क्यान्सर भएको थाहा पाउनु आफैंमा कठिन अवस्था हो। त्यससँगै उपचारसम्बन्धी निर्णय, अन्योल र धेरै प्रश्न पनि उत्पन्न हुन सक्छन्। यस्तो अवस्थामा सेकेन्ड ओपिनियन लिनु चिकित्सकप्रतिको अविश्वास होइन। बरु आफ्नो रोग, उपचारका विकल्प र अगाडिको बाटोबारे स्पष्ट रूपमा बुझेर आत्मविश्वासका साथ निर्णय लिनका लागि यो एक सक्रिय र महत्वपूर्ण कदम हो।
सेकेन्ड ओपिनियन किन लिने?
दोस्रो चिकित्सकीय रायले तपाईंलाई यस्ता विषयमा सहयोग गर्न सक्छ :
निदान सुनिश्चित गर्न : अर्का विशेषज्ञले तपाईंको प्याथोलोजी रिपोर्ट, इमेजिङ तथा अन्य परीक्षणका नतिजा पुनः हेरेर क्यान्सरको प्रकार र अवस्था (स्टेज) पुष्टि गर्न सक्छन्।
उपचारका विकल्पबारे जान्न : क्यान्सरको उपचार सबैका लागि एउटै हुँदैन। दोस्रो विशेषज्ञले फरक वा थप उपचारका विकल्प सुझाउन सक्छन्।
आफ्ना विकल्प बुझ्न : विभिन्न उपचार विधिका सम्भावित लाभ, जोखिम, साइड इफेक्ट र अपेक्षित परिणामबारे थप स्पष्ट जानकारी पाउन सकिन्छ।
विशेषज्ञको राय लिन : केही प्रकारका क्यान्सर वा जटिल अवस्थामा सम्बन्धित रोगका विशेषज्ञ वा विभिन्न विधिका चिकित्सक सम्मिलित क्यान्सर उपचार टोलीसँग परामर्श लिनु उपयोगी हुन सक्छ।
निर्णयमा आत्मविश्वास बढाउन : आफ्नो निदान र उपचार योजनाको स्वतन्त्र रूपमा पुनरावलोकन भएको थाहा पाउँदा मानसिक रूपमा ढुक्क हुन र उपचारसम्बन्धी निर्णयमा आत्मविश्वास बढाउन मद्दत मिल्न सक्छ।
सेकेन्ड ओपनियन लिनुअघि के तयारी गर्ने?
दोस्रो, चिकित्सकीय परामर्शलाई सकेसम्म उपयोगी बनाउन निम्न सामग्री साथमा लैजानु वा चिकित्सकलाई उपलब्ध गराउनु राम्रो हुन्छ :
• प्याथोलोजी रिपोर्ट र सम्भव भएसम्म मूल प्याथोलोजी स्लाइड वा टिस्यु ब्लक
• सीटी स्क्यान, एमआरआई, पीईटी स्क्यान, अल्ट्रासाउन्ड, एक्स–रे वा अन्य इमेजिङ परीक्षणका रिपोर्ट तथा वास्तविक तस्बिर
• रगत परीक्षण तथा अन्य आवश्यक प्रयोगशाला परीक्षणका नतिजा
• हालको निदान र उपचार योजना
• प्रयोग गरिरहेका औषधि, सप्लिमेन्ट तथा कुनै औषधिप्रतिको एलर्जीको विवरण
• आफ्नो स्वास्थ्य इतिहास र पारिवारिक स्वास्थ्य इतिहास
• चिकित्सकसँग सोध्नुपर्ने प्रश्न तथा आफ्ना चिन्ता वा जिज्ञासाको सूची
• यसअघि गरिएका उपचारको विवरण, जस्तै शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी वा टार्गेटेड थेरापी
सबैभन्दा महत्वपूर्ण कुरा
हतारमा निर्णय लिन आवश्यक छैन। समय लिनुहोस्, प्रश्न सोध्नुहोस् र आफूलाई उपलब्ध सबै उपचार विकल्प राम्ररी बुझ्नुहोस्।
सेकेन्ड ओपनिनयनले ‘मैले के गर्नुपर्छ?’ भन्ने अन्योलबाट ‘मसँग यी विकल्प छन् र म बुझेर निर्णय गर्दैछु’ भन्ने अवस्थामा पुग्न मद्दत गर्न सक्छ।
क्यान्सरको उपचारसम्बन्धी निर्णय सही र पर्याप्त जानकारी, विशेषज्ञ चिकित्सकीय सुझाव तथा बिरामीका आफ्ना प्राथमिकता र जीवनसँग जोडिएका महत्वपूर्ण पक्षहरूलाई ध्यानमा राखेर लिनुपर्छ।