त्रिवेणी–६ की २२ वर्षीया एक सुत्केरी महिला प्रसूति भएको करिब एक महिनापछि दायाँ स्तनमा अत्यधिक दुखाइ, सुन्निने र १०३.८°F सम्मको उच्च ज्वरो आएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना हुनुभयो। प्रयोगशाला परीक्षण गर्दा उहाँको सेतो रक्तकोष (टीएलसी) ३०,५००/मिमी³ पुगेको थियो, जुन गम्भीर संक्रमणको संकेत गर्ने अवस्था थियो।
हाम्रो चिकित्सकीय टोलीको परीक्षणपछि उहाँलाई स्तनमा पिप जमेको संक्रमण अर्थात् स्तनको फोका भएको पुष्टि भयो। अस्पतालको चिकित्सकीय टोलीले तत्काल सामान्य शल्यक्रिया गरी स्तनमा जमेको करिब २००–३०० मिलिलिटर पिप निकालेको थियो। त्यसपछि उहाँलाई आवश्यक एन्टिबायोटिकसहित अस्पतालमै भर्ना गरेर उपचार अघि बढाइयो।
उहाँले यसअघि नजिकैको स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिसकेको बताउनुभएको थियो। यस्तो अवस्थामा सामान्य एन्टिबायोटिकले काम नगरेको हुन सक्ने र एन्टिबायोटिक प्रतिरोधको सम्भावनालाई समेत ध्यानमा राख्दै हामीले अस्पतालकै प्रयोगशालामा पिपको कल्चर तथा संवेदनशीलता परीक्षण गर्यौँ।
परीक्षण रिपोर्टले संक्रमणको मुख्य कारण एमआरएसए (मिथिसिलिन–प्रतिरोधी स्टाफाइलोकोकस एरियस) ब्याक्टेरिया रहेको देखायो। यो यस्तो प्रतिरोधी जीवाणु हो, जसलाई सामान्य पेनिसिलिन वा अन्य साधारण एन्टिबायोटिकले नियन्त्रण गर्न सक्दैनन्। यदि हामीसँग कल्चर प्रयोगशालाको सुविधा नभएको भए, मार्गनिर्देशनका आधारमा मात्र चलाइने सामान्य औषधिले काम नगरी बिरामीको अवस्था अझ जटिल वा घातक बन्न सक्थ्यो।
कल्चर रिपोर्टका आधारमा हामीले उक्त जीवाणुप्रति संवेदनशील रहेको भ्यान्कोमाइसिन जस्ता विशिष्ट औषधि प्रयोग गर्यौँ। त्यसका कारण बिरामी १२ दिनको अस्पताल बसाइपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज हुनुभयो।
एन्टिबायोटिकको आविष्कारले संक्रामक रोगको उपचारमा ठूलो परिवर्तन ल्यायो। यसलाई संक्रामक रोगविरुद्धको ‘चमत्कारी उपचार’ का रूपमा लिइन्छ र यसले मानव जीवनको आयु बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
प्रतिजैविक प्रतिरोध (एएमआर) भनेको ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीजस्ता सूक्ष्मजीवहरूले समयक्रममा आफूलाई परिवर्तन गरी तिनीहरूको संक्रमणको उपचार तथा नियन्त्रणका लागि प्रयोग गरिने औषधि (प्रतिजैविक) प्रति प्रतिरोधी बन्ने अवस्था हो। यसका कारण संक्रमणको उपचार गर्न कठिन वा कहिलेकाहीँ असम्भव हुने, साथै रोग फैलिने, गम्भीर बिरामी हुने र मृत्युको जोखिम बढ्ने गर्दछ।
नेचर जर्नलमा प्रकाशित एक लेखका अनुसार विश्वमा प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै जानुको प्रमुख कारणमध्ये एन्टिबायोटिकको अन्धाधुन्ध, अनुपयुक्त तथा अपर्याप्त मात्रामा प्रयोग हुनु हो।
विगत केही दशकदेखि नयाँ एन्टिबायोटिकको विकासले तीव्र रूपमा बढिरहेको प्रतिजैविक प्रतिरोधको गतिलाई पर्याप्त रूपमा पछ्याउन सकेको छैन। यसका साथै, पहिले धेरै सूक्ष्मजीवविरुद्ध प्रभावकारी भइरहेका विद्यमान एन्टिबायोटिकहरू क्रमशः कम प्रभावकारी हुँदै गइरहेका छन् भने केही त काम नै नलाग्ने अवस्थामा पुगेका छन्।
पशुहरूमा वृद्धि प्रवर्द्धन तथा रोग रोकथामका लागि उपचारात्मक मात्राभन्दा कम मात्रामा एन्टिबायोटिक प्रयोग गर्दा औषधि प्रतिरोधी सूक्ष्मजीवको छनोट हुन सक्छ। यस्ता प्रतिरोधी सूक्ष्मजीव पछि मानिसमा समेत सर्न सक्ने सम्भावना हुन्छ।
मानिसमा प्रतिजैविक प्रतिरोध उत्पन्न हुन तथा यस्ता जीव फैलाउनमा योगदान गर्ने विभिन्न कारण छन्। तीमध्ये पशुपालन तथा कृषि क्षेत्रमा वृद्धि प्रवर्द्धकका रूपमा एन्टिबायोटिकको प्रयोग, एन्टिबायोटिकको अत्यधिक तथा लामो समयसम्मको प्रयोग, चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्ने प्रवृत्ति तथा संक्रमण भइसकेपछि रोकथाम र नियन्त्रणका कमजोर अभ्यास प्रमुख हुन्। अझै, कमजोर स्वास्थ्य पूर्वाधार तथा पर्याप्त स्रोत–साधनयुक्त अस्पताल र प्रयोगशालाको सीमित उपलब्धताले पनि यस समस्यालाई थप जटिल बनाएको देखिन्छ।
धेरैजसो अवस्थामा ब्याक्टेरिया संक्रमणको स्थानीय ब्याक्टेरियोलोजिकल प्रोफाइल तथा संवेदनशीलताको अवस्थाको अध्ययन नगरी एकैपटक एकभन्दा बढी व्यापक प्रभाव क्षेत्र भएका एन्टिबायोटिक अनुभवका आधारमा प्रयोग गर्न सिफारिस गर्ने अभ्यास चुनौतीपूर्ण छ। यसलाई कुनै पनि हालतमा उत्कृष्ट चिकित्सकीय अभ्यास मान्न सकिँदैन।
नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि एन्टिबायोटिक प्रतिरोधको चुनौती तीव्र गतिमा बढ्दो छ। बिरामीको अवस्था हेरेर मार्गनिर्देशनको भरमा अनुभवका आधारमा एन्टिबायोटिक चलाउने परम्परागत शैलीका कारण धेरै अवस्थामा औषधि प्रभावहीन हुने, संक्रमण बल्झिने र बिरामीको ज्यान जोखिममा पर्ने सम्भावनासमेत उच्च रहन्छ।
माथि प्रस्तुत गरिएको एक सुत्केरी महिलाको सफल उपचारमा सूक्ष्मजीवको प्रयोगशाला परीक्षण अर्थात् कल्चर तथा संवेदनशीलता परीक्षण सेवाको प्रयोगले दुर्गम क्षेत्रका अस्पताललाई केवल सामान्य जाँच गर्ने र औषधि वितरण गर्ने संस्थाका रूपमा हेर्ने दृष्टिकोण अब परिवर्तन गर्न आवश्यक छ भन्ने देखाएको छ। प्रमाणमा आधारित चिकित्सकीय अभ्यास अपनाउनुको विकल्प नरहेको पनि यस घटनाले स्पष्ट पारेको छ।
यस घटनाले दिन खोजेको सन्देश पनि यही हो। दुर्गम अस्पतालमा प्रयोगशाला सेवा बलियो बनाउनु भनेको एउटा परीक्षण थप्नु मात्र होइन, सही उपचारको सम्भावना बढाउनु र प्रतिजैविक प्रतिरोधविरुद्धको लडाइँलाई स्थानीय स्तरसम्म पुर्याउनु हो। प्रयोगशालामा आधारित लक्षित उपचारलाई प्रोत्साहन गर्न सक्यौँ भने अनावश्यक वा गलत एन्टिबायोटिकको प्रयोग न्यूनीकरण हुन्छ। फलस्वरूप, बिरामीमा हुन सक्ने गम्भीर जटिलता र अतिरिक्त आर्थिक भार घटाउन सकिन्छ।
(डा मल्ल बाजुरा प्रादेशिक अस्पतालका निमित्त मेसु हुन्)