काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी) मा ६७ वर्षीय एक पुरुषको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (आर्टेरियोभेनस मालफर्मेसन) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रविधिबाट सफल उपचार भएको नेपालकै सम्भवतः पहिलो घटना हो।
बाँकेका ६७ वर्षीय हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन कलेजो रोगबाट पीडित थिए। अचानक बेहोस भएपछि परिवारले उनलाई तत्काल काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याएको थियो। करिब तीन घण्टादेखि अचेत रहेका कँडेलको तत्काल सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखियो।
रक्तस्रावको स्थान सामान्य नभएकाले त्यसको वास्तविक कारण पहिचान गर्न केएमसीको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा डीएसए एन्जियोग्राफी गरियो। परीक्षणका क्रममा मस्तिष्कमा रगत पुर्याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो अर्थात् 'ब्रेन एभीएम' फुटेर रक्तस्राव भएको पुष्टि भयो। उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो।
चिकित्सकहरूका अनुसार एभीएम जन्मजात हुने रक्तनलीसम्बन्धी एक दुर्लभ विकृति हो। सामान्यतया यस्तो समस्या युवावस्थामै देखिने वा फुट्ने गर्छ। ६७ वर्षको उमेरमा एभीएम फुट्नु निकै दुर्लभ र उच्च जोखिमपूर्ण अवस्था मानिन्छ।
रोगको पुष्टि भएपछि चिकित्सकहरूले टाउको नखोली तिघ्राको रक्तनलीबाट अत्यन्त सानो क्याथेटर मस्तिष्कसम्म पुर्याएर न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि तथा आवश्यक स्टेन्ट र बेलुनको प्रयोग गरी एभीएमको सफल उपचार गरेका थिए। लामो र जटिल प्रक्रियामार्फत रक्तस्राव नियन्त्रण गर्दै एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न चिकित्सक टोली सफल भएको अस्पतालले जनाएको छ।
उपचारपछि कँडेलको स्वास्थ्यमा उल्लेखनीय सुधार आई हाल उनको अवस्था सामान्य रहेको छ। कँडेलले आफूलाई सहज र सफल उपचार प्रदान गरेको भन्दै उपचारमा संलग्न चिकित्सक टोलीप्रति आभार व्यक्त गरे।
डा. अरुण पौडेलका अनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक मात्र ठानेर उपचार गर्नु पर्याप्त हुँदैन। यस्तो अवस्थामा एभीएम वा एन्युरिज्म जस्ता रक्तनलीसम्बन्धी विकृतिको सम्भावना पहिल्याउन डीएसए एन्जियोग्राफी सहितको न्युरोइन्टरभेन्सन मूल्याङ्कन आवश्यक हुन्छ। समयमै सही पहिचान र उपचार हुन सके धेरै बिरामीको ज्यान जोगाउन सकिने उनले बताए।