विराटनगर- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको स्थलगत अनुगमन गरेकी छिन्। अनुगमनका क्रममा उनले अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल समेत गरेकी छिन्।
हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे अस्पताल प्रशासनसँग छलफल भएको हो।
अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्यको पनि सहभागिता थियो।
मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी), विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिएकी छिन्।
अनुगमनपछि उनले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइ थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई चुस्त राख्न निर्देशन दिइन्। साथै, प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न समेत उनले सचेत गराइन्।
त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन गर्न मन्त्री मेहताले पुनः निर्देशन दिइन्।