अवसाद (डिप्रेसन) सामान्य उदासीभन्दा धेरै गम्भीर मानसिक स्वास्थ्यसम्बन्धी अवस्था हो। कहिलेकाहीँ सबैलाई दुःख, निराशा वा मन खिन्न हुने अनुभव हुन्छ। तर यस्तो अवस्था लगातार कम्तीमा दुई हप्तासम्म रहिरहँदा दैनिक जीवन, काम, अध्ययन र सम्बन्धमा असर पर्न थाल्छ भने त्यसलाई अवसाद (डिप्रेसन) भनिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब ३० करोडभन्दा बढी मानिस अवसादबाट प्रभावित छन्। नेपालमा पनि यो समस्या महत्वपूर्ण मानसिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ, तर धेरैजसो मानिस उपचार लिन हिचकिचाउँछन्।
करिब १५ प्रतिशत मानिसहरूले आफ्नो जीवनकालको कुनै न कुनै समयमा गम्भीर अवसादको अवस्थाको अनुभव गर्छन्। प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा आउने करिब ६–८ प्रतिशत बिरामीले अवसादको निदानका मापदण्ड पूरा गर्छन्। यति व्यापक भए पनि अवसाद प्रायः पहिचान हुन सक्दैन, र पहिचान भए पनि धेरैले समयमै उचित उपचार पाउँदैनन्।
अवसाद भएका करिब ४–५ प्रतिशत बिरामीले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। तीमध्ये धेरैजसोले मृत्यु हुनुको एक महिनाभित्र कुनै न कुनै स्वास्थ्यकर्मीसँग सहयोग खोजेका हुन्छन्।
अवसाद पुरुषको तुलनामा महिलामा करिब दुई गुणा बढी देखिन्छ। साथै उमेर बढ्दै जाँदा दुवै लिङ्गमा यसको जोखिम बढ्दै जान्छ।
२. कस्तो उदासीलाई डिप्रेसन भनिन्छ?
सामान्य उदासी केही दिनमै हराउन सक्छ। तर अवसादको उदासी दुई हप्ताभन्दा लामो समयसम्म रहन्छ र मानिसको सोच, व्यवहार, भावना तथा शारीरिक स्वास्थ्यमा गहिरो असर पार्छ।
मुख्य पहिचानका संकेतहरू
लगातार उदासी, निराशा, उदासीनता वा चिडचिडापन अवसादका प्रमुख लक्षण हुन्। यससँगै निद्राको ढाँचा, भोक र तौलमा परिवर्तन, शारीरिक गति सुस्त वा असामान्य रूपमा बढ्नु, थकान, ध्यान केन्द्रित गर्न तथा निर्णय लिन कठिनाइ, आत्मग्लानि वा अपराधबोध, र मृत्यु वा आत्महत्यासम्बन्धी विचारहरू पनि देखिन सक्छन्।
अवसाद भएका व्यक्तिमा पहिले रमाइला लाग्ने गतिविधिबाट आनन्द हराउँछ। बिहान सबेरै निद्रा खुल्ने, बिहानको समयमा मनोदशा अझ खराब हुने तथा आफ्नो उदासी सामान्य दुःखभन्दा फरक भएको अनुभूति हुनेजस्ता लक्षण पनि देखिन सक्छन्।
३. अवसादका लक्षणहरू
(क) मानसिक तथा मनोसामाजिक लक्षण
१. लगातार दुःख, निराशा वा खालीपनको अनुभव हुनु।
२. पहिले रमाइला लाग्ने गतिविधिमा रुचि हराउनु।
३. ध्यान केन्द्रित गर्न कठिनाइ हुनु।
४. निर्णय लिन गाह्रो हुनु।
५. आत्मग्लानि वा अपराधबोध हुनु।
६. भविष्यप्रति नकारात्मक दृष्टिकोण हुनु।
७. चिडचिडापन वा रिस बढ्नु।
८. सामाजिक रूपमा टाढा रहन चाहनु।
९. कम बोल्ने वा बोल्ने गति सुस्त हुनु।
१०. आत्महत्याको विचार आउनु वा प्रयास गर्नु।
(ख) शारीरिक लक्षण
११. निद्रामा समस्या (कम सुत्नु वा अत्यधिक सुत्नु)।
१२. भोक घट्नु वा अत्यधिक खान मन लाग्नु।
१३. डाइट नगर्दा पनि तौलमा उल्लेखनीय कमी वा वृद्धि हुनु (जस्तै, एक महिनामा शरीरको तौलमा ५ प्रतिशतभन्दा बढी परिवर्तन)।
१४. लगातार थकान वा ऊर्जाको कमी महसुस हुनु।
१५. टाउको, पेट, ढाडलगायत शरीरका विभिन्न भागमा दुखाइ हुनु।
१६. काम वा पढाइमा रुचि हराउनु।
१७. यौन इच्छामा कमी आउनु।
१८. शरीर भारी भएको वा जाँगर नलागेको महसुस हुनु।
१९. चालढाल वा शारीरिक गतिविधि सुस्त हुनु।
२०. बारम्बार अस्वस्थ भएको महसुस हुनु वा सामान्य शारीरिक समस्या दोहोरिनु।
२१. अत्यधिक चिन्ता वा डर लाग्नु।
२२. धेरै रुने वा अत्यधिक संवेदनशील हुनु।
२३. मदिरा वा अन्य नशालु पदार्थतर्फ आकर्षित हुनु।
२४. "जीवनको कुनै अर्थ छैन" भन्ने गहिरो निराशाजनक भावना आउनु।
४. उपचार विधि
अवसाद उपचारयोग्य रोग हो। समयमै उपचार सुरु गरे अधिकांश बिरामीमा उल्लेखनीय सुधार आउन सक्छ।
क. मनोपरामर्श तथा मनोउपचार
मनोचिकित्सक वा प्रशिक्षित मानसिक स्वास्थ्यकर्मीसँग नियमित मनोपरामर्श तथा मनोउपचार गराउँदा लक्षणहरू कम गर्न धेरै मद्दत मिल्छ।
ख. अवसादविरुद्धका औषधि
चिकित्सकको सल्लाहअनुसार प्रयोग गरिने औषधिले मस्तिष्कमा रहेका रासायनिक सन्देशक (न्युरोट्रान्समिटर)हरूको सन्तुलन कायम गर्न मद्दत गर्छ। चिकित्सकको सल्लाहबिना औषधि सुरु वा बन्द गर्नु हुँदैन।
ग. जीवनशैलीमा सुधार
नियमित व्यायाम गर्ने।
सन्तुलित तथा पोषिलो आहार खाने।
पर्याप्त निद्रा लिने।
योग, ध्यान, प्रार्थना वा आत्मशान्तिका अभ्यास गर्ने।
परिवार र साथीभाइसँग समय बिताउने तथा सामाजिक गतिविधिमा सहभागी हुने।
५. बिरामी र परिवारले के गर्ने?
बिरामीलाई "तिमी कमजोर छौ" नभनी "हामी तिम्रो साथमा छौँ" भन्ने आत्मबल दिने।
उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने र आलोचना नगर्ने।
उपचारलाई निरन्तरता दिन सहयोग गर्ने।
आत्महत्याको विचार वा अन्य गम्भीर जोखिम देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा मनोचिकित्सकसँग सम्पर्क गर्ने।
६. रोकथामका उपायहरू
तनाव व्यवस्थापन गर्न सिक्ने।
काम र आरामबीच सन्तुलन कायम गर्ने।
परिवार, साथीभाइ र समाजसँगको सम्बन्ध मजबुत बनाउने।
साना–साना खुसीका क्षणहरूको पनि सम्मान गर्ने।
मदिरा तथा अन्य नशालु पदार्थबाट टाढा रहने।
मन कमजोर वा निराश महसुस भएमा समयमै आफ्ना भावना व्यक्त गर्दै सहयोग खोज्ने।
अन्त्यमा
अवसाद (डिप्रेसन) कुनै व्यक्तिगत कमजोरी होइन, उपचार गर्न सकिने मानसिक स्वास्थ्यसम्बन्धी रोग हो। मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यसरह महत्व दिनु आजको आवश्यकता हो। आफू वा आफ्ना परिवारका सदस्यमा माथि उल्लेखित लक्षणहरू देखिएमा ढिलो नगरी योग्य चिकित्सक वा मनोचिकित्सकसँग परामर्श लिनुहोस्। समयमै पहिचान र उपचारले अवसादबाट पूर्ण वा उल्लेखनीय रूपमा निको हुन सकिन्छ।
(डा हाथी एम.डी. रेजिडेन्ट हुन्)