अक्टोबर १० का दिन विश्वभर ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइन्छ। विश्वमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हरेक ८ जना मानिसमध्ये १ जनामा मानसिक स्वास्थ्य समस्या पाइएको छ। यस वर्षको मूल नारा “जीवनका वास्तविक अनुभवहरू सुनौँ: वास्तविक आवाज, वास्तविक परिवर्तन” रहेको छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै कुरा गरेका छौँ; अस्पताल बनाएका छौँ, औषधि विकास गरेका छौँ तथा मनोचिकित्सा र मनोवैज्ञानिक उपचारका विधिहरू पनि विकास गरेका छौँ। तर, एउटा महत्त्वपूर्ण कुरा- मानसिक स्वास्थ्य समस्याको उपचार गर्दा हामी प्रायः बिरामीको लक्षण, निदान र औषधिमा मात्र केन्द्रित हुन्छौँ। बिरामीले के अनुभव गरिरहेको छ? उसको डर के हो? उसले समाजबाट कस्तो व्यवहार पाएको छ? उसको परिवारले के भोगिरहेको छ? उसलाई उपचारमा के कुराले सहयोग गर्छ? जस्ता विषयलाई हामी कमै मात्र हेर्छौँ।
मानसिक स्वास्थ्य सेवा बनाउँदा बिरामी, परिवार र मानसिक स्वास्थ्य समस्याबाट जीवनमा गुज्रिएका व्यक्तिहरूको अनुभवलाई पनि समावेश गर्नुपर्छ। हामीले व्यक्तिलाई दोष दिनुको सट्टा समस्या बुझ्नुपर्छ। मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई हामीले केवल “बिरामी” भनेर नभई एउटा व्यक्ति, एउटा परिवारको सदस्य, एउटा साथी, एउटा विद्यार्थी, एउटा शिक्षक, एउटा अभिभावक र एउटा सपना बोकेको मानिसका रूपमा हेर्नुपर्छ।
उसको अनुभव सुनौँ।
उसको आवाजलाई सम्मान गरौँ।
उसलाई निर्णयमा सहभागी गराउँदै समयमै उपचार र सहयोग उपलब्ध गराऔँ।
उनीहरू केवल सेवा लिने व्यक्ति मात्र होइनन्, उनीहरूको अनुभव आफैँमा एउटा महत्त्वपूर्ण ज्ञान हो। त्यसैले, २०२६ को सन्देशले हामीलाई यही कुरा सिकਾउँछ।
नेपालको सन्दर्भ र वर्तमान चुनौती
नेपालमा यस वर्ष रसुवामा आएको बाढीले ठूलो वितण्डा मचायो। धेरै मानिसले घरपरिवार र जग्गाजमिन गुमाए। यसबाट मानिसहरूमा विभिन्न मनोवैज्ञानिक समस्या देखिएका छन्। यस्तो बेलामा बिरामीलाई राहतका साथै उचित मनोवैज्ञानिक परामर्शको अति आवश्यकता हुन्छ। धेरै मानिसमा डिप्रेसन, एन्जाइटी र पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता समस्याहरू देखिन थालेका छन्। यतिबेला ती प्रभावितहरूको मनोबल उच्च पार्नु, घाउमा मलमपट्टि लगाउनु र मनमा परेको चोटलाई कम गर्दै राहतको राम्रो सदुपयोग गर्नु अति आवश्यक छ। साथै, यस्ता प्राकृतिक प्रकोपबाट कसरी बच्ने भन्ने बारे दीर्घकालीन उपाय निकाल्नु पनि उत्तिकै आवश्यक देखिन्छ।
अर्कातर्फ, आत्मदाह गर्ने, शरीरमा पेट्रोल छर्किने र आत्महत्या गर्ने जस्ता घटनाहरू पनि बढ्दै गएको देखिन्छ। त्यसैले, नेपालमा मनोसामाजिक परामर्शको व्यापक आवश्यकता रहेको छ।
मानसिक स्वास्थ्यसम्बन्धी केही तथ्यहरू
विश्वमा ३० करोड मानिस एन्जाइटी डिसअर्डरबाट पीडित छन्।
डिप्रेसनबाट २८ करोड, बाइपोलर डिसअर्डरबाट ४ करोड र सिजोफ्रेनियाबाट २ करोड ४० लाख मानिस पीडित छन्।
विश्वमा ठूलो 'मेन्टल हेल्थ ग्याप' (मानसिक स्वास्थ्य सेवाको कमी) रहेको छ। विकासोमुख देशहरूमा ६० देखि ७० प्रतिशत मानिस उपचारको पहुँच बाहिर छन्।
मानसिक रोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेडएकेक’ (टाउको दुखाइ) देखि अति कडा रोग ‘सिजोफ्रेनिया’ सम्म पर्दछन्।
विश्वमा करिब ५० करोड मानिस कुनै ना कुनै प्रकारको मनोरोगबाट पीडित छन्।
मानिसको दैनिक क्रियाकलापमा असर गर्ने विश्वका १० खतरनाक रोगहरूमध्ये ५ वटा मानसिक रोगका कारण हुन्छन्, जसमा डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, कुलत (दुर्व्यसनी) र डिमेन्सिया पर्दछन्।
नेपालमा मनोरोगका बिरामीको उपचार गर्ने जनशक्तिको कमी छ। साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, मनोवैज्ञानिक र सामाजिक कार्यकर्ताहरू मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन्। नेपालमा मानसिक बिरामीहरूको उपचार नेपाल मानसिक अस्पताल, मेडिकल कलेजहरू, सरकारी अस्पतालहरू र निजी नर्सिङ होमहरूमा हुने गरेको छ। केही गैरसरकारी संस्थाहरूले पनि यस क्षेत्रमा सहयोग गर्दै आएका छन्। खासगरी, मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ। तर, कतिपय अवस्थामा वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना हुन्छ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जना मानिसको ज्यान आत्महत्याबाट जान्छ; त्यसैले यसको रोकथाम अति आवश्यक छ। मानसिक रोगबारे जनचेतना फैलाएर मानसिक स्वास्थ्य राम्रो बनाउन सके आत्महत्याका घटनाहरू घटाउन सकिन्छ। हामीले जहिले पनि सकारात्मक दृष्टिकोण राख्नुपर्छ। मानसिक रोगका बिरामी पनि आफ्नो दैनिक काम गर्न सक्छन् र उपचार गरेमा यो रोग निको हुन्छ। सामान्य मनोरोगका बिरामीलाई “मेरो दिमाग बिग्रन्छ कि” भन्ने डर लाग्छ, तर त्यस्तो हुँदैन; कडा मानसिक रोगमा मात्र त्यस्तो हुन सक्छ। रोग लाग्यो भनेर लुकाउनु हुँदैन र आफूलाई कमजोर ठάνनु हुँदैन, बरु समयमै उपचार गराउनुपर्छ।
मानसिक रोग कस्ता कस्ता हुन्छन्?
क) सामान्य खालका मानसिक रोगहरू:
डिप्रेसन: यस रोगका बिरामी निराश हुने, दिक्क हुने, नरमाइलो मान्ने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, “बाँच्नुभन्दा मर्नु बेस” ठान्ने गर्छन्। कतिपय बिरामीले आत्महत्या गरेको पनि पाइएको छ। डिप्रेसन नेपालमा पाइने मुख्य मानसिक रोग हो। जीवनभरमा २०–२५ प्रतिशत मानिसलाई डिप्रेसन हुन सक्छ।
एन्जाइटी (डर लाग्ने समस्या): मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लिने, टाउको दुख्ने र अचानक डराउने समस्या देखिन्छ।
कन्भर्सन/डिसोसिएटिभ डिसअर्डर: अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टोपाल्टो कुरा गर्ने, बोली रोकिने, काम्ने र बिर्सने जस्ता लक्षणहरू लिएर बिरामी अस्पताल आउँछन्।
सोमाटोफर्म डिसअर्डर: यो यस्तो रोग हो, जसमा बिरामी शरीरका विभिन्न अङ्गमा समस्या भएको लक्षण (जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि) लिएर विभिन्न डाक्टरकहाँ पुग्छन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्। विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिँदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरूलाई थाहा नै हुँदैन। कहिलेकाहीँ बिरामीहरू आफूलाई क्यान्सर वा एड्स भएको शंका गरेर अस्पताल आउँछन्।
अब्जेक्टिभ कम्पल्सिभ डिसअर्डर: यो यस्तो रोग हो जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाइ र दृश्यहरू आइरहन्छन्। मनले नचाहँदा नचाहँदै पनि त्यस्ता सोचाइ आएर बिरामी आत्तिन्छ। उसलाई छटपटी भइरहन्छ र चुकुल लगाएपछि पटक-पटक हेरिरहने वा बारम्बार हात धोइरहने जस्ता लक्षण देखिन्छन्।
ख) कडा मानसिक रोगहरू:
मेनिया: यो डिप्रेसनको ठ्याक्कै उल्टो खालको रोग हो। बिरामी म ठूलो मान्छे बन्छु, म प्रसिद्ध व्यक्ति हूँ भनेर घमण्ड गर्ने, कसैले भनेको नमानेमा पिट्ने, राम्रो लुगा लगाउन जिद्दी गर्ने, मीठो खाना माग्ने, पैसा माग्ने र झगडा गर्ने गर्छ। कहिले मेनिया र कहिले डिप्रेसन देखिने अवस्थालाई 'बाइपोलार एफेक्टिभ डिसअर्डर' भनिन्छ।
सिजोफ्रेनिया: यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउने, अरूसँग शङ्का गर्ने, सरसङ्गत छोड्ने, एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर बस्न छाड्ने र घरबाट भाग्ने जस्ता लक्षण देखिन्छन्।
ग) अन्य समस्याहरू:
लागुऔषध र रक्सीको समस्या: विशेष गरी विद्यालय तथा कलेजका विद्यार्थीहरू लागुऔषध सेवनको कुलतमा फसेको देखिन्छ। खोकीको औषधि, गाँजा, टिटाजेसिक र हिरोइन जस्ता पदार्थ लिँदा मस्तिष्कमा नराम्रो असर पर्छ। उनीहरू एकपटक लिएपछि छोड्न सक्दैनन् र कतिपय अवस्थामा चोरी जस्ता अपराधमा पनि संलग्न हुन्छन्। अर्कोतिर, रक्सी सेवन गर्ने मानिसमा दिनदिनै पिउने मात्रा बढ्दै जान्छ र पछि बिहान उठ्नेबित्तिकै रक्सी नभई बस्न सक्दैनन्। यसले छारेरोग, होस हराउने, पेट पोल्ने, कलेजोको रोग, डिमेन्सिया तथा डिप्रेसन निम्त्याउन सक्छ।
छारेरोग: अचानक शरीर कडा हुने, काम्ने, बेहोस हुने, आँखा हल्लिने र जिब्रोमा चोट लाग्ने समस्या यसमा हुन्छ। कतिपय बच्चामा १ देखि २ मिनेटसम्म टोलाएर मात्र बस्ने पनि एक प्रकारको छारेरोग हो। यो उपचार गरेपछि निको हुन्छ, तर यसको औषधि करिब ४ वर्षसम्म नियमित खानुपर्छ।
सुस्त मनस्थिति: यस्ता बिरामीमा बौद्धिक क्षमता कम हुन्छ। दैनिक जीवनमा सिक्ने, काम गर्ने र पढ्ने कुरामा उनीहरू पछि पर्छन्। उपचारले उनीहरूमा सुधार ल्याउन सकिन्छ, तर उनीहरूको बुद्धिअनुसार सीप सिकाइ काममा लगाउनु पर्छ।
डिमेन्सिया (बिर्सने रोग): यो बुढेसकालमा लाग्ने मस्तिष्कको एक प्रकारको रोग हो। ६५ वर्षपछि देखिने यस रोगमा मस्तिष्कको आकार सानो हुँदै जान्छ र बिरामीको सम्झने शक्ति घट्दै जान्छ। बिरामी रिसाउने, विर्सने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने, एक्लै बस्ने र व्यक्तित्वमा परिवर्तन आउने हुन्छ।
मानसिक रोगका कारणहरू
वंशानुगत रूपमा सर्ने।
न्युरोट्रान्समिटरको गडबडी (जस्तै डोपामिन, सेरोटोनिन र नोरिएपिनेफ्रिनको असन्तुलन)।
बाल्यकालमा आमाबाबुबाट टाढा बस्नुपर्दाको अवस्था।
हर्मोनको गडबडी (जस्तै थाइरोइड, एड्रिनल वा ग्रोथ हर्मोनमा समस्या)।
लामो समयसम्म शारीरिक रोग लाग्नु (जस्तै मधुमेह, मिर्गौलाको रोग आदि)।
व्यक्तित्वका कारणहरू ।
तात्कालिक घटनाक्रम (जस्तै प्रियजनको मृत्यु वा ठुलो नोक्सानी हुने घटना)।
पारिवारिक अस्वस्थ सम्बन्ध।
लागुपदार्थको सेवन।
गर्भधारणको समयमा सङ्क्रमण वा मस्तिष्कको वृद्धिमा बाधा।
समाजबाट टाढा बस्नु वा बसाइँ सर्नाले पर्ने असर।
टाउकोमा चोटपटक लाग्नु।
कसरी मानसिक रूपमा स्वस्थ बन्ने?
अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोचाइ नराख्ने।
अरूको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुन सिक्ने।
पुराना रुढिवादी कुराहरू, जुन वर्तमानमा गलत साबित भएका छन्, तिनमा विश्वास नगर्ने।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने।
जे छ त्यसैमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछाड्ने।
लागुपदार्थ, रक्सी र ड्रग्सबाट टाढा रहने।
दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने।
समाज र घरपरिवारमा द्वेष वा दुष्टताको वातावरण अन्त्य गर्ने।
अति नैतिकवान बन्न खोजेर अरूबाट पनि त्यस्तै बढी अपेक्षा नगर्ने।
आफ्ना समस्या परिवार र साथीभाइलाई भन्ने बानी गर्ने, जसले मनको चिन्ता कम गर्न सहयोग गर्छ।
मनलाई सधैँ शान्त राख्ने।
मानसिक रोग लागेको कसरी चिन्न सकिने?
मानिसमा धेरै अङ्गका जटिल लक्षणहरू एकैचोटि देखिएमा।
अनौठो व्यवहार देखा परेमा।
एक्लै बोल्ने र एक्लै हास्ने गरेमा।
अरूसँग अनावश्यक शङ्का गर्ने गरेमा।
धेरै आत्तिने, डराउने, चिन्ता गर्ने वा घरबाट भाग्ने गरेमा।
मानसिक रोगबारे जान्नैपर्ने कुराहरू
मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, पागलपन) सम्मका हुन्छन्। सामान्य समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न हिचकिचाउनु हुँदैन। कडा बिरामीलाई परिवारको सहयोग अति आवश्यक हुन्छ।
मानसिक रोग लाग्नु कुनै पापको फल होइन।
उपचार गरेमा मानसिक रोग पूर्ण रूपमा निको हुन्छ।
मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्नुपर्छ।
उपचार गराइरहेका बिरामीले डाक्टरको सल्लाहबिना आफैँ औषधि छाड्नु हुँदैन।
विभिन्न ल्याब परीक्षण गर्दा पनि शारीरिक रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ।
मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इसीटी (विद्युतीय उपचार) को ठुलो भूमिका हुन्छ।
मानसिक रोगका बिरामीहरू घरपरिवार, समाज तथा द्वन्द्वका कारण शोषणमा पर्न सक्छन्।
मानिस काम्ने र बक्ने वनको भूतले होइन, मनको आन्तरिक पीडाले गर्दा हुन्छ।
मानसिक रोगको उपचार विधि
१. साइकोथेरापी (मनोचिकित्सा)
२. औषधि प्रयोग
३. विद्युतीय उपचार (इसीटी)
धेरैजसो बिरामीहरू साइकोथेरापी र औषधिको प्रयोगबाटै निको हुन्छन्, तर कतिपयलाई इसीटी पनि गर्नुपर्ने हुन्छ।
औषधि सेवन गर्दा विचार पुर्याउनुपर्ने कुराहरू:
औषधि जहिले पनि बिरामीलाई अर्कै मानिसको रेखदेखमा खुवाउनुपर्छ।
तोकेको अवधिसम्म नियमित औषधि सेवन गर्नुपर्छ। आफ्नो मनखुसीले औषधि छाड्दा रोग निको हुँदैन वा ४–५ महिनापछि फेरि बल्झिन सक्छ।
औषधि सुरक्षित ठाउँमा राख्नुपर्छ, जसले गर्दा बढी मात्रामा खानबाट बचाउन सकिन्छ।
औषधिको साइड इफेक्ट (प्रतिकूल असर) देखिएमा औषधि रोकेर तुरुन्त सम्बन्धित विभाग वा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।
औषधिलाई घाम, पानी र धुलोले नबिगार्ने सुरक्षित ठाउँमा राख्नुपर्छ।
मानसिक रोगको उपचारमा परिवारका सदस्यको भूमिका
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजगारी र प्राकृतिक प्रकोप पनि हो। बिरामी हुन नदिन र भएका बिरामीलाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। परिवारमा आइपर्ने जटिल समस्याहरू आपसी समझदारीमा समाधान गर्न सकिन्छ, त्यसैले त्यसको बोझ एक जनामा मात्र पर्न दिनु हुँदैन।
बिरामीलाई डाक्टरको सल्लाहबमोजिम नियमित रूपमा औषधि खुवाउनुपर्छ। बिरामी रिसाउने, झर्किने तथा झगडालु स्वभाव देखाउन थालेमा आफू उत्तेजित हुनु हुँदैन; बिरामीले रोगको कारणले त्यस्तो व्यवहार देखाएको हो भन्ने कुरा बुझ्नुपर्छ। औषधिले काम गर्न कम्तीमा एक हप्ता लाग्न सक्छ, त्यसैले तत्कालै असर खोज्नु हुँदैन। नेपालमा रक्सी र लागुऔषधको समस्या बढ्दो छ, जसका लागि परिवारको कडा रेखदेख र नियन्त्रण आवश्यक छ। साथै, समुदायका मानिसहरू एकजुट भएर काम गरेमा यस्ता समस्याहरू नियन्त्रण गर्न सकिन्छ।
-(प्रा. डा. सि.पी. सेढाईं मनोरोग विशेषज्ञ हुन्।)