काठमाडौं- चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ क्षेत्रलाई नेपालकै नमुना ‘आरोग्य ग्राम’ (वेलनेस हब) का रूपमा विकास गर्ने उद्देश्यका साथ शनिबार जंगल महल वेलनेस रिसोर्टमा एकदिने विशेष कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, देशका प्रतिष्ठित आयुर्वेद विज्ञ, स्वास्थ्यकर्मी, निजी क्षेत्र तथा स्थानीय सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि अब परम्परागत र सस्तो पर्यटनबाट माथि उठेर उच्च मूल्ययुक्त ‘वेलनेस टुरिजम’ तर्फ रूपान्तरण हुनुपर्नेमा जोड दिँदै मातातीर्थलाई त्यसको प्रस्थानविन्दु बनाउने साझा संकल्प व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले आधुनिक युगमा रोग लागेपछि उपचारमा भौँतारिनुभन्दा रोग लाग्नै नदिने आयुर्वेदिक जीवनशैलीको विकास गर्नु आजको मुख्य आवश्यकता भएको बताए। नेपालसँग प्रकृति, संस्कृति र स्वास्थ्य परम्पराजस्ता कहिल्यै नसकिने मौलिक सम्पदाहरू रहेको उल्लेख गर्दै उनले यिनको सही संरक्षण र उपयोग गर्न सके स्वास्थ्य प्रवर्द्धनसँगै मुलुकको समृद्धिको नयाँ आधार निर्माण हुने धारणा राखे।
'प्राकृतिक सम्पदा, आयुर्वेद र योगलाई उद्यमशीलतासँग जोड्न सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सकिन्छ,' सभामुख अर्यालले भने।
काठमाडौं क्षेत्र नम्बर–१० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले चन्द्रागिरि मात्र नभई यस भेगका सबै स्थानीय तहहरूबीच सहकार्य गरेर वेलनेस पर्यटनको साझा अवधारणा अघि बढाउनुपर्नेमा जोड दिए। रोगको उपचारभन्दा स्वास्थ्य प्रवर्द्धनमा आधारित कार्यक्रमलाई प्राथमिकता दिँदा स्थानीय अर्थतन्त्र, रोजगारी र समग्र स्वास्थ्य प्रणालीलाई एकैसाथ सुदृढ बनाउन सकिने उनको तर्क थियो।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै मातातीर्थ क्षेत्रमा रहेको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्भावनालाई स्वास्थ्य पर्यटनसँग जोडेर नगरको विशिष्ट पहिचान स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
नगर उपप्रमुख बसन्ती श्रेष्ठ र वडा नम्बर–८ का अध्यक्ष प्रह्लाद रिजालले पनि मातातीर्थलाई आयुर्वेद र प्राकृतिक उपचारको केन्द्र बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताइन्।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै नरदेवी आयुर्वेद अस्पतालका डा. पुष्पराज पौडेलले आहार, निद्रा, दिनचर्या र ऋतुचर्यामा आधारित आयुर्वेदिक जीवनशैलीले नसर्ने रोगको बढ्दो चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। सन् २०३० सम्म विश्वभर वेलनेस उद्योग तीव्र गतिमा विस्तार हुने प्रक्षेपण रहेको र थाइल्याण्ड, भारत, चीन जस्ता देशले यसबाट ठूलो आर्थिक लाभ लिइरहेको उदाहरण दिँदै उनले नेपालमा पनि नागरिक आरोग्य कार्यक्रम र आतिथ्य सेवालाई एकीकृत गरी ‘आरोग्य ग्राम’ बनाउन तीनै तहका सरकारले नीतिगत सहजीकरण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे।
जंगल महल वेलनेस रिसोर्टका सञ्चालक डा. दिनेश प्रसाईंले नेपाल आउने पर्यटकको दैनिक खर्च र बसाइ अवधि न्यून रहेकाले जैविक विविधता, योग र आयुर्वेदलाई एकीकृत गरी दीर्घ बसाइ गर्ने उच्च खर्चालु पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको प्रारम्भमा मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालका प्रमुख नारायण आचार्यले आरोग्य ग्रामको अवधारणालाई सफल बनाउन स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच साझा स्वामित्व आवश्यक रहेको भन्दै लिखित सुझाव माग गरेका थिए।
अस्पताल व्यवस्थापन समितिका विज्ञ सदस्य शंकर गौतमले अस्पतालको हालको सेवा र भावी योजनाबारे प्रकाश पारेका थिए।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख शिवमंगलप्रसाद साह, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. सन्तोष ठाकुर, सिंहदरबार वैद्यखानाका निर्देशक डा. प्रदीप केसी, वरिष्ठ योग चिकित्सक डा. विनोद घिमिरेलगायतका विज्ञहरूको सहभागिता रहेको थियो।