविश्वासमा कमी आउने, विवाह तथा सामाजिक सम्बन्धमा बाधा हुनेजस्ता धेरै समस्या हुन सक्छन्।
वर्ल्ड भिटिलिगो डे हरेक वर्ष २५ जुनका दिन मनाइन्छ। यस वर्षको नारा ‘फ्रम स्टिग्मा टु स्ट्रेन्थ’ रहेको छ। त्यसैले सेतो दुबीको समस्या सेतो दागमात्र होइन, समाजमा रहेका गलत धारणा पनि हुन्। यस्ता धारणालाई बदल्नु आवश्यक छ। भिटिलिगो भएका व्यक्तिहरूलाई अरू सबै जस्तै सामान्य जीवन जिउने अधिकार छ। र, उनीहरूको व्यक्तित्व र क्षमतालाई चिन्दै समान अवसर उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ।
(डा. सावरथिया नर्भिक अस्पतालका कन्सल्ट्यान्ट डर्माटोलोजिस्ट हुन्।)