आमाले आफ्ना नवजात तथा साना शिशुलाई आफ्नै दूध खुवाउने प्रक्रियालाई स्तनपान भनिन्छ। स्तनपान शिशुको पोषणको सबैभन्दा प्राकृतिक, सुरक्षित, पूर्ण र प्रभावकारी माध्यम हो। यसले शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै आमाको स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक हुन्छ।
स्तनपानको महत्वलाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। यस वर्षको नारा 'दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ' रहेको छ। नेपालमा यो सप्ताह यस वर्ष श्रावण १६ देखि २२ गतेसम्म परेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफका अनुसार शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ। जन्मेदेखि पूरा ६ महिनासम्म आमाको दूध मात्र (पूर्ण स्तनपान) खुवाउनुपर्छ। यस अवधिमा पानी, मह, ग्लुकोज, जुस वा अन्य कुनै पनि खानेकुरा आवश्यक पर्दैन। शिशु ६ महिना पुगेपछि उमेरअनुसार थप पोषिलो खाना सुरु गर्दै स्तनपानलाई दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तरता दिन सिफारिस गरिएको छ।
शिशु जन्मिएपछि सुरुमा आउने बाक्लो पहेंलो दूध (बिगौती वा कोलोस्ट्रम) अत्यन्तै पौष्टिक हुन्छ। यसमा प्रशस्त रोगप्रतिरोधात्मक तत्व हुन्छन्, जसले नवजात शिशुलाई संक्रमणबाट जोगाउन मद्दत गर्छ। दुर्भाग्यवश केही समुदायमा अझै पनि यो दूध फाल्ने गलत अभ्यास पाइन्छ। यस्तो भ्रम हटाई बिगौती दूध अवश्य खुवाउनुपर्छ भन्ने सन्देश प्रत्येक परिवारसम्म पुर्याउन आवश्यक छ।
स्वास्थ्य संस्थामा कार्यरत रहँदा मैले समुदायमा यस्ता प्रश्नहरू बारम्बार सुन्ने गरेको छु।
- बच्चाको ओठ सुक्यो जस्तो लाग्यो, अलिकति पानी खुवाइदिए हुन्छ होला नि?
- बच्चा धेरै रोयो, त्यसैले एक बिर्को पानी खुवाएँ।
- मेरो बच्चाले बिहानदेखि पिसाब फेरेको छैन, के भयो होला?
- छोराको पास्नी ६ महिनामा गर्यौँ, छोरीको ५ महिनामै गरिदियौँ।
यस्ता प्रश्नहरूले पूर्ण स्तनपानसम्बन्धी जानकारी अझै पर्याप्त रूपमा समुदायमा नपुगेको देखाउँछन्। वास्तवमा, ६ महिनासम्म आमाको दूधमै शिशुलाई आवश्यक पर्ने पानीसहित सबै पोषक तत्व पर्याप्त मात्रामा हुन्छन्। त्यसैले यस अवधिमा पानी वा अन्य कुनै पनि खानेकुरा दिनु आवश्यक हुँदैन।
आजभोलि कतिपय आमाहरू "दूध कम आयो" भन्ने चिन्ताले छिट्टै पाउडर दूध प्रयोग गर्न थाल्छन्। तर धेरैजसो अवस्थामा शिशुलाई बारम्बार स्तनपान गराउँदा दूधको उत्पादन आफैँ बढ्दै जान्छ। आमाले पर्याप्त आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ खाने, सन्तुलित आहार लिने, मानसिक तनाव कम गर्ने र परिवारबाट सहयोग पाउने हो भने स्तनपान अझ प्रभावकारी हुन्छ। यदि आमा औषधि सेवन गरिरहनुभएको छ भने स्तनपान रोक्नु अघि स्वास्थ्यकर्मीसँग परामर्श गर्नु आवश्यक हुन्छ।
विकास र सहरीकरणसँगै कतिपय ठाउँमा स्तनपानको अभ्यास घट्दै गएको देखिन्छ। कम तौलमा जन्मिएका शिशु, जन्मजात समस्या, आमाको रोजगारी, परिवारको सहयोगको अभाव, बजारमा सजिलै उपलब्ध हुने पाउडर दूधको बढ्दो प्रयोग, तथा स्तनपानबारे फैलिएका भ्रमहरू यसका प्रमुख कारण हुन्। यस्ता चुनौतीका बीच पनि अधिकांश अवस्थामा उचित परामर्श र सहयोग पाएमा सफल स्तनपान सम्भव हुन्छ।
शिशु बिरामी हुँदा पनि स्तनपान रोक्नु हुँदैन। बरु स्तनपानले शिशुलाई आवश्यक पोषण र पानी उपलब्ध गराउँछ तथा निको हुन सहयोग पुर्याउँछ। झाडापखाला भएका ६ महिनाभन्दा कम उमेरका पूर्ण स्तनपान गरिरहेका शिशुलाई झन् बढी पटक स्तनपान गराउनु आवश्यक हुन्छ। ६ महिना नाघेका शिशुमा स्तनपानसँगै उमेरअनुसार थप झोल र खाना पनि दिनुपर्छ।
नवजात शिशु धेरै समय सुत्न सक्छ। त्यसैले बच्चा रोएको बेला मात्र नभई आवश्यकता अनुसार, विशेष गरी धेरै लामो समय नसुतोस् भनेर समय–समयमा ब्यूँझाएर पनि स्तनपान गराउन सकिन्छ। सामान्यतया शिशुलाई दिनरात गरी ८ देखि १२ पटक वा बच्चाको मागअनुसार स्तनपान गराउनु उपयुक्त मानिन्छ।
यदि शिशु समय नपुगी जन्मिएको छ वा कमजोर भएकाले प्रत्यक्ष स्तन चुस्न नसकेको अवस्थामा आमाको दूध निकालेर चम्चा वा कपको सहायताले खुवाउन सकिन्छ। यस्ता शिशुका लागि कंगारु मदर केयर अत्यन्त प्रभावकारी हुन्छ। यसमा शिशुलाई आमाको छातीसँग छाला–छालाको सम्पर्कमा राखिन्छ, जसले शरीरको तापक्रम कायम राख्न, स्तनपान सहज बनाउन तथा शिशुको वृद्धि विकासमा सहयोग पुर्याउँछ।
स्तनपान गराउनुअघि साबुनपानीले हात राम्ररी धुनु अत्यन्त आवश्यक हुन्छ। साथै आमा र शिशु दुवैको सही आसन मिलाएर स्तनपान गराउँदा शिशुले राम्रोसँग दूध चुस्न सक्छ र आमालाई पनि असहज हुँदैन।
ओठ वा तालु फाटेका शिशुहरूलाई पनि उचित प्रविधि र स्वास्थ्यकर्मीको परामर्शमा सफलतापूर्वक स्तनपान गराउन सकिन्छ।
यदि शिशुमा जन्डिस देखिएको छ भने स्तनपान नियमित रूपमा जारी राख्नुपर्छ र आवश्यक परे स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ। त्यसैगरी जुम्ल्याहा शिशु भएमा दुवै शिशुले पर्याप्त दूध पाइरहेका छन् कि छैनन् भन्ने कुरामा आमाले विशेष ध्यान दिनुपर्छ।
स्तनपानका प्रमुख फाइदाहरू
१. शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाई विभिन्न संक्रमणबाट जोगाउँछ।
२. कुपोषणको जोखिम घटाउँछ र स्वस्थ वृद्धि तथा विकासमा सहयोग पुर्याउँछ।
३. मस्तिष्कको विकासलाई टेवा दिई सिकाइ क्षमता र बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्छ।
४. झाडापखाला, निमोनिया लगायतका धेरै संक्रामक रोगहरूको जोखिम कम गर्छ।
५. आमामा बच्चा जन्मिएपछि हुने अत्यधिक रक्तस्राव कम गर्न सहयोग पुर्याउँछ तथा पाठेघर छिटो संकुचन हुन मद्दत गर्छ।
६. आमा र शिशुबीचको भावनात्मक सम्बन्ध अझ बलियो बनाउँछ।
७. स्तन र डिम्बाशयको क्यान्सरको जोखिम कम गर्न सहयोग पुर्याउँछ।
८. आमाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र आत्मविश्वास बढाउँछ।
९. आमाको दूध सधैँ सफा, सुरक्षित, उचित तापक्रममा र तुरुन्त उपलब्ध हुन्छ।
१०. स्तनपानका लागि अतिरिक्त आर्थिक खर्च लाग्दैन, जसले परिवारको आर्थिक भार घटाउँछ।
११. पूर्ण स्तनपानले जन्मपछिको पहिलो ६ महिनासम्म, निश्चित सर्तहरू पूरा भएमा, अर्को गर्भ रहन केही समयसम्म प्राकृतिक रूपमा रोक्न सहयोग गर्न सक्छ। यद्यपि यो परिवार नियोजनको पूर्ण विकल्प भने होइन।
निष्कर्ष
स्तनपान केवल शिशुलाई दूध खुवाउने प्रक्रिया मात्र होइन, स्वस्थ जीवनको आधारशिला हो। यसले शिशुको वर्तमान मात्र होइन, भविष्यको स्वास्थ्य, बौद्धिक विकास र जीवनको गुणस्तरमा पनि सकारात्मक प्रभाव पार्छ। त्यसैले परिवार, समुदाय, स्वास्थ्यकर्मी, रोजगारदाता तथा राज्य सबैले स्तनपानमैत्री वातावरण निर्माण गर्नु आवश्यक छ। प्रत्येक आमाले सही जानकारी, उचित परामर्श र आवश्यक सहयोग पाएमा प्रत्येक शिशुले आफ्नो अधिकारअनुसार सुरक्षित, पूर्ण र प्रभावकारी स्तनपान प्राप्त गर्न सक्छ।
विश्व स्तनपान सप्ताहको अवसरमा हामी सबैले प्रभावकारी स्तनपानलाई प्रवर्द्धन गरौं र स्वस्थ, सक्षम तथा समृद्ध पुस्ता निर्माणमा हातेमालो गरौं।
(नर्स सिंह सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत छिन्)